– ९ महिनामा बनेपाबाट मात्रै ६९ वटा चोरी, १६ वटा फेला
मोतीराम तिमल्सिना
बनेपा
राजधानी उपत्यकासँगै काभ्रेपलाञ्चोक जिल्लाको ब्यापारीक नगर बनेपाबाट अत्याधिक मोटरसाईकल तथा स्कुटर चोरी हुन थालेका छन् । श्रृंखलाबद्ध चोरी हुन थाले पनि प्रहरीले गिरोह पत्ता लगाउन सकेको छैन । फाट्टफुट्ट फेला पर्ने चोर तथा गिरोहका सदस्यहरुको मुख्य जरोसम्म पुग्न नसकेको प्रहरीका सामु मोटरसाईकल चोरी नियन्त्रण चुनौती बन्दै गएको छ । ईलाका प्रहरी कार्यालय बनेपाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको २०८० भदौ देखि २०८१ जेठ ८ गतेसम्म बनेपा क्षेत्रबाट मात्रै ६९ वटा मोटरसाईकल तथा स्कुटर हराएका छन् । जसमध्ये १६ वटा फेला परेका छन् । जेठ महिनामा पनि धमाधम मोटरसाईकल चोरी हुने, चोर सहित बरामद हुने क्रम बढेको छ ।
२०८१ जेठ २ गते विहानको ३ बजे गस्तिमा खटिएको प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्वर १ घर भएका ३६ वर्षीय गर्जन दियालीलाई धनेश्वरबाट वा ४६ प ३३६ नम्वरको १५० सिसीको पल्सर मोटरसाईल चोरी गरेर लैजाँदै गरेको अवस्थामा पनौती सडकबाटै पक्राउ ग¥यो । दियालीले चोरी गरेको मोटरसाईकल बनेपा ७ स्थित बनेपा–पनौती सडक खण्डमा विना हेल्मेट डो¥याउँदै गर्दा शंका लागेर प्रहरीले सोधपुछ गरेको थियो । शंकास्पद अवस्थाका दियाली बाईक छोडेर भाग्न खोजेका थिए । गस्तिमा रहेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिंदै हेल्मेट र कागजपत्रका बारेमा सोधखोज गर्दा गर्दै उनि भाग्न खोजेका थिए । प्रहरीले चोरी गरेर ल्याएको बाईक हुन सक्ने आशंकाका भरमा उनलाई थप केरकार गरे पछि उनी पक्राउ परे । उनले गिरोहका बारेमा अझै खुलाएका छैनन् । प्रहरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद अनुमती लिएर अनुसन्धान गरिरहेको छ ।
२०८१ बैशाख ३० गते रातिको समयमा बनेपा बसपार्कबाट विना हेल्मेट मोटरसाईकल चलाएर आउँदै गरेका काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नम्वर ६ का २५ वर्षीय होईसेर थिङ तामाङ र सोहि गाउँपालिका वडा नम्वर ७ का २४ बर्षिय बुद्द मोक्तान र २२ बर्षिय अनिल स्याङतानलाई पक्राउ ग¥यो । सादा पोशाकमा गस्ति गरिरहेको प्रहरी टोलीले शंकाका आधारमा उनिहरुले चलाई ल्याएको बागमती प्रदेश ०२–०१७ प ११०२ नम्वरको २२० सिसीको पल्सर मोटरसाईकल नियन्त्रणमा लिएका थिए । बनेपा नगरपालिका वडा नम्वर ८ स्थित मंगोलियन लञ्ज बारको पार्किङ्ग स्थलबाट चोरी लगेको उक्त मोटरसाईकल बिना हेल्मेट चलाई रहेको अवस्थामा थियो । चाबी नभएको र तार चुडाई चाबीको ज्याकमा जोडिएको अवस्थामा फेला परेको उक्त मोटरसाईकल तथा चालक समेतलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरेको थियो । पक्राउ परेका सवारी चालकले आफु लगायत अन्य दुई जना पनि संलग्न रहेको बयान दिए लगत्तै प्रहरीले थप दुई जनालाई समेत पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका तीनै जनालाई २०८१ जेठ १ गते देखि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
यसअघि प्रहरीले मोटरसाईकल ग्यारेज संचालक, कवाडी पसल तथा मोटरसाईकल पार्टपुर्जा विक्री गर्ने पसलका ब्यवसायीहरुलाई समेत आवश्यक सोधपुछ गरेको थियो । मोटरसाईकल चोरी गर्ने गिरोहले सिधै मोटरसाईकल नम्वर प्लेट परिवर्तन गरी विक्री गर्ने, पार्टपुर्जाहरु अलग अलग पारी विक्री गर्ने तथा ग्रामीण भेगमा पठाउने गरिएको खुलासा भए पनि प्रहरीले हालसम्म गिरोह पत्ता लगाउन र चोरी नियन्त्रण गर्न सकिरहेको छैन । ईलाका प्रहरी कार्यालय बनेपा मात्रै होईन जिल्ला प्रहरी कार्यालय र मातहतका निकायहरु पनि