2026 August 22/ 08:08: 31pm

दुर्गाप्रसाद पन्त
पूर्व प्र.अ.

चौरीदेउराली गाउँपालिका वडा नं. ८ विर्ता देउराली (साविक विर्तादेउराली गा.वि.स) मा वि.सं. १८०८ सम्म खाली जंगल रहेछ । वि.सं. १८०५ मा गोबद्र्धन पन्तले मल्ल राजाबाट कुश बिर्ता पाई १८०५ बाट पन्त ब्राम्हणको विर्ता नामले सुप्रसिद्ध ताम्रपत्र अझसम्म छँदै छ । यसै कारणले विर्ता नामले प्रसिद्ध भएको हो । वि.सं. १८३६ मा राजाबाट काजी प्रतिमन पन्तले पाएको लालमोहर अनुसार प्राप्त गुठीको हिसाबले पनि विर्तादेउराली नाम रहन गएको हो । उनै गोबद्र्धन पन्तका पछिका सातौं पुस्ताका स्व. देवीप्रसाद पन्तले तत्कालीन गाउँपञ्चायत भरमा पच्चीस धुरी माभफी, ४०) धुरी तामाङ, १२५ धुरी पन्त, १५ धुरी पहरी, ७ धुरी कामी, ४ धुरी दमाई समेत गरी जम्मा २१६ धुरी भएको ठाउँमा अक्षराम्भ गराउने स्रोत साधन केहि नहुँदा वि.सं. २००६ साल वैशाख १५ मा  श्री ३ मोहन शम्शेर जबरा प्रधानमन्त्री नेपालको पूर्व दौडाहमा जाँदा गोश्वारा हाल सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा प्रतिम काजीका सन्तान निरक्षर भए सकरार एक पाठशाला बकस पाउँ भनी बाहुलीमा निवेदन चढाउँदा बकस पाई श्री देउराली प्रारम्भिक पाठशालाको स्वीकृति प्राप्त भएको हो । 
वि.सं. २००६।६।२६ गते विर्ता देउराली वडा नं. १ मा स्व. पण्डित हरिप्रसाद पन्तले (रा.प.अनं तृतीय) पठनपाठन गराउँदै रहेको र वि.सं. २०१७ सालमा श्री ५ महेन्द्र वीर विक्रम शाहदेवबाट  भूमेस्थान राष्ट्रिय प्राईमरी स्कूल विर्ता देउरालीमा बकस भई स्थापना गरी दुवै विद्यालय संचालन भइरहेको रहेछ । वि.सं. २०२३ साल चैत्र २७ गते यसै वडाका शिक्षाप्रेमीद्धय स्व. दलबहादुर थापा र स्व. हेमबहादुर कँडेल सहित दुई जनाको निवेदन अनुसार तत्कालीन प्रधानपञ्च स्व. देवराज पन्तले गाउँसभाबाट पारित गरी वडा नं. ७ र ८ को दुई वडाको लागि जिल्ला शिक्षा निरीक्षकबाट स्वीकृत लिई  देउराली पाठशाला भोलुङमा स्थापना गरी पठनपाठन चल्दै आएको र शिक्षा ऐन २०२८ लागू भएपछि पाठशालाबाट स्कूलमा परिणत गराई कक्षा १–३ पठनपाठन गर्दै आएको पाइन्छ  । वि.सं. २०२४ साल वैशाख २ गतेदेखि यस विद्यालय भोलुङमा संचालन भएकोले हरेक वर्ष वैशाख २ गते विद्यालय जन्म जयन्ती मनाउने कार्यक्रम रहिआएको छ । वि.सं. २०२४ साल वैशाख २ गतेदेखि २०२९ चैत्र २६ गतेसम्म केहि समय दलबहादुर थापाको घर आँगन त्यसपछि रोटेपिङ खेल्ने डाँडो र करिब ४ वर्ष पिपलको बोट चौतारिमा आँधिवेहरी, घामपानी सहेर बडोकष्टले संचालन गरिएको रहेछ । यसरी संचालन भएको विद्यालयमा हाल बालविकास कक्षादेखि कक्षा १० सम्म संचालन भैराखेको छ ।
