धुलिखेल/५० वर्ष अघि देखि पर्यटकिय नगरी धुलिखेलमा शुरु भएको बेल विवाह सकिएको छ । धुलिखेलका अलावा बनेपा र पनौतीका विभिन्न स्थानमा पनि बेल विवाह आयोजना गरिएको थियो ।
साँस्कृतिक रुपमा नेवारी सभ्यता र बैद्दिक विधीद्वारा हरेक दुई–दुई बर्षमा धुलिखेलमा न्हसिजु परिवारले बेल विवाह गर्दै आएको छ । पहिलो दिन बैशाख २७ गते गणेश र शिवको विशेष पुजा आराधना गर्दै शुरु भएको बेल विवाह २८ गते बैद्दिक विधी अनुसार सम्पन्न भएको छ । धुलिखेलमा यो वर्ष २० जना कन्याहरुको बेलसँग विवाह गरिएको थियो । बनेपा र पनौतीमा गरी एक सय भन्दा धेरै कन्याहरुको बेलसँग विवाह गरिएको छ । घरका सदस्यहरु वा आफन्तहरुले सोहि अवसरमा कन्यादान गर्ने र पुजा गरी आर्शिवाद लिनेदिने चलन छ ।
नेवारी समुदायका कन्याहरुको रजस्वला हुनु अघि कहिल्यै नकुहिने र नबिग्रने बेलसँग विवाह गरी बाचुञ्जेल धार्मिक रुपमा विधवा नहुने विश्वासका साथ बेल विवाहको आयोजना गरिदै आएको छ । धुलिखेलमा हरेक दुई वर्षमा एक पटक बेलसँग कन्याहरुको विवाह गर्ने गरिएको छ । कन्याहरुलाई खाली पेटमा विवाह गराई साँझ भोज खुवाउने चलन छ । बेलुका साथमा भगवान विष्णुसँग विवाह गरी दिने र गुफा राख्दा सूर्यसँग विवाह गरे पछि कन्याको पछि हुने विवाहमा भवितव्य परेको अवस्थामा समेत सामाजिक रुपमा विद्यवा भए पनि धार्मिक रुपमा विद्यवा नहुने विश्वास छ ।
धुलिखेलमा हरिकृष्ण न्हुसिजु प्रतिष्ठानको आयोजनामा प्रत्येक दुई वर्षमा एक पटक कन्याहरुको सामुहिक विवाह गरि दिने चलन छ । इहि पुजा अर्थात बेल विवाहका लागि आवश्यक सामाग्रीहरु केहि महिना अघि देखि तयारी गरिन्छ ।
इहि पूजाको चलन र किवदंन्ती
इहिको चलन कसरी र कहिले भयो भन्ने कुनै लिखित प्रमाण छैन । तथापि लिच्छविकाल देखि इहि संस्कारको सुरुवात भएको अनुमान गरिएको छ । इहि संस्कारसम्बन्धी किंवदन्ती अनुसार, स्वस्थानी व्रतका प्रभावबाट भगवान शिवलाई पतिका रूपमा पाई अखण्ड सौभाग्यवती भएकी माता पार्वतीले आफ्ना माइतीका चेलीले पनि आफू सरह अखण्ड सौभाग्यवती हुने अवसर पाऊन भनेर वर मागिछन । त्यसपछि भगवान शिवले भगवान विष्णुको प्रतीक सुवर्णकुमार (हिरण्य गर्भ) सँग कन्यावस्थामै विवाह गरे सदा सौभाग्यवती हुने वर दिएछन । सोही समयदेखि नेपाल मण्डलका नेवारले भगवान शिवको त्यही वचनलाई अनुसरण गरे । त्यही बेलादेखि कन्याहरूको विवाह भगवान शिवको प्रतीक बेललाई भविष्यको वरको प्रतीकको रूपमा साक्षी मानी भगवान विष्णुको प्रतीक सुवर्णकुमार (हिरण्य गर्भ) सँग गरिदिने चलन चल्यो । कालान्तरमा यही विवाहलाई नेवारहरूले इहि भन्न थाले । इहिबाटै इहिपाः (विवाह) शब्द बनेको हो । बेललाई भविष्यको वरको प्रतीकका रूपमा साक्षी मानेर विवाह गरिएको हुँदा बेल विवाह भनियो । तर, इहिको अर्थ बेल विवाह होइन भन्ने कतिपय जानकारको भनाइ छ ।
