नमोबुद्ध, भकुण्डे/मेथिन्कोट अस्पतालमा कार्यरत कर्मचारीहरुको तलब भत्ता नियमित नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । आन्दोलित कर्मचारीहरुले पहिलो चरणमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टलाई अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए । उक्त समयावधी भित्र अस्पताल प्रमुखले समस्या समाधान गर्न नसके पछि कर्मचारीहरुले विहिबार प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईलाई ज्ञापन पत्र बुझाएका छन् ।
‘सम्पूर्ण कर्मचारीहरुले हस्ताक्षर गराएर बुझाएको ज्ञापनपत्रमा कर्मचारीहरुलाई उपलब्ध गराउनु पर्ने तलब भत्ता उपलब्ध नभएमा आकस्मिक बाहेकका सबै सेवा संचालन गर्न सकिदैन’–कर्मचारीहरुले एक स्वरमा भने–‘कर्मचारी अनुसार भिन्न भिन्न गरी दुई देखि चार महिनाको तलब पाउन सकिएको छैन । यसको नियमितता गराई दिन अस्पताल प्रशासन, मेसु र लेखा शाखालाई अनुरोध गरेका छौं ।’ कर्मचारीहरुले बुझाएको ज्ञापनपत्र र अल्टिमेटमलाई ध्यान नदिए त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी अस्पताल प्रशासन र लेखा शाखाले लिनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०८०÷२०८१ को श्रावण महिना देखि हालसम्म तलबभत्ता, चाडपर्व खर्च, पोशाकभत्ता लगायतका नियमित प्राप्त हुन पर्ने सेवा समेत अस्पतालले उपलब्ध नगराएको बताईएको छ । विगत ४ महिना देखि कर्मचारीहरुको र २०८१ बैशाख महिनाको सबै कर्मचारीहरुको जेष्ठ महिना सकिँदा समेत तलब भत्ता भुक्तानी हुन नसकेको उनिहरुले बताएका छन् । साथै तलब भत्ताका अलावा पर्यटन काजको सुविधा समेत कर्मचारीहरुले प्राप्त गर्न नसकेका हुन् । तलब भत्ता नपाउँदा अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा कार्य गर्ने कर्मचारी, चिकित्सकहरुको मनोवल कस्तो होला ? कर्मचारीहरुले प्रश्न गरेका छन् । कर्मचारीहरुले प्राप्त गर्ने आधारभुत आवश्यकता समेत निर्वाह गर्न कठिन भएको, मानसिक समस्या तथा सामाजिक असर समेत पर्न गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा ३० जना कर्मचारीहरुले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्र बुझ्नै प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईले तत्कालै कर्मचारीहरुको पुरा गर्न सकिने र गर्न पर्ने मागहरु पुरा गर्न अस्पताल प्रशासनसँग कुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे ।









