2026 August 23/ 08:57: 02am

सुन तस्करीमा नेताहरु
    बनेपा/सत्ताको चरम दुरुपयोग गर्दै काभ्रे काँग्रेसका नेताहरु सुन तस्करीमा रहेको पुष्टी भएको छ । १० महिना अघि मलद्वारमा सुन लुकाएर ल्याउने गिरोहका मुख्य नाईके विकास योञ्जन गौशालाबाट पक्राउ परेका छन् भने तेमालका थर्कमान भनिने कान्छा लामालाई सुन तस्करी अभियोगमा भएको अनुसन्धान पछि धरौटीमा छाड्ने आदेश भएको छ । दुबै जना नेपाली काँग्रेसका नेता हुन् । थर्कमान जिल्ला सदस्य हुन् भने विकास युवा नेता हुन् । यसअघि विभिन्न लुटपाटमा पनि नेताहरु संलग्न भएको सार्वजनिक भएको छ । 
    नेपाली काँग्रेस काभ्रेका जिल्ला कार्य समिति सदस्य कान्छा भनिने थर्कमान लामालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवि) ले पक्राउ गरेको थियो । उनी ६१ किलो सुन प्रकरणमा संलग्न भएको अभियोगमा सिआईविले पक्राउ गरि अनुसन्धान गरिरहेको थियो । अदालतले उनलाई ९६ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । १० वर्ष अघि कान्छा सहितका केहि ब्यक्तिहरु लुटपाटमा संलग्न भएको अभियोगमा समेत पक्राउ परी केहि दिनको हिरासत पछि छुटेको प्रहरी रेकर्डमा उल्लेख छ । थर्कमानले सुन तस्करीमा संलग्न भई विक्री वितरणमा सहयोग पु¥याएको अभियोग थियो । नेपाली काँग्रेसमा पछिल्लो समय विभिन्न अभियोगमा पक्राउ पर्नेहरुको संख्या बढ्न थालेको छ । तस्करीको ६१ केजी सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पु¥याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको थियो । तर सुन तस्करी सम्वन्धी छानविन आयोगले दिएको सिफारिसमा प्रहरीले गरेको अनुसन्धान बायस देखिएको भन्दै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो । दावालाई नागरिकता प्रकरणमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपास पछि बरामद भएको सुनलाई बजार मूल्य अनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व र भन्सार छली र नेपाल राष्ट्र बैंक ऐन विरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियोे । 
    मलद्वारमा सुन लुकाएर तस्करी गर्ने गिरोहका मुख्य नाईके काभ्रे महाभारत गाउँपालिका गोकुल घर भएका विकास योञ्जनलाई १० महिना पछि प्रहरी परिसर काठमाडौको विशेष टोलीले पक्राउ गरेको हो । काठमाडौंको गौशालाबाट उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडांैले जानकारी दिएको छ ।  केहि समय उनी छिमेकी देश भारत गई लुकेको प्रहरीको आशंका छ । पछि नेपालका विभिन्न जिल्ला तथा स्थानमा अर्ध भूमिगत भई बसेका थिए । नेताहरुकै कारण आफु फसेको बताउने गरेका विकास योञ्जनलाई प्रहरीले विभिन्न स्थानमा खोजी गरिरहेको थियो । सुन तस्करी गरी ल्याउने गरेका उनले बनेपाका विभिन्न स्थानमा भुमिगत शैलीमा सुनलाई पगालेर विक्री गर्ने गरेका थिए । सुन ल्याउन र सुनको तस्करीमा लगानीका लागि विकासले नेताहरुको साथ र सहयोग लिएका थिए । विशेष सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट मलद्वारमा लुकाइ ल्याएको सुन बरामद गरेको गरेको थियो । उक्त प्रकरण पछि काभ्रेपलाञ्चोक जिल्लामा खैलाबैला भएको थियो । सरकारले सुन तस्करको छानविन गर्न आयोग गठन गरेको थियो । उक्त आयोगले पनि मलद्धारमा लुकाई तस्करी गरेको सुनका सन्र्दभमा प्रहरीको टोलीले थप अनुसन्धान गर्न सुझाव दिएको आयोगका एक सदस्यले बताए । विकास पक्राउ पर्नु र सरकार परिवर्तन हुनु एकैपटक भएको छ । उनी फरार सूचीमा थिए । 