इहि संस्कारसँगै बाःराः त्येगु अर्थात गुफा राख्ने (सूर्यविवाह गर्ने) संस्कार पनि सुरु भयो । पहिले १२ दिनसम्म कन्यालाई सूर्यको मुख नदेखाई अँध्यारो कोठामा लुकाइ राख्ने सूर्य विवाह संस्कार थियो, अहिले एक दिन मात्रै लुकाउने प्रगतिशील संस्कार चल्न थालेको छ । यसले अभिभावकलाई आर्थिक तथा सामाजिक दुवै दृष्टिकोणले सजिलो बनाए पनि इहिसामु बाःराः त्येगु संस्कारलाई कम महत्व दिए जस्तो देखिएको छ । सरोकारवालाहरुले यसलाई चिन्ताको विषय भएको बताउन थालेका छन् । सनातन हिन्दू संस्कार अनुसार, सोह्र संस्कार छन । हिन्दू धर्मावलम्बी नै भए पनि नेवारहरुले दशकर्म संस्कारलाई मात्रै अनुसरण गर्दै आएको पाइन्छ । तिनै दशकर्म संस्कारमध्ये कन्यालाई गरिने संस्कार हो, इहि । पुरुषको चूडाकर्म गरिएजस्तै कन्याको इहि र बाःराः त्येगु चलाइएको हो । चूडाकर्म हिन्दू संस्कारसँग सम्बन्धित छ भने इहि र बाःराः त्येगु हिन्दु र बौद्धको मिश्रित संस्कारमा आधारित पाइन्छ । इहि गरिसकेका कन्यालाई सिउँदोमा सिन्दुर लगाउने छुट छ । त्यसैले अविवाहित नेवार युवतीले सिउँदोमा सिन्दुर र गलामा पोते लगाएको देख्दा आश्चर्य मान्नु पर्दैन ।
इहिकै क्रममा विधिपूर्वक कन्यादान गरि सकिने हुँदा नेवार युवतीको विवाहमा विवाहको मण्डप सजाउने अथवा कन्यादान गर्नुपर्ने जरुरत पर्दैन र कुनै हवन यज्ञको पनि आवश्यकता पर्दैन । त्यसैले हिजोका दिनमा मागी विवाह नै भए पनि नेवार युवतीको विवाह सुटुक्क हुने गथ्र्याे । प्रायः रातमा दुलाहा पट्टिका केही मानिस दुलहीको घरमा गएर दुलही लिएर आउने चलन थियो । यस्तो विवाहमा दुलहीको घरमा दुलाहा जानु पनि आवश्यक थिएन । अहिले भने नेवार समुदायमा देखासिकीमै झ्याइँझ्याइँ बाजा बजाएर दुलहासहित दुलहीको घरमा जन्ती जाने, मण्डप बनाएर हवन यज्ञ गरी कन्यादान गर्ने, दुलही भित्रयाउने र पाटी प्यालेसमा भोज दिने चलन सुरु भएको छ । यो नेवारको आफ्नो मौलिक संस्कृति होइन । भोजको सम्बन्धमा पनि आफ्नै घर–चोकमा लहरै बसेर सुुकुल भोज खानु–खुवाउनु नेवारको आफ्नो मौलिक संस्कृति हो ।
के हो विवाहको विधि ?
