आर्थिक वर्ष २०७८/०७९ मा ४ सय ३६ वटा मुद्दा दर्ता भएका थिए । २०७९/०८० मा ५ सय ४४ वटा मुद्दा दर्ता भए । आर्थिक वर्ष २०८०/०८१ मा ७ सय ५ वटा मुद्दा दर्ता भएका छन् । एक वर्षमा २ सय ३९ जनाले विभिन्न कारण ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा जिल्लाका महत्वपूर्ण घटना
– बहुविवाह, बोक्सी आरोप शुन्य
– आत्महत्या गर्ने १३५
– २ सय ३९ ले ज्यान गुमाए
– जर्बजस्ती करणी ४८ र जर्बजस्ती करणी उद्योग ३, बाल यौन दुराचार १३
– बैकिङ्ग कसुर १३८
– लागु औषधमा ४० पक्राउ
– चोरीका घटना ५५
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा अपराधको ग्राफ बढिरहेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले त्रिवर्षीय मुद्दा दर्ता र अपराधको अवस्था सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक जिल्लामा बढ्दो शहरीकरण लगायत विविध कारणबाट अपराधका घटनामा बृद्धि भएको बताईन् ।
जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा कर्तब्य ज्यानमा ११, भवितब्य ज्यानमा ३३, कारण नखुलेको ज्यानमा ६०, हामफाली २ र आत्महत्या १ सय ३५ गरी २ सय ३९ जनाले ज्यान गुमाएका छन् । आत्महत्यामा झुण्डि आत्महत्या गर्नेको संख्या १ सय ५ छ भने विष सेवन गरेर मृत्यु हुनेको संख्या २८ रहेको छ । जसमा अधिकांश युवा अवस्थाका छन् । बालबालिका देखि जेष्ठ नागरिकसम्म आत्महत्या गर्नेहरु छन् । ‘आर्थिक वर्ष २०७८/२०७९ मा ४ सय ३६ वटा मुद्दा दर्ता भएका थिए । २०७९/२०८० मा ५ सय ४४ वटा मुद्दा दर्ता भए । आर्थिक वर्ष २०८०/२०८१ मा ७ सय ५ वटा मुद्दा दर्ता भएका छन’–एसपी बसुन्धरा खड्काले भनिन–‘प्रहरीको कडा निगरानी, नियमित गस्ति तथा प्रभावकारी शान्ति सुरक्षाका बावजुत पनि समाजमा विभिन्न प्रकारका अपराधहरु भईरहेका छन् ।’ कर्तब्य ज्यानमा ११ वटा मुद्दा दर्ता भएको छ । अघिल्ला दुई वर्षको तुलनामा झन्डै यो संख्या दोब्बर हो । अभद्र ब्यवहारमा भने मुद्दा दर्ता गर्ने क्रम घटेको छ । क्रमशः ८२ वटा बाट ७४ हुँदै ७० मा झरेको छ । सवारी अंगभङ्ग पनि कम भएको छ । आर्थिक वर्ष अनुसार क्रमशः १०, ७ हुँदै ४ मा झरेको छ । अघिल्ला दुई वर्ष क्रमश ७ र ५ वटा मुद्दा दर्ता भएकोमा पछिल्लो वर्ष बहुविवाह शुन्य भएको छ ।
आत्महत्याको संख्यामा उल्लेख्य बृद्धि भएको छ । १ सय १२ जनाले आत्महत्या गरेकोमा पछिल्लो वर्ष ९० जनाले आत्महत्या गरेका थिए । गत आर्थिक वर्षमा यो संख्या बढेर १ सय ३५ पुगेको छ । झुण्डिएर, विष सेवन गरेर तथा हाम फालेर पनि ब्यक्तिहरुको निधन भएको छ । कारण नखुलेको मृत्यु संख्या पनि बढेको छ । क्रमशः ३६, ५३ र ६० पुगेको छ । जर्बजस्ति करणी उद्योग र जर्बजस्ती करणीमा पनि मुद्दा संख्या बढेका छन् । उद्योगमा ३, १ र ३ रहेको छ भने जर्बजस्ती करणीमा २९, ३७ र ४८ पुगेको छ । बाल यौन दुराचार, दुब्र्यवहार, दुरुपयोग, बाल मिज्याईमा १३ वटा मुद्दा दर्ता भएका छन् । अघिल्ला दुई वर्षमा क्रमशः ३ र १० वटा मुद्दा दर्ता भएका थिए ।