    नेपाली काँग्रेसका केहि नेताहरुको विशेष सहयोगीका रुपमा रहेका विकास योञ्जन तस्करीका मुख्य योजनाकार रहेको सुन प्रकरणको अनुसन्धानबाट पुष्टि भएको छ । विकास योञ्जन तत्कालीन अवस्थामा फरार रहे पनि उनले प्रयोग गर्ने सवारी साधन बरामद भएको थियो । उक्त सवारी साधनबाट नेताहरुले विकास योञ्जनलाई दिएका चेकहरु बरामद भएका छन् । भन्सारले उक्त चेक, आम्दानीको श्रोतका बारेमा अनुसन्धानका लाथि सम्पत्ति शुद्धिकरणलाई पठाएको छ । विमानस्थलमा सेटिङ्ग मिलाएर दुई वर्षदेखि विकास योञ्जनमार्फत सुन तस्करी हुँदै आएको अनुसन्धानबाट खुलेको छ । हप्ताको दुई केजीका दरले मासिक १० केजी सुन ल्याउने गरेको उक्त समूहले दुई वर्षको अवधीमा २ सय केजी भन्दा धेरै सुन ल्याएर विक्री गरेको बताईएको छ । तत्कालिन समयमा पक्राउ परेका तीन जना भरियाहरुले दिएको बयानका आधारमा योञ्जन सहित अन्य ब्यक्तिहरुको संलग्नताका बारेमा अनुसन्धान भईरहेको छ । काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका–३ हाल पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, रोशी गाउँपालिका–५ साविक शिसाखानी गाविस–३ घर भएका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका–३ सानोपखेरा घर भई बनेपा ९ बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई २०८० भदौ २५ गते विहान ९.२५ बजे दुबईबाट हिमालयन एयरलाईन्सद्वारा नेपाल आएका बाबुलाल दोङ भन्ने व्यक्तिले भन्सार छली अबैध सुन लुकाइ–छिपाई ल्याएको भन्ने सूचनाका आधारमा काठमाडांै जिल्ला प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा विमानस्थल बाहिर सार्वजनिक खण्ड पेटी किनारमा हिँड्दै गरेको अवस्थामा फेला पारी तत्काल नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सुन मलद्वारमा लुकाइ छिपाई ल्याएको अवस्थामा पक्राउ परेका बाबुलाललाई प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन फेला परेको थियो । सुन कुरेर बसेका अन्य दुई र उनीहरुले प्रयोग गरेका दुईवटा सवारी साधनलाई प्रहरीले काठमाडौं महानगरपालिका १५ ढल्कुस्थित विगमार्टको पार्किङबाट नियन्त्रणमा लिई भन्सार कार्यालय पठाएको थियो । पक्राउ परेका भरियाका साथबाट ९६० ग्राम सुन सहित वागमती प्रदेश ०१–२७ प.च. ९९६० नम्वर को क्रेटा गाडी र वागतमी प्रदेश ०२ ०३० प.८५१७ नम्वरको कालो रंगको बुलेट मोटरसाईकल, रेडमी कम्पनीको मोवाईल, पिए १६०८५३८ नम्वरको राहदानी बरामद गरेको थियो । केहि थान चेक बरामद भएका थिए । उक्त गाडी र मोटरसाईकल दुवै विकास योञ्जनले प्रयोग गर्ने गरेका थिए । उनका सवारी साधनहरु नेताहरुले पनि प्रयोग गर्दै आएका थिए ।