2026 August 21/ 02:31: 17pm

जिउँदाको जन्ती मर्दाको मलामी, 
गाँस छोड्नु साथ कहिल्यै नछोड्नु,
मानिसको जीन्दगीमा मृत्यु कहिले आउँछ थाहा हुँदैन । आफन्तजन, प्रियजनहरूको अकस्मात् मृत्युको खबरले स्तब्ध बनाउँछ । मृत्युपछि उसका अतीतका घटनाहरू सल्बलाउन थाल्छ । जिउँदाको जन्ती मर्दाको मलामी, गाँस छोड्नु साथ कहिल्यै नछोड्नु भन्छन् । जस्तोसुकै प्रिय व्यक्ति भए पनि उसको मृत्युसँग साथ जान सकिने होइन । हरेक मानिस मृत्युबाट जोगिएर आफू सधैँ बाँची रहोस् भन्ने चाहन्छन् । संसारमा एक मात्र सत्य भनेको मृत्यु हो । मृत्युपछि सबै सम्बन्ध तोडिन्छ । सकेसम्म मानिसहरू अन्तिम समयको भेट र पार्थिव शरीरको दाह संस्कार जीवनको बिदाईको क्षण मलामी जान आफन्त शुभ चिन्तकहरूले छुटाउनु हुँदैन । 
मृत्युलाई जितेर बाँचेको हाम्रो जीवन महत्वपूर्ण हुन्छ । मानिस मृत्यु पछि फर्किने होइन । खुसीमा साथ दिनेहरूले दुःखमा पनि साथ दिनुपर्छ । मानवीयता स्वभाव मानिसको मृत्यु पछि मात्र उसको गुणगान गाईरहेको हुन्छ । मृत्यु पछि उसका सम्झनाहरू यादगार हुन्छन् । परिवारजनबाट उसको सम्झनामा क्रियाकर्महरु गर्ने गरिन्छ । उसप्रतिको माया सहभाव र समर्पणमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा धैर्यधारण कामना समवेदना व्यक्त गर्दछन् । आजभोलि हाम्रो समाजको लहर सजिलो माध्यम फेसबुक सञ्चार माध्यमबाट हार्दिकताका साथ दुःख मनाउ गर्ने गरिन्छ । हार्दिक श्रद्धाञ्जली ! ! ! 
खाली हात जन्मिएर खाली हात जानु छ । जबसम्म बाँच्छ खुसी र आनन्दले बाँच्न सकौँ । दैवको लीला एकदिन सबैले यो संसार छोडेर जानु नै छ । बैंकको जागिर रिटायर लाइफ पेन्सनबाट सादा जीवन उच्च बिचारमा बाँची रहेछु । आफू भलो त जगत् भलो । हामीले हाम्रो बारेमा जस्तो सोचेका हुन्छौ । समाज घर परिवारले त्यसरी नै सोचेका हुँदैनन् । समाजलाई आफूले बदल्न सकिँदैन भने आफू बदलेर समाज परिवर्तन परिवर्तन गराउन सकिन्छ । समय अनुकूल आफूलाई बदल्नु छ । जीवन सरल बनाउनु छ भने हामीले यी कुराहरूमा ध्यान दिन सकौँ ।
म अरूको धन सम्पत्तिसँग आफ्नो सम्पत्ति लेखाजोखा गरेर उ भन्दा धनी वा गरिब भनेर तुलना गर्ने छैन । शक्ति र पदबाट प्रभावित हुने छैन । मेरो जीवनमा कोही कसैसँग प्रतिस्पर्धा गर्नु छैन । मेरो जीवनको दौडमा कसैले पछाडि पार्ने खेल खेल्छ भने चुपचाप बाटो लागि दिन्छु । न त कोही सँग जित्नु नै छ । आफूले आफूलाई समय दिन थालेको छु । म अरूको लागी बोझ बन्न चाहन्नँ । मानिसका असल काम र विचार खुलेर प्रशंसा गर्न थालेको छु । जीवन विज्ञानको प्रशिक्षक भएर दैनिक योग ध्यान प्राणायाम गराउन पाएको छु । जसले मानसिक चिन्ताबाट मुक्ति  मिलेको छ । आफू खुसी र स्वस्थ भएर अरूको पनि सेवा गर्न पाउँदा अपार आनन्द मिलेको छ ।