    काभ्रेपलाञ्चोक जिल्लामा २०२९ साल पौष देखि नयाँ शिक्षा लागू भएपछि प्र.अ. स्व. चन्द्रप्रसाद उपाध्याय पन्तको सक्रियतामा यस भोलिङ्ग गाउँका शिक्षाप्रेमी स्व.चर्तुभुज खरेलका छोरा स्व. देवीप्रसाद खरेल, स्व.जीवनाथ खरेलका छोरा स्व. नन्दराज खरेल (टिकावल्लभ खेरल र शिवनारायण खरेल) स्व. कृष्णप्रसाद खरेलका छोरा छविलाल खरेल समेत ३ जनाबाट विद्यालय भवन निर्माण, खेलकूद मैदान, व्यवसायिक करेसाबारी समेतलाई पुग्ने गरी १२ रोपनी १४ आना १ पैसा १ दाम क्षेत्रफल भएको थुम्कीबारी संयुत्तःरुपमा विद्यालयलाई निःशुल्क दिनुभएपछि कक्षा १ देखि ३ सम्मको लागि ३ कोठा र कार्यालय संचालन गर्न १ कोठा गरी ४ कोठे भवन चन्दा र अनुदानबाट ढुंगामाटोको जोडाईमा खरको छानो लगाई विद्यालय भवन निर्माण गरी पठनपाठन संचालन गर्दै आएको हो । शिक्षा ऐन संशोधन भएपछि २०३४ सालमा प्राथमिक विद्यालय कक्षा १–५ गर्ने निर्णय नेपाल सरकारबाट भएपछि क्रमशः ४ र ५ कक्षा थप गरी २०४९ साल सम्म प्राथमिक तह संचालन भएको थियो । वि.सं. २०५० साल पौष महिनामा संचालक समितिका अध्यक्ष सिद्धिबहादुर खरेलको सक्रियतामा अभिभावक सम्मेलन बोलाई यस विद्यालयलाई अब निम्न माध्यमिक तह संचालन गर्नुको लागि धरौटी राख्न चन्दा उठाऔं भनी सबै अभिभावकहरुलाई सक्रिय गराई चन्दा संकलन गरी रु २५ हजार धरौटी राखी कक्षा ६ संचालन गर्ने अनुमति (२०५०) लिई निम्न माध्यमिक तह संचालन गर्दै २०५२ साल सम्म कक्षा ८ को अनुमति लिई कक्षा संचालन भैरहेको थियो । 
वि.सं. २०६८ साल पौष महिनामा विद्यालयका प्र.अ. दुर्गाप्रसाद पन्त र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर थापाको सक्रियता र शिक्षाप्रेमीहरुको राय सुझाव अनुसार अभिभावक सम्मेलन बोलाई व्यापक छलफल गरी यस विद्यालयको सेवा क्षेत्र भित्र दलित, सीमान्तकृत, जनजाति एवं आर्थिकस्तर निम्न भएका व्यक्तिहरुको बसोबास भएकोले निम्न माध्यमिक तह पूरा गरेका बालबालिकाहरु माध्यमिक तह अध्ययन गर्न करिब दुइृ घण्टाको बाटो हिँडेर जानुपर्ने भएकोले बिचमा कक्षा छोड्ने दर बढ्दै गएकोले माध्यमिक तह संचालन गर्ने निर्णय गरी रु १ लाख धरौटी रकम जम्मा गरी सामुदायिक विद्यालयको रुपमा संचालन गर्न र विद्यालय संचालनमा लाग्ने सम्पूर्ण खर्च निजी स्रोतमा व्यहोर्ने गरी माध्यमिक तह शैक्षिक तह २०६८ देखि लागू हुनेगरी संचालन गर्न अनुमति मिति २०६८ साल पौष २० गते पत्र संख्या ०६८।०६९ च.नं. १६० लिई कक्षा ९ संचालन गरियो साथै मिति २०६९।२।२७ पत्र संख्या ६८।६९ चंनं. २४४२ अनुमति लिई सामुदायिक विद्यालयको रुपमा माध्यमिक तह कक्षा १० संचालन गर्ने अनुमति शैक्षिक सत्र २०६९ देखि लागू हुनेगरी हाल कक्षा १० सम्म संचालन भैराखेको छ । 
