श्रीखण्डपुर/स्वस्थ शहर निर्माण अभियान अन्र्तगत धुलिखेल नगरपालिकाले सबै वडाका नागरिकहरुलाई स्वस्थ बनाउन विभिन्न खालका अभ्यासहरुका लागि खुल्ला ब्यायामशाला निर्माण कार्य धुलिखेल ५ बाट प्रारम्भ गरेको छ ।
‘बालमैत्री नगर घोषणासँगै हरेक वडाहरुमा सबै उमेर समहुका नागरिकहरुले उपयोग गर्न सक्ने खुल्ला ब्यायामशाला निर्माण शुरु गरिएको छ’– नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘नागरिकहरु स्वस्थ रहन विभिन्न अभ्यासहरुको आवश्यकता छ । सोहि अभ्यासका लागि खुल्ला स्थलमा यस्ता पार्कहरु निर्माण गरिदाँ हरेक उमेर समुहका नागरिकहरुले ब्यायाम गर्न सक्नेछन् ।’ यस्तो ब्यायामशाला धुलिखेलका १२ वटै वडामा निर्माण गरिनेछ । त्यसको प्रारम्भ धुलिखेल ५ श्रीखण्डपुरबाट भएको छ । बालबालिका देखि जेष्ठ नागरिकसम्म सबै उमेर समुहका ब्यक्तिहरुले प्रयोग गर्न सक्ने गरी खुल्ला ब्यायामशाला निर्माण गरिएको छ । विहान र बेलुकाको समयमा उक्त ब्यायामशालामा नागरिकहरुको भिड लाग्न थालेको छ । नगर प्रमुख ब्याञ्जुले स्वस्थ नागरिकले मात्रै दैनिक गतिविधिहरुलाई सहज बनाउन सक्ने भएकाले नागरिकहरु स्वस्थ रहन ब्यक्तिगत रहनसहन र जीवनशैली परिवर्तनका लागि बौद्धिक ब्यस्ततासँगै शारिरिक ब्यायाम आवश्यक पर्ने भएकाले त्यसका लागि सहज र सरल उपयोग गर्न सकिने बताए ।
वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले वडा नम्वर ५ लाई हरेक हिसावले सम्पन्न बनाउँदै लैजाने उदेश्य अनुरुप सम्पदा संरक्षण, पुर्ननिर्माण, पार्क निर्माण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा विभिन्न पूर्वाधार निर्माणको प्रयास गरिएको बताए । खुल्ला ब्यायामशाला निर्माणमा सहयोग गर्ने धुलिखेल नगरपालिकालाई विशेष धन्यवाद दिदै आगामी दिनमा वडाको विकासका लागि निरन्तर समन्वय र सहयोगको अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताए । धुलिखेल नगरपालिकाले विभिन्न परिषद्हरु मार्फत नागरिकहरुलाई सिपमुलक, आयमुलक कार्यमा संलग्न गराउँदै उद्यमशिलता बनाउँदै आएको छ । खुल्ला ब्यायामशाला पार्क निर्माणका लागि नगर स्तरीय युवा परिषद्बाट ५ लाख, वडा स्तरबाट २ लाख ५० हजार नगद सहित जनश्रमदान समेत गरी १० लाख खर्च भएको छ । पार्कमा १८ प्रकृतिका अभ्यास सामाग्री उपलब्ध छन् । वडा अध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक गणेश आचार्यले सबै वडामा खेलकुद सम्वन्धि पार्कहरु निर्माणका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको बताए । खेलकुद तथा खुल्ला ब्यायामशाला निर्माणका लागि नगरपालिकाको युवा परिषद मार्फत कार्य भईरहेको वडा अध्यक्ष आचार्यले बताए ।
कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष सिवी तामाङले युवाहरुका लागि सिपमुलक, आयमुलक तालिमसँगै ब्यायामका लागि खुल्ला पार्क निर्माणको कार्य थालनी गरिएको बताए । युवाहरुको शशक्तिकरणका लागि युवा परिषद्ले गरेका कार्यहरुका बारेमा जानकारी गराउँदै उपाध्यक्ष सिवी तामाङले खुल्ला ब्यायाशाला नगरबासिहरुका लागि महत्वपूर्ण कार्य भएको बताए । कार्यक्रममा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महत, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









