2026 August 22/ 09:22: 55am

श्रीमती विद्यादेवी भण्डारी 
    ४१ वर्षको हुनुहुन्थ्यो मदन । २०४८ साल असार १५ गते । दहि चिउरा खाने दिन । अहिले सरकारले उक्त दिन धान दिवसका रुपमा मनाउने गरेको छ । मेरो कान्छि छोरी निशाकुशम भण्डारीको जन्मदिन असार १५ गते हो । छोरी कराउँदै आईन् र भनिन् मेरो जन्मदिन मनाई दिनुप¥यो । त्यतिबेलासम्म जन्मदिन मनाउने भन्ने चलन पनि थिएन । भर्खरै निर्वाचन सकिएको थियो । मदनले काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नम्वर १ र ५ बाट चुनाव जित्नु भएको थियो । पहिला काठमाडौंमा ५ वटा निर्वाचन क्षेत्र मात्रै थिए । अहिलेको संरचनाले पहाडमा निर्वाचन क्षेत्र घटेर तराई र काठमाडौंमा बढेको छ । 
    निर्वाचनमा लामो समय खटेका पार्टीका कार्यकर्ताहरु जो मदनका स्वयंसेवकका रुपमा थिए । उनिहरुलाई घरमा बोलाएर एक दिन खाजा खुवाउनु पर्छ भन्ने सोचेको थिएँ । त्यो भन्दा अघि कहिल्यै मदनको जन्म दिन थाहा थिएन । नागरिकता पनि हेरेको थिईनँ । मागि विवाह हो । खास सोधखोज पनि थिएन । चुनावका बेला नागरिकताको फोटोकपी पेश गर्नु पर्ने रहेछ । तर पनि जन्म दिन कहिले हो ? थाहा थिएन । न्वारनको नाम पनि मोतिलाल भण्डारी रहेछ । पछि थाहा पाएँ । मैले छोरीको जन्म दिनको अवसर पारी एकैदिन निर्वाचनमा खटिएका स्वंयसेवकहरुलाई खाजा खुवाउने योजना बनाएर २०४८ असार १५ गते साँझ घरमा बोलाएँ । त्यहि खुशीमा थियौं हामी । कान्छी छोरी पनि खुशी भईन् । तर मदनले जिस्कँदै ब्यङ्ग गरेर भन्नुभयो– ‘मेरो पनि हिजो जन्मदिन थियो कसैले मनाई दिएन ।’ 
    काभ्रेले मलाई पुर्नताजगी गरायो । राष्ट्रपति हुनु अघि काभ्रेसँग मेरो विशेष सामीप्यता थियो । राष्ट्रपति हुँदा पनि भयो । साथीहरु नेपालमै पहिलो पटक ब्रम्हाको मुर्ति बनाएका छौं आईदिनु प¥यो भनेर निम्ता लिएर जानुभयो । मैले हुन्छ भनिदिएँ । सहभागी पनि भएँ । त्यस बाहेक विभिन्न कार्यक्रममा म सहभागी भएको छु । भुकम्पको समयमा अर्थात पार्टीले दिएका विभिन्न जिम्मेवारीहरुमा मैले सक्रियतापूर्वक काम गरेको थिएँ । अहिले धेरै साथीहरु यहाँ देखेको छु । भेट्न पाएँ । खुशी भएँ । मैले कुनै विषय विर्सिएको छैन । दायित्व भुलेको छैन । भर्खरै एमालेको निर्वाचन भएको थाहा पाएँ । निर्वाचितहरुलाई बधाई । एमाले विरुद्धको गठबन्धन हुँदा पनि गोकुल बास्कोटाले निर्वाचनमा जित्नु भयो । उहाँलाई पनि बधाई । सशक्त, विकासका लागि महत्वपूर्ण योगदान दिने युवा नेता बास्कोटाले जिल्लाका लागि पु¥याएको योगदान धेरै छ । धुलिखेल नगरपालिका, त्यसका प्रमुख अशोक ब्याञ्जु जसले धुलिखेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न योजना मार्फत चिनाउनु भयो । दिगो विकास लक्ष्यका लागि धुलिखेलले पूरा गरेका शर्तहरु महत्वपूर्ण छन् । 
