बनेपा/सबै खालका सदस्यहरु गरी ७० हजार भन्दा धेरैलाई सेवा प्रदान गरिरहेको नमूना तथा उत्कृष्ट सहकारी विन्धबासिनी बचत तथा ऋण सहकारीले नेपालमा सहकारीको प्रार्दुभाव र काभ्रेपलाञ्चोक जिल्ला विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । नेपालको सहकारी स्थापनाको स्थापना तत्कालिन पुर्व १ नम्वर हालको काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा भएको इतिहास फेला परेको छ ।
सांसद सुर्य थापाको संयोजकत्वमा गठित संसदीय समितिले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा सहकारीको स्थापना भएको उल्लेख गरी संसदले पास गरेको छ । सोहि प्रतिवेदनलाई नेपाल सरकारले कार्यान्वन गर्ने निर्णय समेत गरिसकेको छ । तर पनि नेपालमा २०१३ साल चैत्र २० गतेलाई आधार मानी सहकारीको ६८ औ दिवस मनाईदैछ । इतिहासलाई कायम गर्न र पुर्नलेखन भएको इतिहासका दस्तावेजलाई कार्यान्वन गर्न सरोकारवाला निकायहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभा सदस्य तथा पुर्व राज्य मन्त्री कञ्चनचन्द्र बादेले राजनितिज्ञ समेत रहेका बनेपाका समाजसेवी एवं परिवारका सदस्य ठुलो बुबा स्व.राजदास बादेले सहकारी खोल्न तत्कालिन श्री ३ जुद्ध शमसेरले गरेको विश्वास र ब्यवस्थापनका बारेमा स्मरण गराए । तत्कालिन समयमा लेखिएका दस्ताबेजहरुमा ति कुरा उल्लेख छन् । बादेले आफु सक्रिय भई मन्त्रीपरिषले समेत पास गरेको प्रतिवेदन कार्यान्वनमा जुट्ने बताए । सहकारीका अध्यक्ष शान्तकुमार श्रेष्ठले राष्ट्रको गौरव काभ्रेपलाञ्चोक जिल्लाको बनेपा हुँदा पनि चिन्न र प्रयोग गर्न नसकिएको बताउँदै पछिल्ला दस्तावेजहरुले इतिहास सम्झाएको बताउँदै तत्काल कार्यान्वनमा जान सबै पक्षको ध्यानाकर्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताए । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपाको गौरवपूर्ण इतिहासलाई संरक्षण, प्रर्वद्धन र कार्यान्वयन गर्ने प्रतिवद्धता बताए । त्यसका लागि कार्यदल गठन गरी थप कार्य गर्ने र आगामी २०८२ भदौ १ गतेलाई सहकारी स्थापना दिवस मनाउन शुरु गरिने बताए ।
कार्यक्रममा संचालक समेत रहेका समाजसेवी तथा शिक्षासेवी केशव थापाले सहकारी स्थापनाको इतिहासका दस्तावेजहरु कार्यपत्रका रुपमा प्रस्तुत गरेका थिए । कार्यपत्र माथी बरिष्ठ साहित्यकार तथा इतिहासकार मोहन दुवाल, सहकारी अभियान्ता दिपकप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना र सक्षम साकोस बनेपाका अध्यक्ष रमेशकाजी श्रेष्ठले टिप्पणी गरेका थिए । नेफ्सकुनका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश अध्यक्ष उद्धव सापकोटा, राष्ट्रिय सहकारी महासंघका संचालक सुमन नेपाल, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे लगायतले सहकारी इतिहासलाई कार्यान्वन गर्न सर्वपक्षिय सहयोग र समन्वयको आवश्यक रहेको बताए ।
कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, विन्धबासिनी सहकारीका पुर्व अध्यक्ष प्रदिप थापा, काभ्रेपलाञ्चोक जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायश्थ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने तथा विभिन्न प्रारम्भिक सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारी संचालक समिति उपाध्यक्ष रामहरी शर्मा तिमल्सिना, प्रमुख कार्यकारी अधिकृत केवी लामा, नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे लगायतले विन्धबासिनी सहकारीका गतिविधि र सहकारीको इतिहास कार्यान्वयनमा संस्थाहरुले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।









