2026 August 22/ 08:08: 22pm

    धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा नागरिकता प्राप्तिका लागि आवेदन दिएका एक सय भन्दा धेरै नागरिकहरु ७ महिना अघि देखि नागरिकता सम्बन्धी निर्णय हुन नसक्दा अन्योलमा परेका छन् । नागरिकताको आश गर्दा गर्दै ७५ बर्षिय जेष्ठ नागरिकले आत्महत्या गरेका छन् भने युवाहरुले आत्महत्याको प्रयास गरेका छन् । मानसिक रुपमा समेत तनाव ब्यहोरेका युवाहरु राज्यलाई दोष दिदै गलत बाटो अंगाल्ने अवस्थामा पुगेका छन् । 
    ‘कि नेपाली नागरिक हैन भन्नु प¥यो, नेपाली नागरिक हुँदाहुँदै पनि नागरिकता दिने निर्णय नहुँदा भोग्नु परेका कयन पीडा कसलाई सुनाउँ’– भुम्लु गाउँपालिका घर भएकी मेलिना तामाङले भनिन् । ‘म प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यकक्षमा महिनाको चार पटक जति पुगें । कहिलेकाँहि भेट हुँनै सकेन । दगुर्दा दगुर्दा थकित भई सक्यौं । बाबुको नाम खुलेको छ तर बाबु देखेकै छैन, आमाको नामबाट नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयले माग गरेका सबै कागजातहरु तयार गरी बुझाएको छु । अझै नागरिकता प्राप्त गर्न सकेको छैन’–२६ बर्षिया मेलिना तामाङले भनिन–‘यो उमेरसम्म नागरिकता नपाउँदा मैले ब्यहोर्नु परेको मानसिक तनावका बारेमा कसलाई भनौ ? रोजगार स्वदेशमा त पाईन पाईनँ । विदेश जान पनि सकिनँ । लाईसेन्स बनाउन पाईनँ । अध्ययन गर्न नै सकिनँ ।’ आमाको नागरिकता, ७ जनाले गरेको साक्षी मुचुल्का, प्रहरी प्रतिवेदन, लालपुर्जा नभए पनि बार्षिक तिरो तिरेको मामा घरको रसिद, मामा र माईजु अनि मामाघरको हजुरबुबाको नागरिकताको फोटो कपि समेत बुझाएको छु ।’ मेलिनाले प्रमुख जिल्ला अधिकारी शर्माले बैशाख महिनामा आउँदा नागरिकता प्राप्ति हुन्छ भनेको बताईन् । आमाको नामबाट नागरिकता पाउने मेरो हकलाई राज्यले किन नजरअन्दाज गरेर हामीलाई गैर नागरिक बनाउँदै मानसिक यातना दिईरहेको छ ? उनको प्रश्न थियो । 
    मेलिना जस्तै पाँचखाल नगरपालिकाका २३ बर्षिय राजिव शर्माको थप पीडा छ । ‘नागरिकता नभएकै कारण मुलुकमा रोजगार पाउन सकिएन । अध्ययन गर्न सकिएन । ब्याचलर तेश्रो वर्ष अध्ययन गर्दा बैक खाता खोल्न पाईएन । बाबुको पहिचान छैन । आमाको नामबाट नागरिकता दिदैनन’–उनकी आमाले भनिन–‘राजधानीमा मजदुरी गरेर छोरा हुर्काएको छु । महिनाको ५ पटक जति जिल्ला प्रशासन कार्यालय जाने गरेको छु । धेरै पटक प्रमुख जिल्ला अधिकारीलाई भेट हुँनै सकेन । भेट भएको बेला उहाँले सबै कागजात पुगेको छ । मन्त्रालयमा निर्णयका लागि पठाएको छु भन्नुहुन्छ तर मन्त्रालयको निर्णय कहिले आउँछ भन्नु हुन्न । भर्खर ७ महिना भयो ।’ ‘कि तँ नेपाली हैनस नागरिकता पाउँदैनस, बाबु देखा अनि दिन्छु भन्नु प¥यो नत्र सबै कागजात पुगे पछि नागरिकता रोक्नुको कारण थाहा पाउन सकिएन’–उनले भनिन–‘छोरालाई नागरिकता नपाएकै कारण उत्पन्न हुने समस्याका बारेमा राज्य किन गम्भिर हुन नसकेको ?’ धुलिखेल १ देविटारका विष्णुबहादुर तामाङले नागरिकता बनाउन कागजात पेश गरेको ४ महिना भयो । सानैमा उनका बाबु आमा विते । उनलाई भक्तपुरमा कसैले हुर्काउने बढाउने ग¥यो । मजदुरी गर्दा गर्दै उनको नागरिकता बनाउने प्रयास भएन । उमेर ५० कट्यो । ४५ वर्षको उमेरमा उनले गाउँकै एक जना महिलासँग विवाह गरे । उनको नागरिकता छ । विष्णुबहादुरको सन्तान पनि जन्मियो । विद्यालय जाने उमेर भए पछि विद्यालयले जन्म दर्ता खोज्यो । बाबु आमाको नागरिकता नभई विवाह दर्ता हुन सकेन । तब विष्णुबहादुर नागरिकता बनाउने प्रयत्नमा लागे । बाबु आमाकै नागरिकता बनाएको थिएन । सानैमा वितेकाले उनले थाहा पनि पाएनन । उनका बाबुको जग्गाको राजश्व तिरेको रसिद, नाता प्रमाणित सँगै उनका नजिकका ब्यक्तिहरु सनाखत गरिदिन तयार छन् । साक्षी बस्न पनि तयार छन् । तर जिल्ल प्रशासन कार्यालयले के गर्ने ? नागरिकता बनाउन के कागजात आवश्यक छ ? कहिले बन्छ नभनिदिँदा विष्णुबहादुर महिनाको ६ पटक जति जिल्ला प्रशासन कार्यालय धाएका छन् । अक्षर समेत राम्रोसँग नचिन्ने विष्णुबहादुरलाई गाउँकै एकजना सामाजिक कार्यकर्ता देवि तामाङले सहयोग गरिरहेकी छिन् । आईतबार पनि उनि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भेट्न कार्यालय पुगिन् । सहायक प्रमुख जिल्ला अधिकारी विदामा रहेकाले आए पछि मात्रै जानकारी दिने भन्दै विदा गरेको बताईन् । धेरै पटक आउँदा पनि नागरिकता बन्न नसकेको भन्दै उनले प्रशासन र कर्मचारीहरु प्रति रोष प्रकट गरिन् । 
    बनेपा नगरपालिका वडा नम्वर ३ की ६६ बर्षिया लक्ष्मी श्रेष्ठ यतिखेर पाठेघरको क्यान्सरसँग जुधिरहेकी छिन् । उनका श्रीमान वितिसके । एकल महिलाका रुपमा प्राप्त गर्नु पर्ने राज्यको सुविधा त उनले पाउन सकिनन । राज्यले गम्भिर रोग लागेका बखत उपलब्ध गराउने सेवाबाट समेत नागरिकता नभएकै कारण लक्ष्मी बञ्चित भईरहेकी छिन् । सामाजिक अभियान्ता समेत रहेकी निर्मला काफ्ले लगायतको समुहले लक्ष्मीलाई नागरिकता प्राप्तिका लागि वडा कार्यालयको सिफारिस, नाता प्रमाणित लगायतका विभिन्न कागजपत्रहरु तयार गरे । तर पनि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकता दिन कानूनी समस्या देखाउँदै निर्णय गर्न सकिनन् । बरु उनले अदालत गएर मुद्दा राख्न सुझाव दिईन् । निर्मला काफ्लेका अनुसार लक्ष्मीका बाबु आमा दुबै वितिसके । श्रीमान पनि विते । सानै हुँदा आमा वितेकाले बाबुले अर्काे विवाह गरे । अर्काे आमाको पहिलाको बाबुबाट जन्मिएको भाई पनि सँगै थियो । उनको विवाह भयो । दुई छोरा र २ छोरी छन् । छोरा छोरी दुबैको नागरिकता बन्यो । आमाको नागरिकता बनेन । अझै बनेको छैन । त्यहि आमाको नाम राखेर नागरिकता बनाएर नाति नातिना हुर्किसके । आमा लक्ष्मीको नागरिकता बन्न सकेन । विभिन्न संघ संस्थाले उनको उपचारका लागि सहयोग जुटाए पनि अन्तिम अवस्थामा पनि नागरिकता प्राप्त नगरी मर्ने हो कि भन्ने चिन्ता लक्ष्मीलाई थपिएको छ । 
