2026 August 22/ 07:19: 27am

५ हजार डलर पुरस्कार

यि हुन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता
– नेपालको पहिलो स्वस्थ शहर घोषणा
– शुन्य कार्बन उत्सर्जनमा एसियाको पहिलो सहर घोषणा 
– दिगो विकासका चार लक्ष्य पूरा गर्ने पहिलो शहर घोषणा
– ई–पेमेन्ट अनलाईन सेवा सुत्रको सफल प्रयोगको घोषणा
– प्रत्येक नागरिकको डिजिटल तथ्यांक संंकलन गर्ने शहर

    धुलिखेल/धुलिखेल नगरपालिका नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा.सुभाजी गुडद्वारा मंगलबार धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहर घोषणा गर्दै ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेको छ । 
    यसअघि धुलिखेल नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको थियो । दिगो विकासका १७ सुचक मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा दिगो विकास लक्ष्यका चार सूचक पूरा गरेको जनाउँदै ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको थियो । धुलिखेललाई स्वस्थ शहर घोषणा गरेर थप सन्देश प्रदान गरेको छ । विकास भनेको पूर्वाधार निर्माण मात्रै हो भन्ने बुझाई भएका आम नागरिक र जनप्रतिनिधीहरुलाई विश्वका सुचक, मापदण्ड र नागरिकहरुका साना साना विषयलाई ध्यान दिएर काम गर्नु पर्ने पाठ समेत सिकाएको छ । 
    ‘विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिका स्वस्थ शहर घोषणा गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘यो निर्णयले सिंगो नेपाल र काभ्रेपलाञ्चोक जिल्लाबासीका साथै धुलिखेल नगरबासी खुशी छौ । खुशीसँगै अवसर र चुनौती दुबै प्राप्त भएको महसुस गरेका छौं ।’ लगातार २ वर्ष देखि धुलिखेल नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मुल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनले ६२.४८ अंक प्रदान गरी दक्षिण पुर्व एशियाको दोश्रो तहको स्वस्थ शहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको हो । विस्व स्वास्थ संगठनको मापडण्द पूरा गरेर स्वास्थ क्षेत्रको नीतिगत सुधार, दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतिलाई आधार मानेको छ । धुलिखेल नगरपालिकाले विश्व स्वास्थ्य संगठन मार्फत सर्ने र नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब समुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य लगायत शहरी स्वास्थ्य सुशासनमा काम गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । 
    अपाङ्गता, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्युनीकरण, सुरक्षित र पूर्ण खोप, सामुदायिक स्वास्थ्य लगायतका क्षेत्रमा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी कार्य गरिरहेको थियो । भारतको पुने शहरले पहिलो तह, थाईल्याण्डको किओङ्ग च शहरले समेत दोश्रो तह प्राप्त गरेका छन् । धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले निरन्तरको प्रयासले धुलिखेल नगरपालिकालाई स्वस्थ शहर घोषणा गर्ने महत्वकांक्षी योजनामा सफल भएको बताए । ‘अब यसको निरन्तरता र पहिलो तहको प्रमाणपत्र प्राप्त पर्ने गरी कार्य प्रारम्भ गरिएको छ’–स्वस्थ्य शाखा प्रमुख सन्दिप केसीले भने–‘धुलिखेल, काभ्रेपलाञ्चोक जिल्ला र नेपालकै लागि यो गौरवको विषय हो ।’ 

शुन्य कार्वन उत्सर्जनमा दक्षिण एशियामा पहिलो शहर
    नगरलाई शुन्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहर मध्ये पाँचौं नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको छ । धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक जिवाष्म इन्धन अप्रसार सन्धि अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । निर्वाचित जनप्रतिनिधि आए पछि नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, ८४ प्रतिशत स्थानीयको घरमा खानेपानी (एक घर, एक धारा) पु¥याएको, गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्ने स्थानीयका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुका साथै काभ्रेपलाञ्चोकका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको थियो । नेपालमै पहिलो पटक ‘स्वस्थ सहर’ कार्यक्रम २ वर्ष अघि देखि लागु गरेको थियो । नगरले युनिसेफको सहयोगमा गरिबी निवारण, स्वस्थ सहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीका लागि भएका प्रयासको स्वेच्छिक स्थानीय समीक्षा पश्चात प्रतिवेदन सार्वजनिक गरेको थियो । 
    राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष विश्वनाथ पौडेलले उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए । दिगो विकासका चार लक्ष्य शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानीको लक्ष्य पूरा गरी प्रतिवेदन सार्वजनिक गरिएको नगरप्रमुख अशोक ब्यन्जुले बताए । ‘अबको केही महिनामा ९९ प्रतिशत जनताको घर–घरमा स्वच्छ खानेपानी पुग्नेछ भने केही वर्ष भित्र औसत गरिबीको संख्या शून्यमा पु¥याउने लक्ष्य लिएका छौ’–नगर प्रमुख ब्याञ्जुले भने । शिक्षामा गुणस्तरीयता कायम गर्न नगरले सामुदायिक विद्यालयम ‘एमजीएमल’ विधि, अंग्रेजी माध्यम तथा शिक्षकलाई प्रविधियुक्त तालिम, भौतिक पूर्वाधारको निर्माण लगायतका कार्य गरेको छ । ‘दिगो विकास लक्ष्यका लक्ष्य पूरा भएपछि स्थानीय तहले प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, प्रतिवेदन सार्वजनिक गर्ने धुलिखेल पहिलो नगर हो । 
    दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो । जसले सन २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ । दिगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य दिगो विकासका लागि एजेन्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्र सम्मिलित सेप्टेम्बेर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारणसभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागू गरेको थियो । विश्वभरका राष्ट्रिय सरकार तथा लाखौं नागरिकलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दिगो विकास लक्ष्य तय गरिएका हुन । नगरक्षेत्र भित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिना अघि बेलायतको संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६० मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि संघीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच प्रतिबद्धता समेत जनाएको छ । स्थानीय दलका प्रतिनिधि बीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्य सम्बन्धी अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । खनिज तत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरमा प्रयोग फोहर पानी प्रशोधन गरी पुनःप्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । 
    ‘धुलिखेलको काम र गतिविधीहहरु विश्वमा चर्चा हुनु गौरवको विषय बनेको छ’– नगर प्रमुख ब्यान्जुले भने–‘स्वस्थ सहर अभियानमा सर्वदलीय अपनत्व अझै बढाइनेछ । नगरद्वारा भविष्यमा समेत जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनको पहिलो प्राथमिकतामा राखिने छ ।’ ‘स्वच्छ र स्वस्थ’ शहरको अवधारणा पूरा गर्न नगरले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको योजना बनाएको छ । धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय शहरका रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ । 

