तीनखुट्टे, महाभारत/सडक सम्पर्क नै नभएर विकट मानिदै आएको महाभारत गाउँपालिकाको तीनखुट्टे देवीटार सडक खण्डको ८.७ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैयाँ खर्च गर्ने गरी २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको सडकको शिल्यान्यास गरिएको छ ।
महाभारत गाउँपालिकाले विकटतालाई सुगमतामा परिणत गर्न सडक सञ्जालको प्रमुख योजनाका लागि बागमती प्रदेश सरकारसँग पटक पटक अनुरोध गरेको थियो । बागमती प्रदेश सरकारले रोशी गाउँपालिकाको पिंगथली रजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चारकिल्ला तीनखुट्टे देवीटार घर्तिछाप गोकुले सडक निर्माणका लागि बहुबर्षिय योजनामा समावेश गर्ने गरी ५० करोड रकम विनियोजन गरेको थियो । उक्त रकमबाट आवश्यक इस्टमेट अनुसार बोलपत्र आब्हान भए सँगै निर्माण कम्पनीले ३७ प्रतिशत कम रकममा ठेक्का सम्झौता भएको हो । कन्टिजेन्सी समेत ४० करोड रकम महाभारत गाउँपालिकाको तीनखुट्टे देवीटार सडक खण्डका लागि खर्च हुने भएको छ । ‘महाभारतका नागरिकहरुको सडक सञ्जाल जोड्ने र नियमित रुपमा आवतजावत गर्ने सपना पुरा हुने भएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘पक्की सडक निर्माण भएपछि महाभारत क्षेत्रको विकास र समृद्धि हासिलमा थप मद्दत पुग्नेछ ।’ स्थानीय सरकार निर्वाचित भए लगत्तै महाभारत पुग्ने विभिन्न सडकहरु निर्माण भए पनि वर्षातको समयमा बन्द हुँदै आएका थिए । ‘हिउँद र वर्षात १२ महिना नै सडकबाट ओहोरदोहोर गर्न कठिन हुँदैन’–अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘महाभारत क्षेत्रमा सडक कालोपत्रे हुने कुराले नागरिकहरुमा आशाको सञ्चार जगाएको छ ।’
तीनखुट्टे देवीटार सडक खण्डमा सडक स्तरोन्नति अन्र्तगत नाली निर्माण, रिटेनिङ्ग वाल, ग्याविङ्ग वाल, कजवे, कल्भर्ट लगायतका संरचना सँगै ३० एमएमको कालोपत्रे गरिनेछ । पार्वती, खानी र बनखु खोलामा दुईवटा पक्की पुल निर्माणका लागि थप रकम बागमती प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले प्रतिवद्धता ब्यक्त गर्नुभयो । सडक शिल्यान्यास गर्दै मन्त्री फुँयालले बागमती प्रदेश सरकारले महाभारत लगायत विकट गाउँपालिका र शहरी क्षेत्रका नगरपालिकाहरुको विकास निर्माणका लागि निराश नबनाउने बताउनु भयो । मन्त्री फुँयाललाई गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले महाभारत गाउँपालिकाको विकासका लागि ६ वटा मागहरु पेश गर्नु भएको थियो । महाभारत पुग्ने पिन्थली रजवास तीनखुट्टे देवीटार घर्तिछाप गोकुले सडक आयोजनाको बाँकी सडक कालोपत्रे गर्न, सिपाली बुढाखानी बनखु सडकको स्तरोन्नतीका लागि बजेट ब्यवस्था गर्न, ताराखसे रज्जेडँडा गोकुले सडक आयोजना, राङचा वनखु घर्तिछाप गोकुले ताल्ढुंङ्गा मिल्चे सडक स्तरोन्नती गर्न, पार्वतीखोला, खानीखोला र तीनखुट्टै खोला पुल निर्माण गर्न र वनखुखोला पुल, देवीटार निर्माणको लागि बजेट ब्यवस्थापन गर्न अध्यक्ष जिम्बाले मन्त्री फुँयाललाई लिखित मागपत्र पेश गर्नु भएको थियो ।
मन्त्री फुँयालले महाभारत गाउँपालिकाको विकासका लागि बागमती प्रदेश सरकारले आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । जिल्लाका प्रदेश सभा सदस्यहरुसँगको समन्वय र परामर्शमा आवश्यक थप योजनाहरुका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री फुँयालले बताउनु भयो । पिन्थली रजवास चारकिल्ला तिनखुट्टे देवीटार छर्तिछाप गोकुले सडक २५ किलोमिटर छ । त्यसमध्येको दोश्रो खण्डमा कालोपत्रेको कार्य शुरु भएको छ भने पहिलो खण्डमा १ करोड २० लाख रकम विनियोजन भएको छ । पहिलो खण्डको भूमिचुलीसम्म सडक स्तरोन्नतीका लागि १ करोड खर्च हुने छ भने भुमिचुलीबाट बुढखानी तिनखुट्टेसम्म २० लाख रकम खर्च हुने पूर्वाधार विकास कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताउनु भयो । पिन्थली देखि भूमिचुलीसम्मका नागरिकहरुका लागि पनि सडक कालोपत्रे हुने कुरामा ढुक्क रहन मन्त्री फुँयालले अनुरोध गर्नु भयो ।
सडक शिल्यान्यास कार्यक्रममा पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ्ग, संघीय सांसद् गंगाबहादुर दोङ्ग, संविधान सभा सदस्य रामहरी सुवेदी, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, गाउँपालिका उपाध्यक्ष चेतकुमारी माझी, नेकपा बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ्ग, नेकपा नेताहरु दैवलाल घिसिङ्ग, सुजन लामा, राजकुमार कुँवर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष कान्छामान जिम्बा लगायतले डाँडापारी क्षेत्रको विकासका लागि तीन तहकै सरकारको सक्रियता र नागरिकहरुको निरन्तरको खबरदारी रहेको बताएका थिए । स्थानीय सरकारका प्रमुख कान्छालाल जिम्बालाई सहभागीहरुले कालोपत्रे सडक तथा अन्य संरचना निर्माणमा गरेको सक्रियताका लागि धन्यवाद दिएका थिए । सडक नहुँदा विरामीहरुलाई सहज उपचारमा ल्याउन कठिन थियो । यो वर्ष मात्रै ७ जना विरामीलाई हेलिकप्टर मार्फत उपचारका लागि अस्पताल लगिएको थियो । सबैका लागि यो सहज थिएन ।
काभ्रे बसको सेवा शुरु
काभ्रे बस प्रालिले महाभारत क्षेत्रमा बस सेवा शुरु गरेको छ । पिन्थली रजबास, भुमिचुली, बुढाखानी तीनखुट्टे हुँदै विभिन्न क्षेत्रमा बस सेवा शुरु गरेको अध्यक्ष वर्ण शाक्यले बताउनु भयो । बस सेवा शुभारम्भका लागि समितिको टोली महाभारत पुगेको थियो । मन्त्री फुँयाल, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा लगायतको टोलीले बस सेवाको शुभारम्भ गरेका थिए ।









