भुम्लु/भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिकामा बजार अनुगमन गरिएको छ । पालिका भित्र सञ्चालनमा रहेका भेटेरिनरी, मासु, खाद्यान्न तथा अन्य पसलहरुको अनुगमन गरिएको जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले बताए ।
सहायक प्रजिअ पौडेलको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय धुलिखेलका प्रमुख यज्ञबहादुर ओली, जिल्ला समन्वय समिति काभ्रेका अधिकृत भरत सापकोटा, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका ईश्वरकुमार पाण्डे, रविन्द्रप्रसाद चौंलागाँई र सञ्चारकर्मी लगायतको टोली बजार अनुगमनमा सहभागी भएको थियो । जिल्लाको बेथान्चोक, रोशी तथा पाँचखाल, मण्डनदेउपुर, बनेपा, पनौती, धुलिखेल लगायतका पालिकाहरुमा यसअघि विभिन्न मितिमा बजार अनुगमन भएको छ ।
अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रेका औषधीहरु, जंकफुड सामाग्री नष्ट गरिएको छ । यस्तै दर्जनौं पसललाई सचेत गराईएको छ । भुम्लु गाँउपालिकामा आर.आर. स्टेशनरीका प्रोपाईटर राजकुमार लामालाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त स्टेशनरीबाट विना दर्ता औषधी बेचबिखन गरेको र म्याद गुज्रेको ओषधी विक्री वितरण गर्दै आईरहेको फेला परेकाले जरिवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर ओलीले बताए । अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, सरसफाईमा ध्यान नदिएको, म्याद सकिएका खाद्य सामाग्री विक्री गरेको लगायतका त्रुटी भेटिएकाले तत्काल उक्त कार्य नगर्न नगराउन सचेत गराईएको ओलीले बताए । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख यज्ञबहादुर ओलीले उपभोक्ताको अधिकार सुनिश्चितताका लागि बजार अनुगमनमा जोड दिइएको बताए । बजार अनुगमन निरन्तर गरिने ओलीले बताए । चालु वर्षमा १ हजार ४ सय भन्दा धेरै पसलहरुको अनुगमन गरिएको छ । २ लाख २७ हजार जरिवाना गरिएको छ भने विभिन्न पसलहरुलाई सचेत गराईएको उनले बताए ।