    मदन बाचुञ्जेल जन्मोत्सव मनाईएन । २०४८ असार १५ गते मदनले ब्यङ्ग गरेर भन्नु भएको त्यो कुरामा हामीले रमाईलो मात्रै ग¥यौं । २०४९ जेठ ३ गते उहाँको रहस्यमय निधन भयो । हामी र देशका कुनै पनि नागरिकले उहाँको मृत्युलाई सहज मानेका छैनौं । उहाँसँग हुनेहरुको पनि निधन भईसकेको छ । ढिलोचाँडो त्यसको रहस्य त खुल्ला नै । तर पनि त्यो घटना विर्सन सकिएको छैन । देशका लागि, एमालेका लागि र राष्ट्र र राष्ट्रियताका लागि त्यो ठुलो अभिषाप बन्न पुग्यो । तर पनि शोकलाई शक्तिमा बदल्दै नेकपा एमालेका कार्यकर्ताहरुले जनताको बहुदलिय जनवादलाई निरन्तर अगाडी बढाई रहेका छन् । मदनका ति विचार आज पनि उत्तिकै सान्र्दभिक छन् । महत्वपूर्ण छन् । साम्यवाद पुग्न ति विचार अत्यन्तै उत्सुक छन् । मदनप्रतिको सच्चा श्रद्धाञ्जली पनि त्यहि हो । २०५० असार १४ गते पहिलो पटक मदनको जन्मजयन्ती मनाईयो । म पहिलो संस्थापक सदस्य भएँ । बाँचुञ्जेल जन्मोत्सव नमनाएको मदनको जन्मजयन्ती त्यहि बेलाबाट शुरु भयो । काठमाडौ महानगरपालिकाको वडा नम्वर १ मा मदनको ४१ औ जन्मजयन्तीको अवसर पारेर गमलामा ४१ वटा विरुवा रोपण गरियो । पछिल्लो वर्ष बल्खुमा एमालेको केन्द्रिय कार्यालय निर्माणका लागि खरिद गरिएको जमिनमा ईश्वर पोखरेल र प्रदिप नेपाल सहितको ब्यवस्थापनमा बृक्षारोपण गरिएको थियो । त्यसपछि विभिन्न समयमा विविध कार्यक्रमका साथ देशभर मदनको सम्झनामा जन्मजयन्ती मनाउन थालिएको छ । मदन जयन्तीका अवसरमा विविध कार्यक्रम आयोजना गरेकोमा काभ्रे जिल्लालाई धन्यवाद ।
    एमाले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस घोषणा गरी हरेक वर्ष बृक्षारोपण गर्न शुरु गरिएको छ । मदन भण्डारीको जन्मजयन्तीसँग यसको सम्वन्ध छ कि ? जस्तो लाग्छ । हुन त मसँग उहाँको यस विषयमा कुराकानी भएको छैन तर मेरो मनले त्यहि भन्छ । असार १४ राष्ट्रिय बृक्षारोपण । उहाँको निधन पछिको पहिलो वर्ष बृक्षारोपण गरेर मनाउन शुरु गरिएको थियो । त्यहि दिनलाई स्मरण गर्दै सरकारले बृक्षारोपण वर्ष शुरु गरेकोमा धन्यवाद । मानव जीवनसँग प्रत्यक्ष सम्वन्ध राख्ने वनस्पतीको संरक्षण आवश्यक छ । कृषि प्रधान, जलश्रोतको धनी र हरियो वन नेपालको धन भन्ने नारा सानै देखि सुनिन्थ्यो । यसले मात्रै मुलुकलाई समृद्ध बनाउँन सक्दो रहेछ । वातावरण अनुकूल नहुँदा झेल्नु परेका समस्या, विश्वब्यापी मौषम अनुकूल तथा अन्य संकटहरुबाट बच्न, पानीको श्रोत बचाईराख्न पनि बृक्षारोपणलाई निरन्तर गरिराख्न र त्यसको संरक्षणमा ध्यान दिनु आवश्यक छ । 
    धुलिखेल नगरपालिका ११ मा निर्माण गरिएको मदनको शालिकमा पुग्ने अवसर पाएको थिईन । मदनको शालिकमा पुगेर माल्यार्पण गर्ने अवसर पाएँ । ३१ वर्ष पछि फेरी मैले ‘जिन्को बायोलयन’ नामक विरुवा रोपण गरें । मदनको तस्विरमा पनि माल्यार्पण गरें । मलाई खास बोल्न मन छैन । तर पनि मदनले त्यहि उमेरमा समाज, राष्ट्र र पार्टीलाई पु¥याएको योगदान, विचार र सिद्धान्त आज पर्यन्त उत्तिक्कै सम्झनयोग्य छ । कास्की जिल्लाको अधिबेशन सकेर काठमाडौमा हुने महिला भेलालाई सम्बोधन गर्न आउँदै गर्दा मदन र जीवराज आश्रित एउटै गाडीमा फर्कँदै गर्दा भएको दुखद् घटनाको पीडा अनेमसंघलाई पनि भयो । उहाँले सम्बोधन नगर्दै भएको घटनाले सधै असहज बनाई रह्यो । त्यतिबेला साहना प्रधान हुनुहुन्थ्यो अध्यक्ष । नेपालको कम्युनिष्ट आन्दोलन भित्रको टुटफुट, क्रान्तिकारी विचार निर्माण, नेकपा एमालेको निर्माण लगायतका विषयमा मदन भण्डारीले छोटो समयमा खेलेको भूमिका अविश्मरणीय छ । 
