नमोबुद्ध/तत्कालीन केपी ओली नेतृत्वको सरकारमा काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद् गोकुलप्रसाद बास्कोटा मन्त्री भए । सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले दुईवटा मन्त्रालयको जिम्मेवारी प्राप्त गरे । मन्त्री भएका बखत उनले काभ्रेपलाञ्चोक जिल्लामा गौरवका आयोजनाहरुको मुल फुटाए । विश्वविद्यालय निर्माण, सडक तथा अन्य पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा विनियोजन भएका बजेटहरु इतिहासमा कहिल्यै काभ्रेपलाञ्चोक जिल्लाले प्राप्त गर्न सकेको थिएन ।
तिनै योजना तथा आयोजनाहरु कार्यान्वयनको चरणमा छन् । केहि आयोजनाका लागि जग्गा ब्यवस्थापन लगायतका कार्य नसकिँदै सरकार ढल्यो । आयोजनाहरु अलपत्र गरे । बिनियोजित ४१ योजना काटिए । जसका कारण आजसम्म पनि उक्त योजनामा बजेट विनियोजन हुन नसक्दा नागरिकहरुले सास्ति ब्यहोरेका छन् । श्रोत सुनिश्चित नभई अंक मात्रै तोकेको केहि समय अघिको गठवन्धन सरकारका म्यादी मन्त्रीहरुले सामाजिक संजाल रंङ्गयाए । सरकारसँग त्यसका लागि श्रोत नै थिएन । त्यहि गठबन्धनबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु फेरी मनलाग्दी गर्न निर्णयमा रमाउन थालेका छन् । नमोबुद्ध नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले मदन भण्डारी विश्वविद्यालय बन्ने छेउमै फोहोरको डंगुर थुपार्ने योजना बनाएका छन् । विश्वविद्यालय र फोहोर प्रशोधन केन्द्र सँगै रहने गरी एउटै कित्ताका जग्गाहरुमा दुईवटा संरचना निर्माण हुन लागेका हुन् ।
नमोबुद्ध नगरपालिकाका कर्मचारी सन्तोष काफ्लेले सामुदायिक वनको जग्गामा फोहोर प्रशोधन केन्द्र बनाउने निर्णय भएको बताए । ‘मदन भण्डारी विश्वविद्यालय निर्माण गर्न लागेको जग्गा र उक्त जग्गाको कित्ता चाँहि एउटै हो जग्गा चाँहि फरक छ’– सन्तोष काफ्लेले भने–‘विश्वविद्यालयलाई असर नपार्ने गरी प्रशोधन केन्द्र निर्माणको कार्य प्रारम्भ गरिएको हो ।’ २०७६ साल माघ २३ गते साविक मेथिन्कोट गाविस ७ हालको नमोबुद्ध नगरपालिका वडा नम्वर ३ स्थित चरुवामा रहेको कित्ता नम्वर ८१ को ४ हजार ३७ रोपनी १३ आना ३ दाम जमिन नेपाल सरकार मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका नाममा कायम गरिएको छ । उक्त कित्तामा थप १० हजार जति जग्गा रहेको काफ्लेले बताए । कुल २६ कित्तामा रहेको करिव १२ हजार रोपनी जमिन विश्वविद्यालयका नाममा कायम गराई निर्माण प्रकृया शुरु नहुँदै केपी ओली नेतृत्वको सरकार विदाई भएको थियो । छिमेकी देश चीनका राष्ट्रपति नेपाल आउँदा समेत उक्त विश्वविद्यालय निर्माण गर्न समकक्षी विद्या देवी भण्डारीसँग औपचारिक र अनौपचारिक सहमति भएको थियो । नेपालको बदलिँदो राजनीतिक घटनाक्रम, अस्थिर राजनीतिक दलहरुको गठबन्धन र छिमेकी देश प्रतिको नेपालको अनुदार नीतिका कारण पाँचखालमा उक्त विश्वविद्यालय निर्माणको प्रकृया शुरु हुन सकेको छैन ।
नमोबुद्ध नगरपालिकाको २०८० माघ २५ गते बसेको कार्यपालिकाको बैठकले नमोबुद्ध नगरपालिका वडा नम्वर ३ स्थित कित्ता नम्वर ८१ को ५ हेक्टर जमिनमा कमर थुम्कामा करिव १५ करोड रुपैया लागतमा एकीकृत बैज्ञानिक फोहारमैला ब्यवस्थापन केन्दै निर्माण गर्न नगरपालिकाको तर्फबाट ४० प्रतिशत र अन्य क्षेत्रबाट ६० प्रतिशत श्रोत सुनिश्चित गर्ने निर्णय गरेको सूचना अधिकारी बुद्धिराज अर्यालले जानकारी दिए । साविक मेथिन्कोट गाविस वडा नम्वर ७ मा रहेको कित्ता नम्वर ८१ को केहि हजार रोपनी जग्गा विश्वविद्यालय पुर्वाधार निर्माण विकास समितिका नाममा दर्ता भएको छ । सोहि विषयमा कार्यपालिकाको २०८० फागुन २९ गते बसेको बैठकले चरुवामा रहेको सामुदायिक बनको कमर थुम्कामा निर्माण गरिने फोहोरमैला ब्यवस्थापन केन्द्र निर्माणका लागि इनरिच नेपालले तयार गरेको डिपिआर स्विकृत गर्ने निर्णय गरेको छ । २०८१ साल बैशाख ३ गते बसेको बैठकले इनरिच नेपालले तयार पारेको डिपिआरसँगै प्रारम्भिक वातावरणीय प्रतिवेदन स्विकृत गर्ने निर्णय गरेको छ ।









