2026 August 22/ 09:22: 33am

    बनेपा/सुक्न थाले ‘डिप’ बोरिङ्ग । खनि नसक्दै डिप बोरिङ्गबाट पानी आउन छाडेको छ । केहि वर्ष अघि खनिएका डिप बोरिङ्गमा पानी आउन छाडेको छ । अन्धाधुन्ध खनिएका डिप बोरिङ्गबाट नागरिकहरुलाई विस्तारै बोरिङ्ग बनाउँदै छन् । एकै स्थानमा, एकै वडामा दर्जनौ डिप बोरिङ्ग खनिन थालेका छन् । 
    मौसम परिवर्तन तथा जलबायु परिवर्तनका कारण विश्वमा नै पानीको संकट देखिदैछ । पानी पर्ने  मौसममा पानी नपर्ने, पानीका श्रोतहरु सबै सुक्ने, जमिन भित्र खनिएका मुहानहरुबाट पानी आउन छाड्ने, खेतिपातीमा समेत संकट हुने, चरम भोकमरीको समस्या भोग्नु पर्ने, पशुपालन पाल्न नसक्ने अवस्थामा नेपालीहरु पुग्न थालेको तथ्यांकले देखाएको छ । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा खनिएका केहि वर्ष अघिका डिप बोरिङ्गहरुबाट शुरुकै अवस्थामा पानी आउन छाडेको छ । अहिले स्थानीय र प्रदेश सरकारको मुख्य कार्य नै डिप बोरिङ्ग मार्फत पानीको श्रोत जम्मा गर्ने रहेको छ । संघीय सरकारले एक घर एक धाराको अवधारणा ल्याएसँगै तीन तहकै सरकारले धारा पु¥याउने तर पानीको दीर्घकालिन योजना नबनाउने गरेको सर्वसाधारणले बताएका छन् । 
    केहि वर्ष अघि सामाजिक संघ संस्थाले दातृ निकायहरुको सहयोगमा जिल्लाको भकुण्डे, पाँचखाल, मण्डनदेउपुर लगायतका क्षेत्रमा डिप बोरिङ्ग खनेका थिए । पछिल्ला केहि वर्षहरु बनेपा, धुलिखेल लगायतका विभिन्न पालिकाहरुमा डिप बोरिङ्ग खनिन थाले । प्रदेश र संघ सरकारले थोरै रकम उपलब्ध गराउने र बाँकी रकम स्थानीयहरुसँग संकलन गर्ने गरेका केहि डिप बोरिङ्गहरु सुकिसकेका छन् । बनेपा नगरपालिकाको मात्रै कुरा गर्ने हो भने साँगा क्षेत्र, जनागाल क्षेत्र, बुडोल र चण्डेश्वरी क्षेत्रमा दर्जन जस्तै डिप बोरिङ्गहरु खनिएका छन् । तर कार्की गाउँमा खनिएको केहि वर्ष अघिको डिप बोरिङ्गबाट गत वर्ष भन्दा धेरै कम पानी आउन थालेको उपभोक्ताहरुले बताएका छन् । विस्तारै मुहानहरु सुक्दै जाने, सँगै अन्य डिप बोरिङ्गहरु खनिने र पानीको श्रोत घट्दै गएको स्थानीयहरुले बताएका छन् । श्रोतको पहिचान नगरी अन्धाधुन्द खन्न थालिएका डिप बोरिङ्गहरुले राज्यको श्रोत र नागरिकहरुको सपना माथी बोरिङ्ग त गराई रहेका छैनन ? स्थानीयहरुले सरकारका तीन वटै निकायसँग प्रश्न गरेका छन् । यस्ता योजनाहरु संचालन गर्नुपूर्व दीर्घकालसम्म संचालनका बारेमा अध्ययन गर्नु आवश्यक छ कि ? स्थानीय रामजी सत्यालले बताए ।