    देश निर्माण गर्न, साम्यवादसम्म पुग्न, देश र जनताको हितमा काम गर्न पार्टी पार्टी बीचको विवाद, पार्टी भित्रको विवाद अन्त्य गर्नु आवश्यक छ । आत्मकेन्द्रित नभई देश केन्द्रित सोच बनाउनु आवश्यक छ । दलाल पुँजीवादको दवदबा रहुन्जेल मुलुकको समृद्धि सम्भव छैन । त्यसैले मदनका विचारहरु देश र नेकपा एमालेको सम्पत्ति हो । त्यसको ब्यवहारत प्रयोग भए मात्रै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । सबैमा मेरो अनुरोध छ फुटेर हैन, जुटेर देशको रक्षा गरौं । विकास गरौं । समृद्ध बनाऔं । सुखी नेपाली, समृद्ध नेपालको निर्माणमा सबै जुटौं । जय देश । (उक्त विचार मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित मदन भण्डारीको ७३ औ जन्मजयन्ती समारोहमा ब्यक्त गरिएको हो । सम्पादन सहित यहाँ प्रस्तुत गरिएको छ ।) प्रस्तुती ः मोतीराम तिमल्सिना

धुलिखेलमा मदन जन्मजयन्ती समारोह
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा धुलिखेलमा मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा ७३ औं मदन जन्मजयन्ती मनाईएको छ । 
    पूर्व राष्ट्रिपति भण्डारी मदन भण्डारीका धर्मपत्नी पनि हुन् । उनी फाउण्डेशनको संस्थापक अध्यक्ष छिन् । भण्डारीले काभ्रेको धुलिखेल नगरपालिका वडा नम्वर ११ स्थित काभ्रे भन्ज्याङ्गमा धुलिखेल नगरपालिकाले निर्माण गरेको पूर्ण कदको मदन भण्डारीको शालिकमा माल्र्यापण गरिन् । माल्यार्पण पछि बृक्षारोपण लगत्तै धुलिखेल नगरपालिकाको सभा हलमा आयोजित जन्म जयन्ती समारोहमा भाग लिईन् । कार्यक्रममा मदनसँग सम्वन्धित ४७ मिनेट लामो डकुमेन्ट्रि प्रदर्शन गरिएको थियो ।  
    सभामा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गल, केन्द्रिय कमिटी सदस्य नविना लामा तथा एमाले काभ्रे जिल्ला कमिटीका पूर्व अध्यक्ष अशोक ब्याञ्जु, अध्यक्ष राजन भुर्तेल लगायतका नेताहरुले सम्बोधन गर्दै मदन भण्डारी र उनको सम्झनाका साथै जनताको बहुदलिय जनवादका विषयमा धारणा राखेका थिए । फाउण्डेशनका अध्यक्ष कुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य रिता ढकालको स्वागत र विपिन लामाको संचालन रहेको थियो । 
    कार्यक्रममा नगर, वडा तथा जनवर्गीय कमिटी र सर्वसाधारणको समेत सहभागितामा पूर्व राष्ट्रपति भण्डारीले मदनसँगको सामीप्यता र अनुभूति राजनीतिक, देश र ब्यक्तिगत सम्बन्धका बारेमा धारणा सुनाउने छिन् ।  २००८ सालमा जन्मिएका मदन भण्डारीको ७३ औं जन्मजयन्तीका अवसरमा फाउण्डेशनले देशभर विविध कार्यक्रमको आयोजना गरेको छ ।