2026 August 23/ 07:08: 06am

    बनेपा, नाला/बनेपा नगरपालिका वडा नम्वर ३ र ४ का कृषकहरुले प्रकृति खेति शुरु गरेका छन् । विषादीबाट मुक्त गराउँदै अर्गानिक उत्पादनलाई बढावा दिन प्रकृति खेति अभियान शुरु गरिएको हो । सोहि अभियानका लागि पहिलो चरणमा १० जना कृषकहरुलाई तालिम प्रदान गरिएको थियो भने दोश्रो चरणमा २९ जना कृषकहरुले तालिम लिएका छन् । १५ दिने तालिममा सहभागिहरुलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको छ । 
    तालिममा सहभागिहरुलाई बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, वडा अध्यक्षहरु रमेश दाहाल, श्यामसुन्दर श्रेष्ठ, संस्थाका प्रतिनिधिहरु तथा प्रशिक्षकहरुले प्रमाणपत्र उपलब्ध गराएका थिए । सवा नेपालको नालामा रहेको सामुदायिक अध्ययन केन्द्र तथा महिला जागरण समुह मार्फत कृषकहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सवा नेपालका अध्यक्ष अप्सरा महर्जन, प्रशिक्षक सुलोचना श्रेष्ठ र नाला सिएफसीका लिडर निर्मला श्रेष्ठले सवा नेपालको आयोजना तथा युएन ओमनको सहयोगमा साउन १ देखि १६ गतेसम्म सचालित १५ दिने प्राकृतिक कृषि खेति तथा खाद्य प्रशोधन सम्वन्धी तालिममा सहभागिहरुलाई प्रमाणपत्र उपलब्ध गराएका हुन् । 
    ‘कृषिमा प्राकृतिक उत्पादन र खाद्य प्रशोधन मुख्य दुई विषयमा केन्द्रित गरी तालिम प्रदान गरेका छौं’– सिएफसी नाला समुहका लिडर निर्मला श्रेष्ठले भनिन–‘स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न उत्पादनलाई प्राकृतिक र उत्पादित बस्तुलाई खाद्य प्रशोधन सहित उद्योगका रुपमा विकास गर्ने प्रयत्न शुरु गरिएको छ ।’ तालिममा जिवामृत, निमास्त्र, अग्निअस्त्र, ब्रम्हास्त्र मल उत्पादन गर्न कृषकहरुलाई सिकाईएको प्रशिक्षक सुलोचना श्रेष्ठले बताईन् । गाईको पिसाव र मलबाट जिवामृत बनाईन्छ भने वनस्पतिहरुबाट निमास्त्र लगायतका मलहरु बनाईन्छ । उक्त मलको प्रयोगले विषादी र रासायनिक मल प्रयोगमा कमी हुनेछ । अधिकांश कृषकहरुलाई रासायनिक मल र विषादी विना पनि कृषि उत्पादन गर्न सकिन्छ भन्ने सोचको विकास मात्रै नभई प्रयोगमा पनि ल्याउन सकिएको कार्यक्रम संयोजक भगवती श्रेष्ठले बताईन् । 
    तालिममा सहभागि कृषकहरु मछिन्द्र श्रेष्ठ, रिया श्रेष्ठ, प्रेम श्रेष्ठ लगायतले विषादी र रासायनिक मल विनाको उत्पादनमा जोड दिन तालिम महत्वपूर्ण रहेको बताए । उनिहरुले उत्पादन गरेको आर्गानिक उत्पादनको मुल्य पनि धेरै आउन थालेको र उपभोक्ताहरुले पनि आर्गानिक उत्पादनलाई प्राथमिकता दिन थालेको बताए । कृषकहरुले टनेल भित्रको खेतिमा लगाउने अधिकांश तरकारीमा उत्पादित प्राकृतिक मलहरुको प्रयोग गर्न थालेका छन् । जसका कारण रोग तथा अन्य किरा फट्याङ्गग्रां लाग्न नपाएको उनिहरुले बताए । खेतिमा प्रयोग गरिएका विषादीहरु क्रमशः हटाउँदै लगिने उनिहरुले बताए । कार्यक्रममा सहभागि कृषक र अतिथीहरुले कृषि उत्पादनलाई प्रकृतिसँग जोड्दै खाद्य प्रशोधनमा जोड दिनु पर्नेमा सबैको सक्रियता आवश्यक रहेको बताए । बनेपा नगरपालिकाले उक्त क्षेत्रका लागि विशेष कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयन गर्ने उपप्रमुख विमला सापकोटा लगायत अन्य जनप्रतिनिधिहरुले बताए । 
    महिला जागरण समुह मार्फत स्थानीय स्तरमा उत्पादित सामानहरुबाट १७ प्रकारका खाद्य बस्तुहरुको उत्पादन शुरु गरिएको छ । जसमा पाउँ तथा अचारहरु, मस्यौरा तथा अन्य खाद्य सामाग्रीहरु उद्योगका रुपमा उत्पादन शुरु गरिएको छ । हलुवाबेद, आरु, लब्सी, भोगटे, नासपाती, गोलभेडा, अकबरे खोर्सानी, बन्दा, मुला, भ्यान्टा लगायतका उत्पादित बस्तुहरुलाई प्रशोधन गरी विभिन्न परिकारहरु तयार गर्न शुरु गरिएको छ । वातावरणमा पार्ने असर न्यूनिकरण तथा जलवायु अनुकुलन खेति प्रणालीलाई उक्त कार्यक्रमले थप प्राथमिकता दिने आयोजकले बताएका छन् ।