2026 August 24/ 10:03: 41am

४५ जना युवाहरु स्वरोजगार बन्दै
    भुम्लु, काठमाडौ/भुम्लु–काठमाडौं सम्पर्क मञ्चको संयोजन तथा समन्वयमा भुम्लु गाउँपालिकाबाट काठमाडौ उपत्यकामा बसोबास गर्ने युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले शुरु गरिएको ड्राईभिङ प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएकाहरुले खुशी ब्यक्त गरेका छन् । 
    भाद्र १६ गते एक औपचारिक कार्यक्रम मार्फत प्रारम्भ भएको उक्त प्रशिक्षण शुरु भएको थियो । ‘युवाहरुलाई तालिम मात्रै होईन सवारी साधन संचालन गर्दा ध्यान दिनु पर्ने ट्राफिक नियम, ट्रफिक सचेतना, दुर्घटना न्यूनीकरणमा समेत अभिमुखीकरण गराईएको छ’– आयोजक समितिका संयोजक अशोक पराजुलीले भने–‘तालिममा सहभागी ४५ जना युवाहरुलाई स्वरोजगारका लागि प्रदान गरिएको तालिम सफल भएको छ ।’ आत्मनिर्भरता, स्वरोजगार र रोजगारको अवसर सृजना गराउन भुम्लु काठमाडौ सम्पर्क मञ्चले उक्त तालिम आयोजना गरेको हो । नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पुर्व मन्त्री एवं संघीय सांसद गोकुलप्रसाद बाँस्कोटाले तालिमको शुभारम्भ सँगै युवाहरुसँग अन्र्तक्रिया गरेका थिए । सीप, श्रम र रोजगारी नै उत्पादन बृद्धिको आधार भएकाले युवाहरु आत्मनिर्भर हुनुको विकल्प नभएको बास्कोटाले बताए । आत्मनिर्भर हुनु रोजगार वृद्धिको प्रमुख माध्यम भएकाले यस्ता रचनात्मक कार्यमा सक्रिय भएकोमा भुम्लु काठमाडौ सम्पर्क मञ्चलाई बास्कोटाले धन्यवाद दिए ।
    एमालेले रचनात्मक कृयाकलापसँगै श्रमसँग जोडिएका असल कार्यलाई प्रोत्साहन गर्ने, युवालाई सिप र रोजगारसँग जोड्ने लक्ष्य लिएर कक्षा शुरु गरिएको नेकपा एमाले भुम्लुका अध्यक्ष प्रेम लामाले बताए । सिप र श्रम बिना युवाको भविष्य उज्ज्वल नहुने भएकाले ड्राईभिङ तालिम दिएर स्वरोजगार र रोजगार बनाउने अभियान अघि बढाएको अध्यक्ष लामाले बताए । युवाहरुको अहिलेको माग अनुसार ड्राईभिङ तालिम मार्फत रोजगार सृजना गर्ने सम्पर्क मंञ्चका अध्यक्ष अशोकदेव पराजुलीले बताए । तालिममा ४५ जना युवाहरु सहभागी छन् । सहभागी मध्ये ८ महिला छन् । आर्थिक अवस्था कमजोर भएकाहरुलाई निःशुल्क र अन्यको हकमा सहयोग स्वरुप रकम लिएको उनले बताए । 
    नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मन्च, युनिभर्शल ड्राइभिङ सेन्टर र महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर कटुन्जेको संयुक्त आयोजनामा संचालित ड्राइभिङ सिप अन्तर्गत ट्राफिक नियम सम्बन्धि कक्षा समेत संचालन गरिएको छ ।