पनौती/पनौती नगरपालिका वडा नम्बर ४ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, निर्देशक प्रणराज न्यौपाने, वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल, नगरपालिकाका बालमैत्री सम्पर्क व्यक्ति केशव बञ्जारा, कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा नम्बर ४ का वडा सदस्य प्रकाश बञ्जारा, सविता थापा, कुमार बस्नेत, वडा सचिव कृष्णकाजी श्रेष्ठ लगायत विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बालमैत्री सहजकर्ता लगायत बालबालिकाको उपस्थिती रहेको थियो । बालश्रममुक्त वडा घोषणाको करदपत्र नगर प्रमुख भण्डारीले वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल सहित जनप्रतिनिधि र कर्मचारीलाई हस्तान्तरण गरेका थिए ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी भएको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ एवं पनौती नगरपालिकाबाट जारी भएको बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधि २०८० बमोजिम प्रकृयाहरु पुरा गरेकाले बालश्रममुक्त वडा घोषणा गरिएको नगर प्रमुख भण्डारीले बताए ।
भण्डारीले बालश्रममुक्त अभियानको दिगोपना रहि रहन सकोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् । त्यसैगरी उप–प्रमुख गिता बञ्जाराले बलबालिकालाई श्रमबाट मुक्त गराउने अभियानले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरेकी छन् । उनले दिगोपनाका लागि आफुहरु प्रतिबद्ध रहेको बताइन् । वडा अध्यक्ष दाहालले बालश्रममुक्त अभियानले सफलता प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेका छन् । निरन्तरता चुनौतीपूर्ण रहे पनि सबैको प्रयासले दिगोपनामा सहजता हुने विश्वास व्यक्त गरेका छन् ।
बालमैत्री सहजकर्ता ललिता धितालले वडा कार्यालयले गरेका प्रयासको बारेमा जानकारी गराएकी थिइन् । सरोकारवालासँग अन्तरक्रिया, तथ्यांक संकलन, होटल पसल, कृषि फर्म, वर्कशपको निरन्तर अनुगमन, एक घर, एक मिनेट कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । यस्तै सबै वडावासी, उद्योगी, व्यवसायीलाई बालश्रम प्रयोग नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गराइएको छ । बालश्रममुक्त वडा घोषणा कार्यक्रममा बालश्रम प्रयोग नगर्ने उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो भने बालश्रममुक्त वडा घोषणामा सहयोग पुर्याउनेहरुलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो ।
यस्तै स्वास्थ्य स्वयंसेविका, विद्यार्थीहरुले जनचेतनामुलक गित, नाटक, नृत्य प्रस्तुत गरेका थिए ।









