2026 April 21/ 09:18: 22pm

    खोपासी/जिल्लाको विकट गाउँपालिका खानीखोलामा पहिलो पटक जिल्लाकै सिमाना भित्रको सडक हुँदै बस पुगेको छ । बस सेवा शुरु भएसँगै बर्षाै देखि यातायातबाट बञ्चित हुनु परेका स्थानीयहरुमा खुशी छाएको छ । काभ्रे पुण्यवती प्राली साविकको मिनिबस सेवा समितिद्वारा संचालित बस उक्त क्षेत्रमा पुगेको हो । 
    २०५४ सालमा स्थानीय निकाय रहँदा जिल्ला विकास समिति मार्फत खोपासी ताल्ढुङ्गा सडक निर्माण कार्य शुरु भएको थियो । तत्कालिन समयमा हाल खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाल जिल्ला विकास समितिका सदस्य हुनुुहुन्थ्यो । त्यसअघि उहाँ गाउँ विकास समिति हुँदै पार्टी राजनीतिमा कृयाशिल हुनुहुुन्थ्यो । उहाँको पहल र तत्कालिन जिल्ला विकास समितिको नेतृत्वले खोपासी ताल्ढुंगा सडकको आवश्यकता महसुस गरी निर्माण कार्य अगाडी बढाएको थियो । खोपासी देखि ताल्ढुंङ्गा सम्मको ५८ किलोमिटर सडक निर्माणका लागि झण्डै २० वर्ष लागेको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको १ वर्ष पछि मात्रै उक्त सडक निर्माण कार्यले अन्तिम रुप पाएको थियो । सडकका विभिन्न स्थानमा रहेको चट्टानी भिर फुटाउन नसक्दा सडक निर्माण कार्य अलपत्र परेको थियो । पछिल्लो निर्वाचनमा संघिय संसदमा गंगाबहादुर दोङ्ग, प्रदेश सभामा चन्द्रबहादुर लामा, गाउँपालिकामा कृष्णबहादुर खुलाल निर्वाचित भएसँगै जिल्लाबाट निर्वाचित सांसद गोकुल बास्कोटा मन्त्री समेत भएसँगै  विकासले गति लिन थालेको छ । निर्वाचित जनप्रतिनिधि र तत्कालिन नेकपा एमालेले उक्त सडकको शुरुवाती पहलकदमी लिएको थियो । 
    ‘६० करोड भन्दा धेरै खर्च भएको उक्त सडकमा बस सेवा शुरु भएको छ’–गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भन्नुभयो–‘युगौ देखिको बस चढ्ने डाँडापारी क्षेत्रका नागरिकको सपना पुरा भएको छ ।’ बस सेवा शुरु भए लगत्तै स्थानीय सरकारको पहलमा सडक स्तरोन्नती कार्य शुरु भएको छ । प्रदेश र संघ सरकारले पनि उक्त सडक निर्माणका लागि थप रकम विनियोजन गरेका छन् । पहिलो चरणमा खोपासी ताल्ढुङ्गा हुँदै सिक्रे दोभानसम्मको ६७ किलोमिटर क्षेत्रमा बस संचालन हुनेछ । स्थानीय सरकार, बस ब्यवसायी र ट्राफिक प्रहरी समेतको उपस्थितीमा भाडा दर कायम गरिने अध्यक्ष खुलालले बताउनु भयो । विहानको समयमा ताल्ढुङ्गा र खोपासीबाट एकै पटक छुट्ने गरी समय तालिका मिलाईएको अध्यक्ष खुलालले बताउनु भयो । यो सडक संचालनमा आउनु अघि ललितपुर हुँदै हिउँदको समयमा गत वर्ष देखि बस सेवा शुरु भएको थियो । संविधान सभा सदस्य रामहरी सुवेदीको पहलमा ललितपुरका विभिन्न गाउँपालिका हुँदै ताल्ढुंगामा बस सेवा शुरु गरिएको थियो ।