धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेमा डिजिटल टोकन प्रणाली सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका हुन् ।
गृह मन्त्रालयको बजेट व्यवस्थापनमा टोकन मेशिन खरिद गरेर सरल सेवा प्रवाहका लागि टोकन प्रणाली सुरु गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । सेवा शुभारम्भसँगै भनसुन र चिनजानका आधारमा सेवा प्रवाहमा हुने विभेद अन्त्य हुने उनले बताए । जो अगाडी आउँछ उसले पहिले सेवा लिने, पालैपालो सेवा लिने र भीडभाडरहित सेवा व्यवस्थापनमा डिजिटल टोकन प्रणाली महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताएका छन् । राष्ट्रिय परिचयपत्र, नागरिकता, नागरिकता प्रतिलिपि र राहदानी सेवाको टोकन डिजिटल रुपमा प्राप्त गर्न सकिन्छ । सम्बन्धित शाखामा टोकन अनुसारको पालोमा सेवा उपलब्ध हुनेछ । सेवाग्राहीले समेत जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रविधीमैत्री सेवा प्रभावकारी रहेको बताएका छन् । राष्ट्रिय परिचय पत्र बनाउन पनौतीबाट आउनुभएकी सुनिता तामाङले डिजिटल सेवा राम्रो रहेको बताइन् । आफ्नो पालोको लागी झगडा गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनले बताइन् । उनले भनिन्, ‘म अगाडी, म पछाडी भन्दै लाइनमा झै–झगडा हुन्थ्यो । यो नियम लागु गर्नु भएर एकदम राम्रो भयो । राम्रो लागेको छ ।’
पलाञ्चोकका भक्तबहादुर खड्काले यसअघि लाइनमा घण्टौं बस्दा दुःख पाएको अनुभव सुनाए । नयाँ सेवालाई व्यवस्थित बनाउँदै निरन्तरता दिन उनको सुझाव छ । केहि समय नियम बसाल्ने त्यसपछि सिस्टम चलेन भन्दै पहिलेको अवस्थामा जानुपर्यो भने नयाँ सेवाको कुनै अर्थ नहुने उनको भनाई छ । बनेपाका मान बहादुर लामा, रोशीकी जेनि तामाङ लगायतले जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रविधिमैत्री सेवाका कारण सहज रुपमा सेवा पाएको बताएका छन् ।









