2026 August 23/ 02:00: 38pm

धुलिखेल/प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेका ७६ वटा प्रमाण सहित २०७७ असोज २६ गते दर्ता भएको अभियोगपत्रमा फैसला गर्दै जिल्ला न्यायाधीश राजेन्द्र नेपालले बैशाख २० गते सजाँय निर्धारण गर्न पेशी तोक्ने आदेश गरेका छन् । 
    २०७७ असार ११ गते राति ११ बजे ४०/५० जनाको समुहले हातहतियार सहित माला कुर्न बसेका १५ युवाहरु, घरधनी सहितलाई नियन्त्रणमा लिएर रोशी ५ नागबेली भन्ने स्थानबाट ९० लाख रुपैयामा खरिद गरिएको बुद्धचित्तको दाना लुटेको थियो । उतिबेला जसले जुन शैलीमा दाना लुट्यो अहिले त्यहि समुहले दाना फल्ने रुख उहि शैलीमा ढालिदिएको छ । त्यतिबेला दाना खरिद गर्ने मानबहादुर जाहेरवाला थिए । अहिले मानबहादुर आफैले रुख काट्ने योजना बनाए । मानबहादुरले दानाको ९० लाख र सिसी क्यामेरा सहितको १ लाख २० हजार ३ सय ४९ रुपैया खर्च भएको बताउँदै ९१ लाख २० हजार ३ सय ४९ रुपैयाको धनमाल डाँका गरी लगेको, डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना मुद्दा दर्ता भएको थियो । समयमा मुद्दाको फैसला नहुँदा र घटनामा संलग्न ब्यक्तिहरु पक्राउ नपर्दा मानबहादुर त्यहि समुहसँग नजिकिन पुगे । जसका विरुद्ध जाहेरी दिए, उनै सँग मिलेर मानबहादुरले रुख काटिदिए । मानबहादुरको पक्षमा अदालतले फैसला गर्दै काले भन्ने राधाकृष्ण मैनाली, कालु भन्ने राजकुमार तामाङ, विजय हुमागाई, किरण तामाङ र विर्खबहादुर लामा सहितलाई कारवाहीको फैसला गरिएको छ भने सागर भन्ने रामकृष्ण मैनाली, धिरज भन्ने श्यामकृष्ण मैनाली, मिरे भन्ने निरबहादुर तामाङ र दिपक भन्ने राजेन्द्र घलानलाई फरार रहेकाले पक्राउ पुर्जी जारी गर्ने आदेश भएको छ । 
    मानबहादुर तामाङ र दुर्गालाल तामाङ समेतले रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीमा रहेको बुद्धचित्तको दाना खरिद गर्न जग्गाधनी समेत रहेका दानाका मालिक विरबहादुर तामाङसँग ९० लाखमा बैना गरेका थिए । १७ जना युवाहरुलाई दैनिक १ हजारका दरले ज्याला सहित खान दिएका थिए । प्रहरीले पक्राउ गरेकाहरु मध्ये विजय हुमागाई, राजकुमार तामाङ र राधाकृष्ण मैनालीले आरोपित कसुरको सम्वन्धमा झुट बोलेको पोलिग्राफ प्रतिवेदन समेत प्रहरीले अदालतमा पेश गरेको थियो । साथै उनिहरुले फोनमा कुरा गरेको भ्वाईस रेकर्ड, एसएमएस सहित म्यासेन्जरमा गरिएको कुराकानीको प्रमाण सहित पेश गरेको थियो । तर पनि प्रहरीले बाँकी अभियुक्त पक्राउ गर्न चासो नदिएको, अभियुक्तहरु खुलेआम हिडिरहेको, यो वर्षको माला खरिद गर्न आफुले नपाएको, अदालतले समेत समयमा फैसला नगरिदिएका कारण विक्षिप्ति बन्दै आएका मानबहादुर उहि समुहसँग जोडिए र २०८० चैत्र २९ गते राति दाना फल्ने रुख काटिदिने योजनामा सहभागि भए । अहिले जग्गाधनी विरबहादुर तामाङ र ठकुरानी तामाङले उक्त दाना नेकपा समाजबादी निकट युवा नेता समिप त्रिपाठी लगायतको समुहलाई विक्री गरेको थियो । स्थानीय सरकारले कुल मुल्यको कागजात अनुसार ५ प्रतिशत राजश्व रकम लिदै आएको छ । 

जहिल्यै लफडा
    विरबहादुर तामाङको मालाको बोट शुरु देखि नै वर्षमा १ करोडमा विक्री हुन्छ भन्ने चर्चा थियो । माला किन्न आउने ठेकेदारको आउजाउ धेरै बढेको र मान्छेहरुको चहलपहल बढि भई ठेकेदार र निजका मानिसहरु विच एक आपसमा झै झगडा समेत हुँदै आएको थियो । २०७३ सालमा गणेशमान तामाङले उक्त बोटको दाना खरिद गरेका थिए । सोहि साल विरबहादुर तामाङको माला वाङ तामाङ र सत्य लामाले ६० लाखमा खरिद गरेका थिए । सोहि वर्ष सागर भनिने रामकृष्ण मैनालीले लुटेका थिए । पछि पनि ठेकेदार बीच भएको विवादका कारण कहिले दाना लुटिने त कहिले गाउँपालिकामा छलफल हुने गरेको थियो । त्यसपछि रुख नै काटियो । प्रहरीले अभियोगमा किटानी गरेका ब्यक्तिहरुलाई समयमै पक्राउ नगर्दा एक पछि अर्का अपराध हुँदै गएका छन् ।