2026 August 23/ 04:56: 17pm

प्रशासनमा शंका, हैरानीमा नागरिक 
    धुलिखेल/जिल्ला प्रशासन कार्यालयले ११ महिनाको अवधीमा जिल्लाबाट ९ हजार ३ सय ६६ वटा नयाँ नागरिकता जारी गरेको छ । त्यतिकै संख्यामा अर्थात ९ हजार १ सय १८ वटा पुराना नागरिकताको प्रतिलिपी जारी गरेको छ । आमाको नामबाट १२ वटा र अंगिकृत नागरिकता ७ वटा वितरण गरेको छ । यो अवधीमा ५१ जनाले नागरिकता परित्याग गरेका छन् । ५० वटा गैह् आवासीय नागरिकता जारी भएको छ भने ९ वटा नागरिकता रद्द गरिएको छ । 
    जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनमा नयाँ नागरिकताका लागि १ हजार २ सय ७३ वटा सर्जिमिन प्रहरी प्रतिवेदन सहित सिफारिस गरिएको छ । ११ महिनाको अवधीमा प्रहरीले प्रतिलिपीका लागि ५ सय ६८ वटा सिफारिस गरेको छ । नागरिकहरुको गोप्य चालचलनका लागि १ हजार १० वटा सिफारिस गरेको छ । ५१ वटा राहतका लागि सिफारिस गरेको छ भने कुल २ हजार ९ सय २ वटा सिफारिस गरेको छ । जसका लागि ५ हजार ७ सय ४ जना प्रहरी जनशक्ति खर्च भएको छ । 
    राजधानीसँग जोडिएको जिल्ला काभ्रेपलाञ्चोकमा २०७४ साल देखि नागरिकता विक्री भएको तथ्य बाहिरिएसँगै नागरिकता प्राप्तिमा कडाई गरिएको छ । कर्मचारीहरुले सामान्य कागजातमा समेत ब्यवहार नहेर्ने र नागरिकहरुले दुःख पाउनु परिरहेको वडा अध्यक्षहरुले बताएका छन् । कतिपय अवस्थामा प्रहरी प्रतिवेदनका आधारमा पनि प्रशासनले नागरिकता उपलब्ध नगराएको भन्दै नागरिकहरुले प्रशासनको ढिला सुस्ति र आलटालप्रति प्रश्न उठाउने गरेका छन् । प्रशासनलाई शंका लाग्ने वितिक्कै प्रहरी प्रतिवेदन मगाउँदा नागरिकहरुले हैरानी ब्यहोरेका छन् । प्रतिलिपिमा भन्दा नयाँ नागरिकतामा प्रशासनले प्रहरी प्रतिवेदन धेरै खोज्ने गरेको तथ्यांकले देखाएको छ ।