अनैतिक ढङ्गले थुपारेको सम्पत्ति, तड्क–भडक जिन्दगी, ब्रान्डेड लुगा, महँगो मोबाइल सुटेट बुटेट भएर हिड्ने मानिसको व्यक्तित्व नाप्दिनँ । व्यक्तित्व विचारले चम्किन्छ । यो कुरा बुझेको छु । गलत बानी र पुराना धारणाहरू म माथि लाद्न खोज्ने व्यक्ति तिनीहरूबाट टाढा रहन्छु । म आफूलाई जे गर्दा रमाइलो लाग्छ, त्यही गर्छु । दुर्योधनले भने जस्तो पाप के हो ? धर्म के हो ? यो कुरा मैले राम्रो सँग बुझेको छु । मेरो ब्रह्मले जे अह्रायो म त्यही गर्छु र मैले गरेको कर्मको भोग पनि म आफै भोग्छु । म अरूको लागी होइन आफ्नो लागी जिउने गर्छु । अब मानिसहरूले मेरो बारेमा के भन्छन् वा के सोच्छन् ? भन्ने कुराको चिन्ता गर्न छोडेको छु ।  चार जनालाई खुसी पार्ने चक्करमा म आफ्नो मस्तिष्कलाई मर्न दिन्नँ । अब मैले जीवनको हरेक क्षणलाई आत्मसाथ गर्दै बाँच्न सिकेको छु, किनभने जीवन बहुमूल्य हो । कसैको जीवन चीर स्थायी र अमर छैन । साश्वत सत्य एक दिन सबै मर्नु नै छ । यो संसार छोडेर जानु नै छ ।
मेरो दुःख, पीडा, गुनासो अरू मान्छेहरूलाई सुनाउन छोडेको छु । जसले बुझ्नुपर्ने हो उसलाई भन्नै पर्दैन । जसलाई सुनाइन्छ उसले बुझ्दैन । त्यसैले म गलतको अगाडि सही साबित गर्नु भन्दा मौन बस्न रुचाउँछु । बोलेर भन्दा सहेर आफैलाई सम्झाउन जानी सकेको छु । अब म ऐस आरामको जिन्दगी भन्दा प्राकृतिक र सामाजिक जीवनमा रमाउन चाहन्छु । होटेलको खाना भन्दा घरमा पकाएको खाना मन पराउँछु । मलाई तारेको माछा, मासु भन्दा उसिनेको आलु मन पर्छ । यसैमा सन्तुष्टि पाउँछु । 
अब म, राजनीतिक झोले पार्टीका कुरा, धर्म परिवर्तन कुरा आदी इत्यादि एउटै कुराको बारम्बार बाटो, चौबाटो, चिया पसलमा बहस गर्नु भन्दा बेलुका भजन मण्डलमा पुगेर भजन गाउँछु । मानसिक शान्ति खोज्छु । अरूबाट हजार रुपैयाँ पाउने आशा भन्दा अरूलाई पाँच सय रुपैयाँ दिएर खुसी हुन जानेको छु । सधैँजसो सहयोग गरिरहेको छु । सडक छेउका साना व्यापारी ठेलावालसँग मोलमोलाइ गर्न छोडेको छु । कहिले काहीँ ठगिएको थाहा भए पनि आफै मुस्कुराएर सहने गर्दछु ।
