पनौती/पनौती बसपार्कमा एनसिसी एल्मुनाई एशोसिएसनमा आवद्ध विद्यार्थीहरुले जनप्रतिनिधी, सुरक्षाकर्मी, संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणलाई आगलागि सम्वन्धी विपद् प्रतिकार्य अभ्यास तथा जनचेतना मुलक कार्यक्रम आयोजना गरेका छन् । जनचेतना कार्यक्रम प्रर्दशन गर्नु अघि बालबालिकाहरुले ¥याली आयोजना गरेका थिए ।
नेपाली सेना कालीजंग गण धुलिखेलले विपद् प्रतिकार्यमा एनसिसी तालिम प्राप्त बालबालिकाहरुलाई प्रशिक्षित गरेको थियो । ‘सानो गल्तिबाट ठुलो क्षति हुन नदिन विपद प्रतिकार्य सम्वन्धि जनचेतना आवश्यक छ’–एल्मुनाई एशोसिएसनकी अध्यक्ष इशा श्रेष्ठले भनिन–‘पनौती नगरपालिकाले आगलागि सम्वन्धि विपद् प्रतिकार्य अभ्यासका लागि सहजिकरण गरेको छ ।’ भान्सामा खाना पकाईरहँदा कराईबाट निस्कन सक्ने आगो नियन्त्रणका लागि छोप्ने ढकनी, कराई बाहिर लागेको आगो नियन्त्रण गर्न प्रयोग गर्न सकिने भिजेको कपडा वा कपडा लगायतका अन्य सामाग्रीको सहज प्रयोग, ग्याँस चुल्हो लिक हुँदा हुन सक्ने क्षति, ग्याँस चुल्हो र सिलिण्डर विच जोडिने पाईप, रेगुलेटर, सिलिण्डर बाहिर जलन हुन सक्ने पदार्थ हुँदा हुन सक्ने क्षतिका बारेमा एशोसिएसनमा सहभागि विद्यार्थीहरुले जानकारी गराएका थिए ।
त्यस्तै कोठा भित्र आगलाी हुँदा बच्ने उपाय, बाथरुमको प्रयोग, बाथरुम भित्र हुने जोखिम न्यूनिकरणका लागि सहज रुपमा श्वास प्रश्वासका लागि धाराको पानी जान प्रयोग गरिएको पाईप प्रयोग गर्ने तरिका, आँखामा हुन सक्ने पिराबाट बच्न गिलासको प्रयोग, कचौरा लगायत भान्सामा हुने अधिकांश सामानहरुको प्रयोगबाट जोखिम न्यूनिकरण गर्न सकिने बताएका थिए । त्यस्तै अग्नि नियन्त्रणका लागि राखिएका सिलिण्डिहरुको सहि प्रयोगका बारेमा समेत विद्यार्थीहरुले जानकारी गराएका थिए । नेपाली सेना कालीजंग गणले बर्षातको समयमा खोला किनार तथा नदी, बाढिपहिरो लगायतका जोखिम र विपद्बाट बच्ने अभ्यास गराएको छ भने आगलागी हुँदा आगो नियन्त्रण र आगोबाट जोखिममा परेकाहरुको सहज उद्दारका लागि समेत अभ्यास गराएको छ । स्थानीय तहका कर्मचारीहरुलाई समेत तालिम दिएर कालीजंग गणले विपद् प्रतिकार्यको पुस्तक समेत प्रकाशन गरी उपलब्ध गराएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयमा संचालन भएको एनसिसी तालिममा सहभागि विद्यार्थीहरु मार्फत समुदायमा विपद् प्रतिकार्यका जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्न सकिने गरी प्राविधिक ज्ञान उपलब्ध गराईएको कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताए । ‘एनसिसी एल्मुनाईमा आवद्ध बालबालिकाहरुलाई विपद् प्रतिकार्य सम्वन्धि तालिम उपलब्ध गराएका छौं’–प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने–‘पहिलो पटक विद्यार्थीहरुले पनौती नगरपालिकाको बसपार्कमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् । जिल्लामा भएका अन्य स्थानीय तहसँगको समन्वयमा यस्ता कार्यक्रमहरु संचालन गर्न सकिने गरी अभ्यास गराईएको छ ।’ जिल्लामा पहिलो पटक पनौती नगरपालिकाको समन्वयमा उक्त अभ्यास आयोजना गरिएको हो ।
एल्मुनाई एशोसिएसनमा इशा श्रेष्ठको नेतृत्वमा आयुष लेन्डुप लामा, विज्ञान तामाङ, सुप्रिया पराजुली, मोनिका तिमल्सिना, तेन्जिङ वङमो तामाङ, वर्षा सुवाल, सुधा सुवेदी, विपल गिरी, महेश प्रधान श्रेष्ठ, सुभेच्छा दनुवार, सुजन परियार, रामु रायमाझी, निर्मला रायमाझी, आयुषा भुजेल, जेनिफर यगोल श्रेष्ठ, जया मंग्रान्ति लगायत आवद्ध छन् । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंह, वडा अध्यक्षहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको कार्यक्रममा सहभागिता थियो । सहभागिहरु आफैले पनि आगलागि नियन्त्रणका लागि अभ्यास गरेका थिए ।









