2026 August 23/ 08:21: 11pm

– ३५ पदका लागि ४९ जनाको उम्मेदवारी दर्ता, ६ पद निर्विरोध, ८ पदमा उम्मेदवारी नै परेन 

निर्विरोध हुनेहरुमा 
प्रताप बैद्य समुहबाट 
क्षेत्रगत सदस्य तर्फ – लक्ष्मी श्रेष्ठ, बनेपा क्षेत्र नम्वर १
            – भगवती श्रेष्ठ, बनेपा क्षेत्र नम्वर २

राजन मानन्धर समुहबाट 
कार्यकारी सदस्य बस्तुगत तर्फ – प्रेमबहादुर तामाङ
कार्यकारी सदस्य एशोशियट तर्फ – दुर्गालक्ष्मी मानन्धर
महिला सदस्य– पुर्णिमा प्रधानाङ्ग र कमला अवाल

बनेपा/काभ्रे उद्योग बाणिज्य संघको २०८१ जेष्ठ १९ गते शनिबार हुने ४२ औ बार्षिक साधारण सभामा अध्यक्ष पदका लागि तीन जनाले प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता भएको छ । हिजो बुधबार साँझ प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी कायम भएको छ । 
    अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, विशिष्ट आमन्त्रित सदस्य राजन मानन्धर र अघिल्लो निर्वाचनमा समेत अध्यक्षका प्रत्यासी रहेका बसन्तनारायण भोक्षिभोयाले उम्मेदवारी दर्ता गराएका छन् । प्रताप बैद्यको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष ग्रुवेन तौजले, उपाध्यक्षहरुमा उमेश शाक्य र विकास शर्मा, महासचिव यश कुमार रञ्जित, कोषाध्यक्ष मानकाजी प्रधान, मुख्य संयोजक राजेशकुमार श्रेष्ठ, सचिव कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजक भिम आचार्य, सह कोषाध्यक्ष श्यामकुमार भालु र सह सचिव सरोज श्रेष्ठ रहेका छन् । पदाधिकारीमा एक जना पनि महिला छैनन । अध्यक्ष पदका उम्मेदवार प्रताप बैद्यले आर्थिक मन्दीमा ब्यवसायीहरुले झेल्नु परेका समस्या, साना तथा घरेलु उद्योगहरुको ब्यवसायीकता, कानूनी सहजिकरण, बार्षिक क्यालेन्डर सहितका कार्यक्रम र उद्योगी ब्यवसायीहरुलाई अभिभावक रहेको महसुस गराउनु मुख्य एजेण्डा रहेको बताएका छन् । उनी साधारण सदस्य हुँदै विभिन्न पदमा रहेर संघको जिम्मेवारी सम्हालिरहेका छन् । बरिष्ठ उपाध्यक्ष पदमा उनि दोश्रो पटक निर्विरोध भएका हुन् । 
    राजन मानन्धरको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, उपाध्यक्षहरुमा राजेन्द्र जोशी र सुरेश भोक्षिभोया, महासचिव रजित पलाञ्चोके, कोषाध्यक्ष सुविन्द्र राजभण्डारी, मुख्य संयोजक विज्ञान धौगोडा, सचिव श्रीकृष्ण थापा, सह मुख्य संयोजक रवि तौजले, सह सचिव रामकुमार श्रेष्ठ र सह कोषाध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन् । पदाधिकारीमा एक जना पनि महिला छैनन । अध्यक्ष पदका उम्मेदवार राजन मानन्धरले समग्र ब्यवसायीहरुको सारथी बन्ने घोषणा गरेका छन् । जिल्लाका उद्योगी ब्यवसायीहरुलाई ब्यवसाय गर्न सहजता प्रदान गर्ने, साना तथा घरेलु उद्योगीहरुलाई उद्यमतामा विस्तार गर्ने, जिल्लामा भएको सम्भावनालाई ब्यवसायीकता र औधोगिकीकरण गर्ने मुख्य एजेण्डा रहेको बताएका छन् । संघका विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालेका मानन्धर हाल विशिष्ठ आमन्त्रित सदस्यका रुपमा कार्यरत छन् ।  