नेपाल सरकारबाट वि.सं. २००७ साल भन्दा अगाडि स्थापना भएको विद्यालयहरुलाई आधार विद्यालयको रुपमा विकास गर्ने निर्णय भएकोले यस विद्यालय त्यस मापदण्डभित्र पर्ने आवश्इक प्रमाणहरु जुटाई प्रस्तावना पत्र तयार गरी २०६७।११।२५ द.नं. १७४४ जिल्ला शिक्षा कार्यालय, काभ्रेपलाञ्चोक द.नं. ११४९, मिति २०६७।११।२६ शिक्षा मन्त्रालय केशल महल द.नं. ३५७ मिति २०६७।११।२९ शिक्षा विभाग सानोठिमीमा विद्यालयको प्रस्तावना पत्र दर्ता गराई सोहि अनुसार नेपाल सरकारबाट आधार विद्यालयको (वि.सं. २००७ साल भन्दा अगाडिको) रुपमा मान्यता दिई रु. १३ लाख उपलब्ध गराई ढुंगा र सिमेन्टको जोडाईमा २ कोठे पक्की भवन निर्माण गरिएको छ । विद्यालयको स्थापनाकालमा बनाइएको यस विद्यालयको ४ कोठे भवन जिर्ण भएकोले २०३६।०३७ सालमा क्यानाडिएन सरकारको अनुदानमा सोहि देशका माइकल आर रोजिकको नेतृत्वमा आएको टोलीसँग नेपाल सरकारको सम्झौता अनुसार ५ कोठे एल आकारको भवन ढुंगा माटोको जोडाईमा झिँगटीको छाना लगाई बनाइएको थियो । सो भवन वि.सं. २०४५ सालको भुकम्पले जिर्ण बनाएकोले सो भवनको झिँगटी निकाली रु. १५ हजारमा विक्री गरी शिक्षक अभिभावक र गाविस समेतको लगानीमा रु ७५ हजारको लागतमा जस्ता पाताको छानो लगाई मर्मत गरिएको थियो । २०४९ सालदेखि २०५४ साल सम्म उक्त भवन भत्काएर ५ वटा २÷२ कोठाको ट्रस भवन नेपाल सरकारको अनुदान सहयोगमा निर्माण गरिएको थियो । 
वि.सं. २०७२ सालमा गएको विनाशकारी भुकम्पले सो ट्रस भवनहरु पूर्णरुपमा क्षति भएकोले नेपाल सरकारबाट हाल अनुदान दिई ४÷४ कोठाको २ भवन र २÷२ कोठाको २ वटा ट्रस भवन निर्माण गरी हाल संचालनमा आएका छन् । हाल यस विद्यालयमा सिविक फोरमको सहयोगमा शुद्ध खानेपानी कार्यक्रम संचालनमा आएको छ । विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि देउराली पुस्तकालय, विज्ञान प्रयोगशाला र आइसिटि कार्यक्रमहरु समेत लागू गरिएका छन् । त्यस्तै विद्यालयमा माध्यमिक तहका राहत १, संघीय सरकार आुदान २, प्रदेश सरकार अनुदान १ गरी ४ दरबन्दी, निम्न माध्यमिक तह दरबन्दी २, राहत १ गरी ३ जना, प्राथमिक तहमा सात वटा दरबन्दी, लेखापाल १, बालविकास १ र कार्यालय सहयोग १ समेत गरी १७ जना शिक्षक कर्मचारी रहेका छन् । यस विद्यालयमा देवलक्ष्मी छात्रवृत्ति कोष २०६४, पूर्व प्र.अ. स्व. चन्द्रप्रसाद उपाध्याय पन्तको ममतामयी माताको सम्झनामा रु. ४० हजार सो रकमको व्याजबाट प्रत्येक वर्ष विद्यालयमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १ जना छात्र र १ जना छात्रालाई विद्यालयको नतिजा प्रकाशनको समय संस्थाका संरक्षक तथा उत्तराधिकारीको उपस्थितिमा प्रदान गर्ने गरएको छ । 