बोक्सि आरोपमा गत अािर्थक वर्ष कुनै मुद्दा दर्ता भएन । लिखत सम्वन्धी कसुरमा मुद्दाको संख्या बढेको छ । क्रमशः १, १ र ४ पुगेको छ । आर्थिक वर्ष २०८०/२०८१ मा कुटपिट अंगभगमा १ वटा मुद्दा दर्ता भएको छ । पशु सम्वन्धी कसुरमा ३ वटा मुद्दा दर्ता भएका छन् । मानव बेचविखन तथा ओसारपसारमा २ वटा मुद्दा दर्ता भएका छन् । जातिय छुवाछुत तथा भेदभाव विरुद्ध कसुरमा १ वटा मुद्दा दर्ता भएको छ । विद्युत्तिय कसुर तथा साईबर अपराधमा २ वटा मुद्दा दर्ता भएका छन् । सवारी ज्याान सम्वन्धी मुद्दा घटेका छन् । अघिल्ला दुई वर्षमा क्रमशः ३४, ३८ वटा मुद्दा दर्ता भएकोमा गत वर्ष २२ वटा मुद्दा दर्ता भएका छन् । ठगी सम्वन्धी ६, सहकारी ठगी ३, अनलाईन ठगी १, डलर ठगी उद्योग १ र किर्ते तथा ठगी सम्वन्धी कसुरमा १ वटा मुद्दा गत वर्ष दर्ता भएको सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले बताए ।
ज्यान मार्ने उद्योगको सख्या ११ पुगेको छ । अघिल्ला दुई वर्ष क्रमशः ९ र ८ रहेको थियो । लागु औषधमा ७ वटा, १३ वटा हुँदै १८ वटा मुद्दा दर्ता भएका छन् । सबै भन्दा धेरै बैकिङ कसुरमा मुद्दा दर्ता भएका छन् । अघिल्ला दुई वर्ष यो संख्या न्यून थियो । पहिलो वर्ष शुन्य थियो । दोश्रो वर्ष ५० वटा दर्ता भए भने तेश्रो वर्ष १ सय ३८ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्या दुरुत्साहन सम्वन्धी मुद्दा घटेका छन् । आर्थिक वर्ष अनुसार ६, २ र ३ वटा मुद्दा क्रमश दर्ता भएका छन् । सवारी भवितब्य ज्यान सम्बन्धी मुद्दा क्रमशः ८, ६ र १० पुगेको छ । झुटा विवरण पेश गरी नागरिकता लिनेहरुको संख्या बढिरहेको छ । प्रहरीले पहिलो वर्ष ६ वटा, दोश्रो वर्ष १० वटा मुद्दा दर्ता गरेकोमो गत आर्थिक वर्ष २६ वटा मुद्दा दर्ता गरेको छ । भवितब्य ज्यान गुमाउनेहरुको सख्या ३३ रहेको छ । अघिल्लो वर्ष ४७ र ३८ थियो । चोरीका घटनामा बृद्धि भएको छ । पहिलो वर्ष १६, दोश्रो वर्ष ४२ र गत आर्थिक वर्ष ५५ वटा चोरीका घटना भएका छन् ।
प्रहरीले नागरिकहरुको शान्ति सुरक्षाका लागि प्रभावकारी ड्युटी २४ सै घण्टा परिचालन गरेको बताएको छ । नियमित रुपमा एलआरपी र एसआरपी गस्ति, क्युआरटी, मोबाईल गाडी, पिकेट, सुचना संकलन, सादा पोशाकमा प्रहरी परिचालन गरी समुदायमा भईरहेका र हुन सक्ने अपराध न्यूनिकरणको प्रयत्न गरिरहेको छ । विपद्जन्य घटनाहरु रोकथाम तथा नियन्त्रणको लागि अन्तर निकाय समन्वय, गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा भन्सार छली गरी ल्याएको १ करोड ४३ लाख ३२ हजार ३१ मुल्य बराबरको सामानहरु बरामद गरिएको छ ।
लागुऔषध ओसार पसार गर्ने क्रममा ३८ पुरुष २ महिला गरी ४० जना पक्राउ गरिएको छ । सहकारी ठगी, मिटर ब्याज सम्बन्धी अपराधको अनुसन्धानको लागि छुट्टै आर्थिक अपराध अनुसन्धान सेलको व्यवस्था गरेको छ । प्रहरीले ज्यान सम्बन्धी कसूरका ३ वटा घटनाको सफल अनुसन्धान गरेको बताएको छ । लागु पर्दाथ सेवन गरी सवारी चलाउदाँ चेकजाँच गर्ने उपकरणको संख्या कम भएको, भौगोलिक विकटताको कारण समयमै सम्बोधन गर्न कठीन हुने, सिसि क्यामेराको संख्या कम, भएकाहरु पनि विग्रिएर मर्मत गर्नु पर्ने अवस्थामा पुगेको प्रहरीले बताएको छ । घटनास्थल सुरक्षा, पोष्टमोर्टमको आवश्यकता, साक्षीको भूमिका जस्ता विषयमा सचेतनाको कमी, यौनजन्य प्रकृतिका घटनाहरु समेत समाजमा छलफल गर्ने तथा पीडित स्वयं आर्थिक प्रभाव र प्रलोभनमा पर्ने प्रवृत्ति, पिडित संरक्षण कक्षको व्यवस्थामा समस्या भएको प्रहरीको निश्कर्ष छ ।









