पनौती/विवाह पछि अमेरिका बस्दै आएकी छोरी ममता काफ्लेको हत्याको खबरले शोकमा डुबेका आफन्त उनको श्वास कि लास खोज्ने भन्दै अमेरिका पुगेका छन् । आमा गिताकुमारी काफ्ले र दाई महेश काफ्ले यतिखेर ममता बस्ने शहर भर्जिनिया पुगेका छन् । त्यहाँ ममताका छिमेकीहरुले उनीहरुलाई सहयोग गरिरहेका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला पनौती ६ मा रहेका बुबा कमल, आमा गिताकुमारी सहित परिवारका सदस्यहरु ममताको हत्याको खबरले धेरै दिनसम्म अचेत भए । ‘खबर सुने लगत्तै ममताका बाबु, आमा, दाई र बहिनी लगायतका आफन्त भाव बिव्हलसँगै धेरै दिन अचेत भए’–वडा अध्यक्ष भिमप्रसाद आचार्यले भने –‘छोरीको श्वास कि लास ? पत्ता लगाउन आमा गिताकुमारी र दाई महेश अमेरिका पुगेका छन् । उनिहरुले ममताको सन्तानको बारेमा पनि निर्णय गरेर फर्कनेछन् ।’ ममताको हत्या श्रीमान नरेशबाटै भएको निश्कर्ष पछि छिमेकीले प्रहरीलार्ई खबर गरेका थिए ।
ममतासँग हरेक दिन जस्तै कुराकानी गर्ने आमा गिताकुमारीले नेपालबाट ३१ तारेखमा फोन गर्दा उठेन । लगातार १, २ र ३ तारेखमा फोन गरिन् लागेन । ३ तारेखमा फोन ज्वाईलाई गरिन उठाएनन् । त्यस लगत्तै नेपालमा रहेका नरेशका भाईहरु महेश र भुपेन्द्रलाई फोन गरेर सोधिन् । मतलब नभएको जस्तो गरी ओठे जवाफ फर्काए । तत्कालै ज्वाई नरेशलाई भ्वाईस म्यासेज पठाईन् । धेरै दिन म्यासेज हेरेनन् । ५ तारेखका दिन छिमेकी सुनिता भण्डारीलाई फोन गरेर आमा गिताकुमारीले छोरीको खबर बुझिदिन अनुरोध गरिन् । सुनिताले नरेशलाई भेटेर खबर गरे पछि मात्रै भ्वाईस म्यासेज पठाउँदै छोरीले आधारभूत सामान समेत लिएर निस्किएकाले थाहा नभएको बताए । साथै छोरी हेरेर घर भित्रै बस्नु पर्ने भएकाले खोजबिन गर्न नसकेको जवाफ दिए । छोरी सुत्केरी भएका बेला सहयोग गर्ने सरिता न्यौपाने र उनका श्रीमान् सहितले छोरी ममता धेरै दिन देखि घर भित्र बाहिर नगरेकाले प्रहरीलाई खबर गरेको जानकारी गराए । अहिले न्यौपानेले ममताको बच्चा स्याहारका लागि भन्दै डोनेसन संकलन गरिरहेकी छिन् । १ लाख डलर टार्गेट राखिएको उक्त कोषमा टार्गेट भन्दा धेरै संकलन भईसकेको छ ।
ज्वाई नरेशले भने निरन्तर ढाँटी रहे । आमा गिताकुमारीले ज्वाईलाई छोरी मा¥यौ कि ? क्या हो भन्दा सियो हो र ? भन्दै जवाफ फर्काएका थिए । पनौती ६ का वडा अध्यक्ष भिमप्रसाद आचार्यले समेत नरेशलाई फोन गरेर ममताका बारेमा बुझेका थिए । उनलाई पनि त्यस्तै जवाफ फर्काएका थिए । नेपाली समुदायको निरन्तरको दवाव पछि त्यहाँको प्रहरीले नरेशलाई पक्राउ गरेको छ । छोरीलाई छिमेकी सरिता न्यौपानेले रेखेदख गरिरहेकी छिन् । नरेशकी आमा बुहारी सुत्केरी स्याहार्न गएको बखत पनि नरेशले ममतालाई हिंसा गरेर घरबाट निकालेका थिए । मन्दिर छोएर कसम खाँदै आईन्दा त्यस्तो नगर्ने शर्त गरे पछि मात्रै ममता घरमा फर्किएकी थिईन् । नरेशले आमालाई नेपाल फर्काएर, आफुले चढेको गाडी समेत विक्री गरिसकेका थिए । योजनाबद्ध रुपमा घर विक्रीका लागि केहि नेपाली समुदायका ब्यक्तिहरुलाई भनिसकेका थिए । ममताको हत्यासँगै उनी भारत जाने तयारी गरेको खुलासा भएको छ ।
