बनेपा/साँगा–धुलिखेल सडक खण्डमा पर्ने सम्पदाहरुको संरक्षण, स्थानान्तरण तथा ब्यवस्थापन सम्वन्धी बनेपामा सार्वजनिक सुनुवाई आयोजना गरिएको छ । सुर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजना धुलिखेलको आयोजनामा गरिएको सार्वजनिक सुनुवाईमा साँगा देखि धुलिखेल क्षेत्रमा पर्ने सम्पदाहरुका बारेमा छलफल गरिएको थियो ।
उक्त क्षेत्रमा साँगामा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुंगेधारा रहेको विवरण उल्लेख छ भने भैसेपाटीमा दुई वटा कुवा, ढुंगेधारा र जनागालको पिपलबोटमा रहेको गणेश मन्दिर सम्पदाको सूचीमा परेका छन् । जसमध्ये जनागालको पिपलबोटमा रहेको गणेश मन्दिर स्थानीयहरुले अन्यत्र स्थानान्तरण गरिसकेका छन् । ७ स्थानमा रहेका ८ वटा सम्पदाको संरक्षण, ब्यवस्थापन तथा आवश्यक हुँदा स्थानान्तरण गर्ने गरी आयोजनाले तयार गरेको खाकाका सन्र्दभमा सम्वन्धित क्षेत्रका वडा अध्यक्षहरु रामलाल दुवाल र टुल्कु लामा, पुर्व जनप्रनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सरोकारवालाहरुको सहभागिता रहेको थियो । आयोजनाका तर्फबाट प्रस्तुत गरिएको खाकाहरु मध्ये साँगामा रहेको पोखरीलाई नासिका भगवती मन्दिर नजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरिएको छ । त्यस्तै मन्दिर र कुवालाई पनि सोहि मन्दिर आसपास स्थानान्तरण गर्न उपयुक्त हुने प्रस्ताव गरेको छ । आयोजनाका इन्जिनियर धनबहादुर बुढाले नासिका मन्दिरको कम्पाउण्ड वाल संरक्षण गरी बान वे सडक निर्माण गर्ने वा उक्त स्थानमा दायाँ तर्फको सर्भिस लेन निर्माण नगर्ने प्रस्ताव गरेको छ । स्थानीयहरुले न्यातपोल मन्दिरसँगै जग राखेको नासिका मन्दिरको ऐतिहासिकता भएकाले सोहि स्थानमा संरक्षणका लागि सुझाव दिएका छन् ।
त्यस्तै साँगाकै ढुंगेधारा केहि भित्र पानी ट्यांकी सहितको निर्माणका लागि प्रस्ताव गरिएको छ भने भैसेपाटीमा रहेका दुईवटा कुवालाई दाहिनेतिर इनटेक निर्माण गरी ट्याकी सहितको ढुंगेधारा निर्माणको प्रस्ताव गरिएको छ । २०७९ मसिंर २७ गते सम्झौता गरिएको उक्त आयोजनाको अवधी ३६ महिना हो । २१ महिनाको अवधीमा आयोजनाको काम २८ प्रतिशत मात्रै पुरा भएको छ । निर्माण अवधी १५ महिना बाँकी हुँदा बनेपा क्षेत्रमा निर्माण कार्य रोकिएको छ । हालसम्म १२.५ किमि टेवा पर्खाल निर्माण गरिएको छ भने १९ वटा कल्र्भट निर्माण गरिएको छ । अझै १० वटा निर्माण बाँकी रहेको आयोजनाका सिडिई नारायणप्रसाद लामिछानेले जानकारी दिए । १२.८ किमी नाली निर्माण कार्य सकिएको छ भने वित्तिय प्रगति ३०.९१ प्रतिशत सम्पन्न भएको छ ।
छिमेकी देश चीन र विपी राजमार्ग बर्दिवास हुँदै भारतसम्म जान सहज सडकको मुख्य भाग सुर्यविनायक देखि धुलिखेलसम्मको मुख्य सडक खण्डलाई २ लेनबाट ६ लेन निर्माण गरी २ वटा सर्भिस ट्रयाक र २.५ मिटरको फुटपाथ निर्माण गर्ने आयोजनाले जानकारी गराएको छ । जसमा तीनवटा सडक पुल निर्माण हुनेछन् । सडक विस्तार गर्ने क्रममा अन्य पुरातात्विक महत्वका वस्तुहरु, सम्पदाहरु, भेटिएका खण्डमा स्थानीय लगायत सरोकारवालासँगको समन्वयमा निर्माण कार्य गर्ने र ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरु, स्थानीय परम्परा संरक्षणमा सहयोग हुने गरी सहजिकरण गरी निर्माण कार्य गर्न स्थानीयहरुको चासोका विषयलाई समेत सम्बोधन गर्ने गरी सार्वजनिक सुनुवाईको आयोजना गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए । स्थानीयहरुले साँगामा हरेक वर्ष मनाउँदै आएको विस्केट जात्राका लागि प्रयोग हुने स्थान, पोखरी तथा मन्दिर, धारा र कुवाहरुको संरक्षणका लागि आयोजनाले सहयोग गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षता रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा आयोजना प्रमुख राजेन्द्रप्रसाद लाल दास, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई, पुरातत्व विभागका भास्कर ज्ञवाली र देवेन्द्र भट्टराई, आयोजनाका विभिन्न तहका कर्मचारीहरु, जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले सम्पदा संरक्षणमा आयोजना र सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताएका थिए । आयोजना नियमित संचालन गर्ने र सम्पदाहरुको संरक्षणमा ध्यान दिन सरोकारवालाहरुले सुझाव दिएका थिए ।









