७३ दिनमा ६५ करोड संकलन
धुलिखेल/आन्तरिक राजश्व कार्यालय धुलिखेलमा कर बुझाउन आउने नागरिकहरुको उत्साह थपिएको छ । सरकारले खरिद, विक्री तथा भुक्तानीका लागि अनिवार्य पान नम्वर लिनु पर्ने ब्यवस्था गरे सँगै नागरिकहरुको कर कार्यालयमा भिड लागेको हो । पान नम्वर लिन, कर चुक्ता गर्न तथा अन्य विभिन्न सेवाका लागि मोबाईलबाटै विवरण भर्न र लिन सकिने ब्यवस्था गरेसँगै नागरिकहरुलाई सहज हुन थालेको छ ।
‘प्रविधि मैत्री कर प्रणालीका लागि नागरिकहरुको अभ्यास शुरु भएको छ’–आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कर अधिकृत डम्मरु प्रसाद पराजुलीले भन्नुभयो–‘कार्यालयले कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी नागरिकहरुलाई एक पटक फाईल बुझाए पछि कार्यालयका विभिन्न कोठामा पुग्नु नपर्ने, कार्यालय परिसरमै बैंकको सुविधा, अनलाईनबाट विवरण भर्ने, पान नम्वर लिन सकिने र कर चुक्ता लगायतका कार्यहरु गर्न सकिने ब्यवस्था गरेकाले उत्साह थपिएको छ ।’ लकडाउनका कारण अघिल्लो आर्थिक वर्ष लक्ष्य भन्दा कम राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयले चालु वर्षको साँढे २ महिनामा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ । आर्थिक वर्षको शुरुवातमै कोरोना भाईरसका कारण लकडाउन भई सेवा बन्द गर्नु परे पनि कार्यालयले अत्यावश्यक सेवालाई सूचारु गरेको थियो । सेवा निरन्तर भएकै कारण नागरिकलाई सहज र कार्यालयले लक्ष्य भन्दा धेरै राजश्व असुली गर्न सम्भव भएको हो । नागरिकहरु कर तिर्न उत्साहपूर्वक कार्यालय धाईरहेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ असोज १३ गतेसम्म कार्यालयले विभिन्न शिर्षकबाट ६५ करोड ४७ लाख ७० हजार राजश्व संकलन गरिसकेको छ । असोज मसान्तसम्मको कार्यालयको लक्ष्य ५२ करोड ४२ लाख ४४ हजार थियो । आयकरमा २५ करोड ५७ लाख ४१ हजार राजश्व संकलन भएको छ भने १ करोड ७० लाख ३६ हजार घरभाडा कर संकलन भएको छ । ब्याज बापत ६ करोड ७० लाख ४१ हजार, भ्याट २६ करोड ९५ लाख ७६ हजार रुपैयाँ संकलन भएको छ । अन्तःशुल्क बापत ४ करोड ५३ लाख ६४ हजार रकम जम्मा भएको छ । स्वास्थ्य कर १० हजार र शिक्षा कर २ हजार रुपैया जम्मा भएको आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख डम्मरु प्रसाद पराजुलीले जानकारी दिनु भयो । प्रतिशतका आधारमा ७३ दिनको राजश्व संकलन १ सय २५ प्रतिशत भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाबाट २ अर्ब ७८ करोड ६ लाख ५३ हजार २ सय ४४ रुपैयाँ राजश्व संकलन भएको थियो । संघीय सरकार अन्र्तगत २ अर्ब ७५ करोड १ लाख ३३ हजार २ सय १९ रुपैयाँ जम्मा भएको छ भने प्रदेश सरकार अन्र्तगत ३ करोड ५ लाख १९ हजार ९ सय ४४ रुपैयाँ आम्दानी भएको थियो । आन्तरिक राजश्व कार्यालय काभ्रेले २ अर्ब ४१ करोड १२ लाख ४१ हजार २ सय ६७ रुपैयाँ राजश्व संकलन गरेको छ । संघीय सरकार अन्र्तगतका ३३ र प्रदेश सरकार अन्र्तगतका १३ वटा कार्यालयले राजश्व दाखिला गरेका थिए । आन्तरिक राजश्व कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका करदाताहरुबाट २ अर्ब ७८ करोड ५४ लाख ६६ हजार रुपैया राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा उक्त कार्यालयले २ अर्ब ३५ करोड ३५ लाख १८ हजार रुपैया संकलन गरेको थियो । प्रतिशतका आधारमा अघिल्लो आर्थिक वर्ष भन्दा २०७६÷०७७ मा १८ प्रतिशत धेरै राजश्व संकलन गरेको भए पनि लक्ष्यमा पुग्न सकेको थिएन । राजश्व उठाउने लक्ष्य भन्दा कम अर्थात ८४.१९ प्रतिशत मात्रै राजश्व संकलन भयो । जिल्लाको हकमा उक्त कार्यालयले २ अर्ब ४२ करोड राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्ष शुरु देखि नै दोलखा र रामेछापमा राजश्व सेवा कार्यालय खुल्ने तयारी भए पनि कोभिड र अन्य कारण सम्भव भएन । दशै अगावै कार्यालय खुल्ने गरी तयारी गरिएको कार्यालय प्रमुख पराजुलीले जानकारी दिनु भयो ।
७९ हजार ८ सय ७४ करदाता
करदाताहरुको संख्या थपिए पनि अझै थुप्रै सेवाग्राहिहरु कर कार्यालयको दायरा भन्दा बाहिर छन् । आन्तरिक राजश्व कार्यालय धुलिखेलमा चारवटा जिल्लाका गरी ७९ हजार ८ सय ७४ करदाता दर्ता भएका छन् । शिक्षा क्षेत्रबाट कर बुझाउने १ सय ५ जना मात्रै छन् । जिल्लामा मात्रै थुप्रै शैक्षिक संस्था छन् तर कर बुझाउने शैक्षिक संस्थाको संख्या कम छ । अन्तःशुल्कमा सहभागि हुने ब्यवसायीहरुको संख्या १ हजार ५ सय २६ रहेको छ । थुप्रै ब्यवसायी रहे पनि अन्त शुल्कमा सहभागि भएका छैनन् । ४० हजार ७ सय ६० जनाले आयकर बुझाएका छन् । ३१ हजार ४ सय ६७ जनाले ब्यक्तिगत स्थायी लेखा नम्वर प्राप्त गरेका छन् । ५ हजार ४ सय ९३ ब्यवसाय भ्याटमा दर्ता भएका छन् । ४ सय ७४ वटा सरकारी कार्यालय करमा दर्ता भएका छन् । अधिकांश क्षेत्रमा दर्ता भएका भन्दा धेरै सेवाग्राहि करको दायरा भन्दा बाहिर छन् ।









