2026 August 24/ 11:59: 01am

धुलिखेल/सरकारले एसईईमा अनुर्तिण भएका विद्यार्थीहरुका लागि सबै विषयको पुरक परीक्षा दिने ब्यवस्थापन गरे पछि जिल्लामा ८ वटा विषयमा परीक्षा दिन २ हजार ४ सय ३५ जनाले फाराम भरेका छन् । उनिहरुले ६ हजार ५ सय ८९ वटा परीक्षा दिनेछन् । 
    साउन २३ देखि ३१ गतेसम्म संचालन हुने परीक्षामा सबै भन्दा धेरै गणित विषयमा १ हजार ६ सय ७४ जनाले परीक्षा दिदैछन् । विज्ञान विषयमा १ हजार ८८ जना छन् । ऐच्छिक प्रथम विषयमा ९ सय ३७, सामाजिक विषयमा ९ सय १९, अंग्रेजी विषयमा ८ सय ८८, नेपाली विषयमा ६ सय ६५, ऐच्छिक दोश्रोमा ३ सय ९६ विद्यार्थी सहभागि हुँदैछन् । प्राविधिक विषयमा १७ जना सहभागि हुँदैछन् । 
    परीक्षाको तयारी सकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उप सचिव देवका ढकालले बताईन् । केन्द्र निर्धारण, ब्यवस्थापन, उत्तरपुस्तिका, केन्द्राध्यक्ष छनौट र परीक्षा निरिक्षक लगायतको ब्यवस्थापनको कार्य सकिएको छ । बनेपामा तीन र धुलिखेलमा दुई वटा केन्द्र छनौट गरिएको छ । परीक्षा सम्वन्धी तयारी सकिएको बताउँदै उप सचिव ढकालले विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागि हुन अनुरोध गरेकी छिन् ।