धुलिखेल/बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत र कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई विदाई गरेको छ । काठमाडांै विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्रा र भविष्यको गन्तब्यका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै प्रा.डा भोला थापाले नेपालमा सम्भावना नै सम्भावना भएकाले विद्यार्थीहरुलाई स्वदेशमा नै अध्ययन गरी ब्यवहारीक ज्ञान हासिल गर्न अनुरोध गरे । ‘नेपालको हावापानी, संस्कृति, समुदाय र सम्पदाका सहित ब्यवहारीक ज्ञान नेपालमै उपलब्ध हुन्छ’–प्रा.डा भोला थापाले भने–‘काठमाडौ विश्वविद्यालयले विद्यार्थीहरुलाई नेपालमै उपयोग हुने शिक्षा प्रदान गरिरहेको छ । विश्वविद्यालयले विषय, पाठ्यक्रम र नेपालको परिवेश र आवश्यकता अनुसारको शिक्षा उपलब्ध गराएको छ ।’ कार्यक्रममा शिक्षाविद् माधव अधिकारीले विद्यार्थीहरुले प्रमाणपत्र मात्रै होईन ब्यवहारमा केहि सिक्यौं ? के सिकायौं ? सिकेर समुदायमा के प्रदान गर्न सक्यौ भन्ने तर्फ केन्द्रित हुन विद्यार्थीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बालबालिकाहरु सहि मार्गमा लाग्न सहि शिक्षा प्राप्तिका लागि निरन्तर मेहनत र संगत असल बनाउन सुझाव दिईन् । भविष्यमा मुलुक निर्माण गर्ने दक्ष जनशक्ति विद्यार्थी भएकाले त्यसका लागि मेहनत गर्न उनले अनुरोध गरिन् । कार्यक्रममा विद्यालयका प्रिन्सिपल इन्दु थापाले बालबालिकाहरुले सिकेको कुरा ब्यवहारमा र जीवनपयोगी रुपमा कार्यान्वयन गर्न अनुरोध गरिन् । अध्यक्ष भोला थापाले बेलर स्कुलले बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । बालबालिकाहरुलाई उन्नत शैक्षिक वातावरणमा शिक्षा प्रदान गर्न बेलर एकेडेमी निरन्तर सक्रिय रहेको अध्यक्ष थापाले बताए । कार्यक्रममा नेपाली सेना २६ नम्वर बाहिनीका बाहिनीपति अशोक गुरुङ्ग, नेपाली सेना कालीजंग गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, विद्यालयका विभिन्न विभागका प्रमुखहरु, क्याम्पस तथा विभिन्न क्षेत्रका ब्यक्तिहरु, लेखापरिक्षक झलकमणी लम्साल, विद्यार्थी इच्छा लामा लगायतको बेलरले प्रदान गरेको शैक्षिक गुणस्तरका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा बेलरमा उत्कृष्ट १० विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई स्वागत र विदाईको अवसरमा सांस्कृतिक कार्यक्रम सहित मनोरञ्जन प्रदान गरेका थिए । बेलरमा कक्षा ११ मा विज्ञान र ब्यवस्थापन विषयमा करिब ६ सय विद्यार्थी भर्ना भएका छन् भने कक्षा १२ मा समेत गरी करिव १ हजार विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । होटल म्यानेजमेन्ट, कम्प्युटर साईन्स, विजनेस स्टडी लगायतका विषयहरुका अलावा काठमाडौ विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु पनि बेलर स्कुलले संचालन गर्दै आएको छ ।