म यो संसारको यात्रु मात्र हुँ । म सँग माया आदर र मानवता बाँड्न सकिने कुरा छ । यो कुरा स्वीकार गरेको छु । कहिले काहीँ सडकको छेउमा व्यापार गर्ने व्यक्तिबाट आवश्यक नभएको सामान पनि किनी दिन्छु । फोहोर टिप्ने व्यक्तिलाई घरमा भएका बोतल, कागज नचाहिने सामान र पुराना लुगाहरू दिनुका साथै उनीहरूलाई बिस पच्चीस रुपैयाँ पनि दिने गर्छु । म बाट सामान र पैसा पाउँदा उनीहरूको अनुहारमा देखिने खुसीले मलाई अपार आनन्द मिल्छ । खुसी पाउन टाढा जानु पर्दैन । मन्दिर दर्शन भन्दा गरिब दिन दुःखीहरूको सेवा परम धर्म लाग्छ । मानवता, दया र प्रकृतिको सेवा गर्दा आत्मीय आनन्द महसुस गर्छु । अन्ततः सबैको जाने बाटो एउटै हो भन्ने बुझेको छु । अब म आफ्नो मर्जीले बाँच्छु । मेरो खुसी वा दुःखको जिम्मेवार म आफै हुनेछु ।
अचानक मेरो मृत्यु भयो । म सोच्दिनँ कि, म मरेर गए पछि मान्छेहरूले मलाई के गर्छन् ? के भन्छन् ? फेसबुक, पत्र पत्रिकाहरूमा समवेदनाहरू लेखिने होला । म बिना पनि मेरो परिवार यो समाज चलेको हुन्छ । म मर्दा कोही भोकै नबसुन् । त्यसैले म आफन्त प्रियजनहरूको मृत्युमा पनि रुन छोडेको छु । आज वा भोलि मेरो पनि पालो आउँदै छ । आमा बुबाले दिएको यो शरीरमा आत्मा प्रकृतिको उपहार हो । नाम अरूलाई  चिन्नको लागि राखी दिएको मेरो पहिचान हो । यो संसारमा आफ्नो भन्ने केही पनि हुँदैन । नाफा र घाटाको जीवन पक्कै होइन । अब म प्रकृतिको काखमा रमाउन थालेको छु । अन्ततः मलाई उसैको काखमा जानु छ । म अरूलाई सुधार्न प्रयास गर्दिनँ । सबैको आ–आफ्नो भोगाईको आफ्नै जिन्दगी हुन्छ ।
जीन्दगी एउटा डेराको घर हो । सबैले एकदिन छोडेर जानु छ । पढेर बुझेँ । सुनेर, देखेर जानेँ । यसैको बारेमा आफ्नो कुरा लेखेँ । समाज बदलिएको छ । टोल छिमेकमा भेट्दा पनि नबोल्नेहरू फेसबुकमा हाई हेल्लो जन्म दिनमा शुभकामना ! बाँचुन्जेल भेटेर हाँसी खुसी माया प्रेम साट्न नसक्ने आफन्तहरू मरे पछि कोलाहल गर्छन् । बाँच्दा जो आफ्नो थिएन । मरे पछिको श्रद्धाभाव हार्दिक श्रद्धाञ्जली समवेदनाको केही अर्थ लाग्दैन । पद मोहमा व्याप्त नेताहरू आफू शक्तिमा पुग्न मरिहत्य गर्छन् । आफ्ना बिरोधीहरुको खोइरो खन्छन् । राजनीतिक आन्दोलन जिउँदैमा पुत्ला जलाउँछन् । फाँसी दे को नारा लगाउँछन् । सधैँ एक अर्काको विरोध गर्छन् । तिनै व्यक्तिहरू मरे पछि लावा लस्कर मलामी जान्छन् । श्रद्धाभावको भजन गाउँछन् । फेसबुक पत्रपत्रिकामा हार्दिक श्रद्धाञ्जली समवेदना छाप्छन् । हाम्रो समाज देखावटीपनमा उन्मुख भएको छ । मानवता र मानवीयपन हराएको छ । कसैको जीवनमा मेल हुन गएमा सहमत जनाउनु होला । धन्यवाद !
जयदेश श्रेष्ठ 
बनेपा न.पा.१४
साँगा बजार