ममताको जन्म घर पनौती ६ नमोबुद्ध रोड काभ्रेपलाञ्चोक हो । उनको पुख्र्याैली घर काभ्रेपलाञ्चोक जिल्लाको साविक गोकुले गाविस हालको महाभारत गाउँपालिका वडा नम्वर २ हो । ३० वर्ष अघि गोकुलेबाट पनौती आएर मजदुरी शुरु गरेका ममताका बाबु आमाका तीन सन्तान छन् । दुई छोरा र एक छोरी । उनी दोश्रो सन्तान हुन् । स्थानीय नवरत्न माविबाट एसएलसी उर्तिण गरी बनेपाको बेलरबाट कक्षा १२ उत्तिर्ण सकेकी ममताले पैसा तिरेर नै बंैगलोरमा रहेको नर्सिङ्ग कलेजको उत्कृष्ट विद्यार्थीका रुपमा नर्सिङ्ग विषयमा उर्तिण भएकी थिईन । तर उनले उत्कृष्ट भए बापत छात्रबृत्ति प्राप्त गरिन् । २०७७ मसिंरमा बैतडी जिल्ला घर भई महेन्द्रनगर बेलडाँडीमा बसोबास गर्दै आएका नरेश भट्टसँग विवाह भएको थियो । उनी परिवारका जेठा सन्तान थिए । २०७८ साउन १० गते अमेरिका गएकी ममता कहिल्यै फर्किनन् । परिवारलाई खुशी बनाउने सपना बोकेर नर्सिङ्ग विषय मार्फत विरामीहरुको सेवामा दत्तचित्त भएर लाग्ने प्रण गरेकी ममताले अमेरिकाको अस्पतालमा काम गरिरहेकी थिईन् । विरामीहरुको सेवा गर्दा गर्दै आफै संकटमा रहँदा पनि उनले परिवारलाई दुख साटेकी थिईनन् ।
छोरी ममतालाई ज्वाई नरेश भट्टले हत्या गरेको आमा गिताकुमारी काफ्लेले बताईन् । ‘२०८१ साउन १६ अर्थात जुलाई ३० तारेखका दिन छोरी ममतासँग कुरा भएको थियो’–आमा गिताकुमारी काफ्लेले भनिन्–‘त्यहि दिनको कुराकानी नै छोरीसँगको संवाद अन्तिम बन्यो ।’ अमेरिकामा ३१ जुलाईका दिन ममता घर भित्र पसेको फुटेज प्रहरीले फेला पारेको थियो । घर भित्र पसेकी ममता घर बाहिर निस्किएको कुनै रेर्कड फेला नपरेपछि प्रहरीले श्रीमान नरेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको हो । ममताको शव फेला परेको अमेरिकाको प्रहरीले आधिकारिक पुष्टी नगरे पनि नेपाली समुदायले भने ममताको हत्या गरेर घर भित्रै शव पुरेको अवस्थामा फेला परेको जानकारी दिएका छन् । ममताको हत्याको खबरले परिवारका सबै सदस्य र आफन्तहरु भावविव्हल छन् । ‘के गर्ने ? के नगर्ने ? सोच्न सकिएको छैन’ – वडा अध्यक्ष आचार्यले भने–‘नेपाली दुतावास र अमेरिकामा रहेका नेपालीहरु तथा त्यहाँको दुतावास र अमेरिकाको सरकारको कानून नियम अनुसार ममताको शव र बच्चाको अवस्थाका साथै उनिहरुको दायित्वका बारेमा निर्णय लिने छौं ।’ ममताका आफन्तलाई वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु र छिमेकीहरुले सान्त्वना दिईरहेका छन् ।