    बसन्तनारायण भोक्षिभोयाले एकल उम्मेदवारी घोषणा गरेका छन् । उनि अघिल्लो पटक वर्तमान अध्यक्ष राजेन्द्र पसँक्षेको समुहसँग पराजित भएका थिए । त्यतिबेला भोक्षिभोया र पसँक्षेको समुहगत प्रतिस्पर्धा भएको थियो । भोक्षिभोयाको समुहबाट उनि र केहि बाहेक अधिकांश विजयी भएका थिए । त्यहि बदला लिन भन्दै भोक्षिभोयिाले एकल अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । चार ‘स’ कायम गर्न उम्मेदवारी रहेको सामाजिक संजाल मार्फत भोक्षिभोयिाले घोाषणा गरेका छन् । समय, साझेदारी, सहकार्य र सर्तकता उनले आफ्ना मुख्य एजेण्डा बनाएका छन् । 
    तिनै जना अध्यक्ष पदका उम्मेदवार र समुहका सदस्यहरु यतिखेर ब्यवसायीहरुको घरदैलोमा जान थालेका छन् । तिनै जना अध्यक्ष पदका उम्मेदवारले ब्यवसायीहरुको हक हितका लागि आफ्नो नेतृत्वलाई विजयी गराउन ब्यवसायीहरुलाई आब्हान गरेका छन् । ब्यवसायीहरुले यस अघिको निर्वाचनमा देखेको अस्वस्थ प्रतिस्पर्धा, निर्वाचित कार्यसमितिले बहुमत र अल्पमतका नाममा गर्न नसकेका कार्यहरुका बारेमा सबै उद्योगी ब्यवसायीहरु परिचित छन् । निर्वाचनमा १ हजार २ सय ५१ मतदाताको नामावली प्रकाशन गरिएको छ । निर्वाचन कार्यतालिका अनुसार २०८१ जेठ १५ गते अन्तिम नामावली प्रकाशन गरिएको थियो । ४१ औ अधिबेशनमा १ हजार ३ सय भन्दा धेरै ब्यवसायीहरुले सदस्यता नविकरण गराएका थिए । हिजो बुधबार अर्थात जेठ १६ गते विहान ९ बजे देखि ११ बजेसम्म उम्मेदवारका लागि फाराम वितरण गरिएको थियो । उम्मेदवारी दर्ताको समय विहान साढे ११ बजे देखि दिउसो २.३० बजेसम्म राखिएको थियो । उम्मेदवारको नामावली दिउसो ३.३० बजे प्रकाशन गरिएको थियो । उम्मेदवारी फिर्ताको समय दिउँसो साढे ४ बजे देखि साढे ६.३० बजेसम्म राखिएको थियो । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन साँझ ७ बजेलाई राखिएको थियो । ब्यवसायीहरुले आज विहिबार, भोली शुक्रबार र शनिबार दिउँसो १ बजेसम्म मत माग्न सक्ने गरी कार्यक्रम तय भएको छ । शनिबार दिउसो १ बजे मतदानका लागि कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।  
    उद्योग बाणिज्य संघको विद्यान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव, सह सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, मुख्य संयोजक, सह मुख्य संयोजक गरी १५ जना पदाधिकारी हुने ब्यवस्था छ । त्यस्तै १० जना खुल्ला सदस्यहरु निर्वाचित, २ जना महिला निर्वाचित, क्षेत्रगत सदस्य ८ जना र मनोनित ३ गरी ३८ सदस्यीय कार्य समिति गठन हुनेछ । ३५ पदका लागि मात्रै निर्वाचन हुनेछ । केहि ब्यक्तिहरुलाई विशिष्ट आमन्त्रित सदस्यका रुपमा मनोनित गर्ने ब्यवस्था छ । 
    निर्वाचन समितिका संयोजक कृष्णप्रसाद खनालका अनुसार ३५ पदका लागि उम्मेदवारी खुल्ला भएकोमा ४९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये ८ वटा क्षेत्रगत सदस्य पदमा उम्मेदवारी नै दर्ता भएन । ६ पदमा निर्विरोध भएको छ । अब १५ पदाधिकारी सहित १० खुल्ला सदस्य पदमा मात्रै निर्वाचन हुनेछ । उम्मेदवारी दर्ताबाट मात्रै संघले १६ लाख ७५ हजार रुपैया आम्दानी गरेको छ । नविकरणबाट करिव १८ लाख रुपैया संकलन भएको छ ।