 ई–पेमेन्ट अनलाईन सेवा सुत्रको सफल प्रयोग 
    सेवाग्राही नागरिकले धुलिखेल नगरपालिकामा भूमि संरचना, ब्यवसाय, बहाल, सवारी साधन आदी आफै प्रविष्ट गर्न मिल्ने तथा आफुले तिर्न बुझाउन पर्ने कर कनेक्ट आईपिएस, क्यु आर कोड, मोवाईल वालेट लगायतका अनलाईन माध्यमबाट बुझाउन मिल्नेछ । नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि संचालित स्थानीय संचित कोष व्यवस्थापन प्रणाली एबं राजश्व संकलन मोडल धुलिखेल नगरपालिकामा शुरु गरेको छ । नेपालका ७ सय ५३ वटा पालिकाहरु मध्ये पहिलो पटक धुलिखेलमा उक्त सेवा शुरु गरिएको थियो । आर्थिक वर्ष २०७९÷०८० देखि धुलिखेलबाट नै शुरु भएको स्थानीय तह संचित कोष ब्यवस्थापन प्रणाली (सुत्र) अन्र्तगतको मोडल अहिले नेपालका ६ सय भन्दा धेरै स्थानीय तहमा संचालित छ । धुलिखेल नगरपालिकाबाट स्थानीय संचित कोष व्यवस्थापन प्रणालीको नमुना कार्यक्रम तत्कालिन अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरेका थिए । करदाताले सहज रुपमा राजश्व तिर्न÷बुझाउन एवं विवरण भर्न मिल्ने गरी उक्त मोडलसँग आवद्ध भएको स्थानीय तह राजश्व पोर्टल समेत महालेखा नियन्त्रकको कार्यालयबाट विकास भई परीक्षण सम्पन्न गरिएको थियो । धुलिखेल नगरपालिकाले चेक लेस गर्दै नागरिकहरुलाई करमा सहभागि हुन समेत कार्यालय आउनु नपर्ने गरी ब्यस्थापन गरिरहेको छ । 
के गर्र्दै छ नगरको स्वास्थ्य शाखा 
    हरेक वडाहरुमा आँखा शिविर सञ्चालन गरी आँखा परिक्षण मार्फत मोतियाबिन्दु देखिएका विरामीहरुको निशुल्क अप्रेसन गरिएको छ भने अन्य समस्या भएकाहरुलाई परामर्श र आवश्यक उपचार गरिएको छ । जिल्ला स्तरीय स्वास्थ्य समिक्षामा प्रथम स्थान सहित बागमती प्रदेशमा उत्कृष्ट हुन सफल भएकोमा त्यसलाई निरन्तरता दिने कार्य जारी छ । नसर्ने रोगको रोकथाम गर्न बागमती काभ्रे उच्च रक्तचाप सम्बन्धि सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई आवश्यक प्रशिक्षण गरिएको छ । अहिले स्थानीय स्तरमा यो कार्य निरन्तर भईरहेको छ । क्षयरोग मुक्त अभियान सफल बनाउन घर दैलोमा पुगेर करिव ५ हजार नागरिकको खकार नमुना परिक्षण गरी नयाँ बिरामी पहिचान तथा उपचार गरिएको छ । घरदैलोमा जेष्ठ नागरिक सुत्केरी तथा गर्भवती सेवा उपलब्ध गराईएको छ । पोषण कार्यक्रमलाई सफल बनाउन वडा स्तरमा कार्यक्रमहरु सम्पन्न गरी बालबालिकाहरु तथा गर्भवती र सुत्केरीहरुको पोषण कार्यक्रम सञ्चालन गरिएको छ । वडास्तरमा महिला स्वयंसेविकाहरु मार्फत रक्तचाप मापन गर्ने कार्यक्रम सुरुवात गरिएको छ । नियमित रुपमा मासिक समिक्षा सञ्चालन तथा नियमित अनुगमन र सुपरिवेक्षण गरिएको छ । समुदायमा माहामारी नियन्त्रण गर्न आवश्यक तयारी तथा बिपद् व्यवस्थापन योजना निर्माण गरिएको छ । विश्व स्वास्थ्य संगठनको सहयोग र समन्वयमा स्वस्थ शहर धुलिखेल नगर अभियानलाई निरन्तरता दिन थप योजना सञ्चालन गर्न समन्वय गरिएको छ । नागरिकहरुको डिजिटल विवरण राखी परिवार र ब्यक्तिको स्वास्थ्य अवस्थाको प्रोफाईल निर्माण गरिएको छ । रोगहरुको पहिचान, परिक्षण, उपचार र निदानका योजना सहित कार्यान्वयन गरिएको छ ।