नेवार भित्र पनि जाति र ठाउँ अनुसार इहिको विधि र प्रक्रियामा भिन्नता छ । काठमाडौं उपत्यकामै नेवार भित्रका विभिन्न जाति र ठाउँ–टोल अनुसार इहिको विधि र प्रक्रिया फरक पाइन्छ । उपत्यका बाहिर सामूहिक रूपमा आयोजना गरिने इहिमा पनि यस्तो भिन्नता देख्न पाइन्छ । अझ विदेशमा आयोजना गरिने सामूहिक इहिमा त आधुनिकताले प्रवेश पाएको छ । सामूहिक रूपमा गरिने इहिको प्रक्रिया प्राय ः दुई दिनसम्म चल्छ भने आफ्नो घरमै गरिने इहि एकै दिनमा पनि सम्पन्न गरिन्छ । स्थान अनुसार इहिको विधि–प्रक्रिया फरक र लामो वा छोटो हुने गरेको छ ।
दुसो–धुसः (पहिलो दिन)
इहि संस्कारअनुसार सर्वप्रथम इहि गरिने कन्याको चिना देखाई साइत जुराइन्छ । साइत अनुसार, पहिलो दिन इहि गर्ने घरका सबै सदस्यको नुवाइ धुवाई र घर कोठाको सफाइ गरिन्छ । यो दिनलाई दुसो–धुसः अर्थात पूर्वाङ्ग भनिन्छ । यो दिनमा गणेश, कुलदेवता, आगम देवता र आ–आफ्नो रीति अनुसार अन्य देवीदेवताको पूजाआजा गरी इहि यज्ञको सुरुवात गरिन्छ । यो दिनमा इहि गर्ने कन्याको हात–खुट्टाको नङ काटि दिने गरिन्छ । यसरी काटिएको नङ कन्याको फुपूले भुइँमा खस्न नदिई चरेसको थालमा थाप्छिन । यो अवसरमा कन्याले फुपूलाई गच्छे अनुसार एक जोर लुगा वा अन्य उपहार दिने चलन छ । यसैगरी कन्याको दुवै खुट्टाको आधा पाइतलासम्म अलः (एक प्रकारको रातो रङ) लगाइन्छ ।
त्यस्तै, इहिका लागि पुरोहितले मण्डप तयार पारेका हुन्छन । पुरोहितले कलश राखी गणेश, क्षत्रपाल लगायत विभिन्न देवगणलाई प्रतीक मानी पूजा संकल्प गर्छन । पूजामा कुम्हःका ग्वारा (धागोको डल्ला), ज्यनाः लप्ते (फूल नफुल्ने एक किसिमको बिरुवाको पात), चाकु, कँय (काँस), हलू (बेसार), सुखुन्या (सिद्रा), ग्वःगु ग्वय (सिंगो सुपारी) आदि सामग्री राख्नुपर्छ । यस दिनको एउटा मुख्य कार्य पितृको सम्मानमा श्राद्धकर्म गर्नु हो । श्राद्धमा आमा नभएकी ज्येष्ठ महिलाले पूजा गर्ने चलन छ । अन्य मान्यजनबाट कलश र अरू अभिभावकले विभिन्न नामका प्रतीक मानिएका देवगणलाई पूजा गरी दक्षिणा चढाई टीका लगाइन्छ । त्यसपछि काठबाट बनेको पाथीमा मान्यजनबाट फलफूलका टुक्रा राखी कन्यालाई तीनपटक पूजा गरिन्छ । दियो बालिसकेर लावा छरी शुभकामना पनि दिइन्छ । त्यसपछि इहि गर्ने कन्यालाई निजका अभिभावकले परम्परागत भोटेताल्चा समाउन लगाई जलधारा छुटाई स्वागत गरी इहिको मण्डपमा बसाउँछन । सामूहिक इहि हो भने, त्यसैगरी अरू सहभागी कन्यालाई पनि बसाइन्छ । त्यसपछि धुपौरो बालिन्छ । तीन पटकसम्म कलश र एकपटक घरका मूल देवगणका नाममा पूजा गर्न लगाई कन्यालाई टीका लगाइदिएर सगुन दिइन्छ । थायभु (विवाहमा बेहुला–बेहुलीलाई खुवाउने बुट्टेदार ठूलो थाल) अगाडि राखी सूर्य देवतालाई दीप बाली पूजा गरिन्छ । पूजापछि थायभु नकेगु अर्थात खाना खुवाउने काम गरिन्छ । खाना पछि दियो बालेर कन्यालाई पूजा गर्न लगाई कल वाय् यंकेगु (छ्वासलमा फाल्न लैजाने) गरिन्छ । यसरी पहिलो दिनको इहि संस्कार सम्पन्न हुन्छ ।