चोरी नियन्त्रण गर्न असफल जस्तै देखिएका छन् । बनेपा नगरपालिका ६ रातमाटाबाट २०८० चैत्र १५ गते धुलिखेल नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईको बागमती प्रदेश ०२–०३ प १८५६ नम्वरको मोटरसाईकल घर भित्र पार्किङ्ग गरिएको अवस्थामा चोरी भएको थियो । पटक–पटक उनले प्रहरी कार्यालयमा चोरी पत्ता लगाउन र मोटरसाईकल खोजिदिन अनुरोध गरे । प्रहरीले खोजिरहेको छु भन्ने बाहेक अरु जवाफ दिन सकिरहेको छैन । मोटरसाईकल पनि फेला परेको छैन । मोटरसाईकल चोरी गर्ने गिरोहका सदस्यहरु पनि फेला परेका छैनन् ।
प्रहरीले भोगिरहेको मुख्य चुनौती नै त्यहि छ । जिल्लाबाट हराएका वा अन्यत्रबाट हराएका मोटरसाईकल तथा स्कुटर चोरी गर्ने अलग अलग ब्यक्ति छन् कि ? गिरोह नै छ ? गिरोह छैन भने किन पक्राउ परेका ब्यक्तिहरु जुन मोटरसाईकल सहित पक्राउ परेका छन् अरुका बारेमा खुलाउन चाँहदैनन् वा गिरोहका बारेमा भन्न चाँहदैनन् वा प्रहरीले गिरोहसम्म पुग्ने गरी अनुसन्धान गर्न सक्दैन ? एकै रात वा दिउँसै पनि विभिन्न स्थानबाट ४ वटा समेत मोटरसाईकल चोरी हुने गरेका छन् । चोरी भएका सवारी साधन तत्काल कसरी अन्य स्थानमा सहि सलामत पु¥याईन्छन् ? २०८१ बैशाख १ गते राति ४ वटा मोटरसाईकल चोरी भएका छन् । बनेपा नपा ५ जलेश्वरमा मन्दर लामाको मोटरसाईकल साँझ ६.३० बजे चोरी भयो भने बनेपा १३ शिव मन्दिर नजिकैबाट साँझ ७ः१५ बजे विष्णु तामाङको मोटरसाईकल चोरी भयो । सोहि राति ८ बजे बनेपा नपा ७ गोदामचोकबाट बोलप्रसाद सापकोटाको मोटरसाईकल चोरी भयो । बनेपा ६ बुडोलबाट कुमार मैनालीको मोटरसाईकल सोहि राति चोरी भयो । चोरले लगेको मोटरसाईकलमा आगलागी भए पछि त्यहि छाडेर भाग्यो । तर पनि त्यो समुह पत्ता लाग्न सकेन । एकै दिन फरक–फरक समयमा चोरी भएका मोटरसाईकल एउटा ब्यक्तिले लैजान सक्ने सम्भावना नभएको अनुसन्धानमा संलग्नहरुले बताएका छन् । गिरोहले समय र स्थानको लोकेसन समेत मिलाएर चोरी गरेको देखिएको प्रहरीले बताएको छ । अनुसन्धान निरन्तर गरिरहे पनि गिरोहसम्म पुग्न नसकिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदीले बताए ।
२०८० भदौमा १० वटा सवारी साधन चोरी भएका छन् । जसमा एउटा फेला परेको थियो । असोज महिनामा १० वटा मोटरसाईकल चोरी भए । उक्त महिनामा ४ वटा मोटरसाईकल फेला परे । कार्तिक महिनामा ५ वटा चोरी भए । ३ वटा फेला परे । मंसिर महिनामा ४ वटा हराए । २ वटा फेला परे । पुष महिनामा ८ वटा हराए । एउटा फेला प¥यो । माघ महिनामा २ वटा हराए । फागुन महिनामा ८ वटा हराए । एउटा फेला प¥यो । चैत्र महिनामा ५ वटा हराए । २०८१ बैशाख महिनामा १२ वटा मोटरसाईकल हराए । जेठ महिनाको ५ गतेसम्म ३ वटा हराए । दुईवटा फेला परे । २०८१ बैशाख २२ गते राती बनेपाबाट चौरीदेउराली गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष चित्रप्रसाद चौलागाईले चढ्ने गरेको मोटरसाईकल पनि चोरी भयो । उक्त मोटरसाईकल पनि अझै फेला परेको छैन । प्रहरीलाई टाउको दुखाई बन्दै गएको मोटरसाईकल चोरी नियन्त्रण कसरी हुन सक्छ ? डिएस्पी सुवेदी भन्छन्–‘अनुसन्धान जारी छ । नियन्त्रण गर्ने प्रयत्नमा छौं ।’
इलाका प्रहरी कार्यालय जस्तै जिल्ला प्रहरी कार्यालय मातहतका क्षेत्र अर्थात जिल्लाका विभिन्न भागबाट मोटरसाईकल हराउने क्रम तिब्र बनिरहेको छ । प्रहरीले हराएका सवारी साधनको सूची संकलन गर्ने तर भेट्टाउन नसकेको पीडित मणिराज गुरागाईले बताए । उनले प्रहरीलाई सूचना गरेको ६ महिना भईसकेको छ । साथीभाई, सामाजिक सञ्जाल तथा सम्भावित सबै स्थानमा खवर गरेको भए पनि उनको मोटरसाईकल अझै फेला पर्न सकेको छैन ।