त्यस्तै यस विद्यालयका पूर्व विद्यार्थी एवं चौरी देउराली गा.पा.वडा नं. ८ विर्ता देउराली भोलुङका  ललितबहादुर कँडेल तथा जेष्ठ सुपुत्र स्व.ज्ञानेन्द्र कँडेलबाट रु. ५० हजार र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष  हरिशरण खरेलबाट रु. ५० हजार गरी रु. १ लाखबाट प्राप्त हुने व्याजबाट विद्यालयका प्रत्येक कक्षाका २÷२ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएअनुसार ज्ञानेन्द्र कँडेल स्मृति छात्रवृत्ति कोष निजका भाइृ निरञ्जन कँडेल संरक्षक रहने गरी स्थापना गरिएको छ । उक्त छात्रवृत्तिहरु संरक्षक वा निजका उत्तराधिकारीहरुको उपस्थितिमा वितरण गर्दै आएको छ । विद्यालयको स्थापना समयदेखि यस विद्यालयलाई अतुलनीय सहयोग गर्नुहुने स्व. देवीप्रसाद पन्त, स्व. देवराज पन्त, स्व. अम्बर बहादुर थापा, स्व. हेमबहादुर कँडेल, स्व. देवीप्रसाद खरेल, स्व. नन्दराज खरेल, छविलाल खरेल, स्व. पण्डित हरिप्रसाद पन्त, स्व. चन्द्रप्रसाद उपाध्याय पन्त, स्व. सिद्धिबहादुर खरेल, वानबहादुर थापा, कृष्णबहादुर थापा, प्रेमबहादुर थापा, जगनसिंह कुँवर, जितबहादुर कुँवर, कटकबहादुर खरेल, हरिशरण खरेल, उद्धवराज खरेल, तुलबहादुर कँडेल, रमेश खरेल, कमल खरेल, रामकुमार खरेल, स्व. सिंहबहादुर कँडेल, स्व. रुक्मबहादुर थापा, गंगाबहादुर पन्त, रत्नप्रसाद पन्त, त्रिपुरेन्द्रराज गिरी, त्यस्तै यस विद्यालय स्थापना कालमा वडा नं. ८का स्व. मोहनीप्रसाद पन्त, स्व. हेडम्बराज पन्त, स्व. इन्द्रविलास पन्त, स्व. बज्रबहादुर पन्त, गंगाबहादुर पन्त, स्व. रत्नप्रसाद त्रिपाठी, स्व. लालबहादुर तामाङ साथै पचुवारका स्व. श्यामबहादुर माझी, स्व. माइला कामी लगायत व्यक्तिहरु रहेका छन् । 
तत्कालीन समयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु प्र.अ. र शिक्षकहरु, शिक्षक अभिभावक संघका पदाधिकारहरु एवं शिक्षाप्रेमी, समाजसेवी बुद्धिजीवी, स्थानीयहरु, शिक्षा संकाय, पूर्व विद्यार्थीहरुको सहयोगप्रति विद्यालय परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ । साथै अन्त्यमा यस विद्यालयको इतिहास लेखन प्रक्रियामा आफ्नो अमूल्य राय सुझाव दिनुहुने सम्पूर्ण व्यक्तिहरु प्रति हार्दिक आभार व्यक्त गर्दै लेखन प्रक्रियामा केहि छुट भएको भए समावेशको लागि सुझाव दिनुहुन यस विद्यालय अनुरोध गर्दछ ।