    पनौती नगरपालिका घर भई ललितपुर तथा काभ्रेको धुलिखेल बसोबास गर्दै आएका ७५ बर्षिय रामगोपाल श्रेष्ठले २०८० चैत्र ३ गते किर्तिपुरमा रुखमा झुण्डिएर आत्महत्या गरे । उनले मर्नु अघि पटक पटक जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा नागरिकता लिन जाँदा पनि अनेक खालका दुख दिएर नागरिकता नदिएकाले बुढेशकालमा कोहि साहारा पनि नभएकाले बाँच्नुको अर्थ नभएको बताएका थिए । उनका बाबु आमा सानैमा वितेका थिए । भाई भुपाल श्रेष्ठका अनुसार नागरिकता नपाएकै कारण भौतारिँदा भौतारिँदै दाजु रामगोपालले झुण्डिएर आत्महत्या गर्न पुगेको बताए । ‘हामी दुई दाजुभाई । हाम्रा बाबु आमा सानैमा विते । म घर छाडेर लाहुर हिडें । २०१० सालमा बाबुले १ सय ८५ रुपैयामा घर जग्गा बन्धकी राखेका रहेछन् । लाहुर गएकाले बाबुकै डरले म घर फर्कन सकिन । दाजु रामगोपाल घरमै थिए । बाबु आमा विते पछि उनी एक्लै भए । विवाह पनि गरेका थिए । छोरी पनि थिईन् । विवाह पछि छोरीको निधन भयो । भाउजुको पनि निधन भए पछि दाजु विरक्त भएर घर छाडेर हिडें’–भाई भुपालले भने–‘मेरा पनि १० सन्तान छन् । मैले नै उनलाई कीर्तिपुरमा डेरा लिएर राखिदिएँ । एक्लो भएकाले उनी कहिले धुलिखेल, कहिले पाँचखाल, कहिले कता बस्न थालेका थिए । आवश्यक नभएकाले उनले कहिल्यै नागरिकता बनाउने प्रकृया शुरु गरेनन । राज्यले दिने जेष्ठ नागरिक भत्ता पनि नागरिकता नभएकै कारण पाउन सकेनन् । खर्च पनि भएन । पछिल्लो समय घाँटीमा घाउ थियो । हामी उपचार गराई दिन्छौ भनेका थियौं । जेष्ठ नागरिक भत्ता आयो भने खर्च हुन्छ भन्थे । नागरिकता बनाउने प्रयास धेरै पटक गरियो । वडा अध्यक्ष आफै पनि लागे । तर पनि नागरिकता बन्न सकेन । उनले आत्महत्या गरे ।’ भाई भुपालले भने मकवानपुरबाट नागरिकता लिएका थिए । 
    अभियन्ता राउत, हिमांकी भट्ट लगायत काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता प्राप्तिका लागि निवेदन दिनेहरुको ८६ वटा फाईल जिल्ला प्रशासनमा विविध कारण अड्किएको छ । ६० भन्दा धेरैले पेश गरेका आफ्ना कागजात सहितका फाईलहरु अदालत जान्छु, अर्काे प्रमुख जिल्ला अधिकारी आए पछि आउँछु भन्दै फिर्ता समेत लगेका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता सम्वन्धि धेरै समस्या रहेको बताईन् । ‘नागरिकता सम्वन्धि धेरै समस्या छन् । नागरिकता नै बन्न नसकेका एकाथरी समस्या छन् भने बनिसकेका नागरिकताको प्रतिलिपीमा अर्काे समस्या छ’–प्रमुख जिल्ला अधिकारी शर्माले भनिन–‘नागरिकलाई ढिलाई गरेर नागरिकता नदिने उद्देश्य छैन । प्रकृया पुगेकाहरुलाई नागरिकता उपलब्ध गराईएको छ । प्रमाण बुझ्नु पर्ने, कानूनी समस्या भएका केहि नागरिकताहरुको निर्णय हुन सकेको छैन ।’ 
    २०७३÷०७४ सालमा वितरण गरिएका नागरिकतामा आएको समस्याका कारण काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता प्राप्त गर्नु पर्ने बास्तविक जिल्लाबासीहरुले नागरिकता पाउन सकस भएको छ । त्यतिबेला केहि कर्मचारीहरुको समुहले गिरोह मार्फत ३ सय ५० जनालाई प्रति ब्यक्ति ३ लाख देखि ७ लाखसम्म र विदेशीको हकमा २५ लाखसम्म लिएर नागरिकता विक्री गरेको पक्राउ परेकाहरुले बयान दिएका छन् । विदेशी र स्वदेशकै गैह् जिल्लाबासीहरुले नक्कली कागजातका आधारमा सक्कली नागरिकता लिएको विषयमा कडाई गरिए पनि बास्तविक नागरिकहरुका बारेमा समयमै निर्णय हुन नसक्दा उत्पन्न समस्याले नागरिकहरुले थप हैरानी ब्यहोर्नु परेको गुनासो ब्यक्त गरेका छन् ।