दोस्रो दिन
दोस्रो दिन इहिको मुख्य विधि सम्पन्न गरिन्छ । सर्वप्रथम इहि गर्ने कन्यालाई नीसी (चोखो) गरिन्छ । दुलहीझैं सिँगारिन्छ । त्यस पछि कन्याको सिउँदोमा सिन्दुर लगाइदिने र इहिपर्सि (एक प्रकारको सारी) ले बेरिदिने गरिन्छ । कन्यालाई सारी लगाइदिनुको अर्थ केटीको रूप दिनु हो । पुरोहितले मण्डपमा यज्ञ गरी पूजापाठ सकेर कन्यालाई पनि पूजा गर्न दिइन्छ । त्यसपछि कन्याको बाबुले कन्यालाई काखमा राखी शिवको प्रतीक बेल र विष्णुको प्रतीक काँचो सुनको टुक्रामा जल, टीका, अक्षता, फूलका साथै अरू पूजा सामग्री चढाई इष्टदेवताको रूपमा पूजा गर्छन । कन्याले किसली (संकल्प गरिएको पैसा र सुपारीसहितको पाला) मा पूजा गर्छन । सुवर्णकुमारलाई अघ्र्य दिन्छन । सुवर्णकुमारलाई सुनको दक्षिणा चढाउने मान्यता छ । कन्यालाई इहि पर्सि लगाइदिएर सलाःपा (चित्र कोरिएको माटोको थाल) उसको अगाडि राखेर बेल समात्न लगाई सारीको फेरले हातमा बाँधिन्छ । कन्यासँग ज्वालान्हायकँ (विशेष प्रकारको ऐना) र सिन्हःमु (टीकादानी) हुनु पर्छ । कन्यालाई लावा, फूल र अबिरले सिफँलुई (अभिषेक) गरिन्छ । बाबुले कन्यालाई काखमा राखेर अगाडि पूजा गरेर राखेको बेललाई भविष्यको वरको प्रतीकका रूपमा साक्षी मानी सुवर्णकुमारलाई कन्यादान दिन्छन । कन्यादान पछि कन्याको बाबुले गच्छे अनुसारको दक्षिणा चढाउँछन । पुराहितले कन्याको दुवै हातमा बेल समाउन लगाई मान्यजनबाट मण्डप परिक्रमा गराई पुनः उसको ठाउँमा बसाउँछन । मण्डप परिक्रमा पछि इहि गरिएको कन्याका आफन्तबाट पूजा गरी दान दिन लगाउने चलन छ । यसलाई बाःराँः छुकेगु (भिक्षाका लागि लाम लाग्ने) भनिन्छ । यो अवसरमा कन्यालाई सौभाग्य सामग्री प्रदान गरिन्छ । कन्यालाई नेवारी परम्परा अनुसार घरायसी काम सिकाउने हेतुले सिलौटो पिस्ने, ढिँकी कुट्ने, चिउरा कुट्ने, नाङ्लोमा निफन्नेजस्ता काम पनि गराइन्छ। घरायसी कर्म पछि मान्यजनको हातबाट सम्पूर्ण देवगणलाई पूजा गरी टीका तथा दानदक्षिणा गरिन्छ । त्यसपछि कलशको जल तथा प्रसाद ग्रहण गरी मान्यजनबाट ज्वालान्हायकँ प्रयोग गरेसँगै इहि संस्कार सम्पन्न हुन्छ । अनि मात्र इहि गरिएका कन्यालाई थाय्भु खुवाइन्छ । नाताकुटुम्ब, टोलछिमेकी र साथीभाइलाई निमन्त्रणा गरी भोज खुवाउने चलन पनि छ । सामूहिक इहि गरेर घर फर्केका कन्यालाई घरको मूलढोका अगाडि पिखालखु द्यः (कुमार) सामु उभ्याई घरको ज्येष्ठ महिलाले पूजा गरी टीका–प्रसादसहित एकजोर लुगा र साँचो हातमा दिएर घर भित्रयाउने चलन छ । यो विधि नेवार समुदायमा बुहारी भित्र्याउने विधिसँग मिल्छ ।
इहि नेवार मात्रको संस्कार भए पनि शाही (खड्गी), द्यौला (पोडे), कपाली (जोगी), दर्शनधारी आदि केही नेवार भित्रकै जाति तथा उपजातिभित्र भने इहि संस्कारको चलन छैन । तथापि पछिल्लो समय उनीहरुले पनि इहि संस्कारको अनुसरण गर्न थालेको पाइन्छ ।









