नेपालमा राजनीतिक परिवर्तनको इतिहास लामो छ, तर आर्थिक रूपान्तरणको इतिहास त्यति सन्तोषजनक छैन। २००७ सालदेखि आजसम्म हामीले धेरैपटक राजनीतिक व्यवस्था परिवर्तन गर्यौँ। सत्ता फेरियो, संविधान फेरिए, नेतृत्व फेरियो, राजनीतिक नाराहरू फेरिए। तर जनताको आधारभूत आकांक्षा भने धेरै हदसम्म उही छ रोजगारी, राम्रो शिक्षा, गुणस्तरीय स्वास्थ्य, सम्मानजनक आम्दानी, सुरक्षित भविष्य र देशमै सम्भावना। यहीँबाट नेपालको मूल विडम्बना सुरु हुन्छ। हामीले राजनीतिको ‘लेभल’ धेरैपटक परिवर्तन गर्यौँ, तर विकासको ‘लेभल’ अपेक्षित गतिमा परिवर्तन गर्न सकेनौँ ।
आज हामी २०८३ सालमा छौँ। तर विकासको बहस सुन्दा कहिलेकाहीँ लाग्छ, हामी अझै पनि दशकौँ अघिको प्रश्नको उत्तर खोजिरहेका छौँ। सडक चाहियो, रोजगारी चाहियो, उद्योग चाहियो, सुशासन चाहियो, लगानी चाहियो, युवालाई देशमै रोक्नुपर्यो यी सबै कुरा दशकौं दशक अघिदेखिकै प्रश्न हुन् कहिलेसम्म हामी आवश्यकताको सूची मात्र तयार गरिरहने? हामीलाई यी समस्याहरूको सूची होइन, विकास र समृद्धिको छलाङ चाहिएको छ। तथ्यांकले त भन्छ नेपाल अगाडि बढेको छ, तर पर्याप्त गतिमा होइन नेपालले केही नगरेको होइन। सन् १९९० अर्थात् २०४७ साल आसपास नेपालको कुल न्म्ए करिब ३.६ अर्ब अमेरिकी डलर थियो। अहिले यो करिब ४५ अर्ब डलरभन्दा माथि पुगेको छ। प्रतिव्यक्ति न्म्ए पनि सन् १९९० को करिब १८६ डलरबाट पछिल्लो उपलब्ध तथ्यांकमा करिब १,५०० डलरभन्दा माथि पुगेको छ। यसबीच नेपालको सडक सञ्जाल विस्तार भएको छ, विद्युत् उत्पादन बढेको छ, सञ्चार प्रविधिले गाउँ–गाउँ छोएको छ, शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार भएको छ। मोबाइल र इन्टरनेटले संसारलाई नेपालीको हात हातमा ल्याइदिएको छ तर यही गतिको प्रगतिले अर्को गम्भीर प्रश्न पनि जन्माएको छ।
यदि नेपाल साँच्चै पर्याप्त गतिमा समृद्ध भइरहेको छ भने देशका युवाले आफ्नो भविष्यको ठूलो सपना किन आफ्नो जन्मभूमि भन्दा बाहिर देख्छन्? यो प्रश्नलाई देशप्रेमको चश्माले मात्र हेरेर पुग्दैन। विदेश जान खोज्ने युवालाई ‘देश छाड्ने’ भनेर दोष दिन सजिलो छ तर उसले देश किन छाड्न खोजिरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न कठिन छ। संसार अब कुनै पनि निश्चित भूगोल भित्र रोकिँदैन हिजो मानिसको अवसर उसको गाउँ, जिल्ला वा देशको सीमाभित्र सीमित हुन्थ्यो। आज त्यस्तो छैन। सूचना प्रविधि तथा इन्टरनेटले संसारलाई एउटा बजार बनाएको छ। AI ले काम गर्ने तरिका नै परिवर्तन गरिरहेको छ। एउटा नेपाली युवाले काठमाडौंमा बसेर अमेरिकाको कम्पनीका लागि काम गर्न सक्छ। नेपालमै बसेर संसारलाई सफ्टवेयर बेच्न सक्छ। डिजाइन, परामर्श, डिजिटल मार्केटिङ, प्रोग्रामिङ, शिक्षा र अनेकौँ सेवाबाट विदेशी आम्दानी गर्न सक्छ। अर्कोतर्फ, यही विश्वव्यापीकरणले नेपाली युवालाई संसारका विकसित देशमा उपलब्ध जीवनस्तर त्यहाँको भौतिक प्रगति पनि प्रत्यक्ष देखाइदिएको छ। अझ भन्दा लोभ्याइरहेको छ। त्यसैले अब केवल ‘हाम्रो देश राम्रो छ, यो हाम्रो जन्मभूमि हो। यहीँ बस’ भनेर युवालाई रोक्न सकिँदैन। देशले युवालाई रोक्ने होइन, अवसरले युवालाई नेपालमै बस्न आकर्षित गर्ने वातावरण बनाउनुपर्छ। यही नै अहिलेको अत्याधुनिक राष्ट्रवाद हो। अहिलेसम्म हामीले राजनीतिक परिवर्तन धेरै, आर्थिक रूपान्तरण कम भएको देखेका छौं। २००७ सालमा हामीले राजनीतिक परिवर्तन गर्यौँ। २०४७ सालमा अर्को ठूलो परिवर्तन भयो। २०६२÷६३ पछि मुलुकले अझ गहिरो राजनीतिक रूपान्तरण भोग्यो तर हरेक परिवर्तनपछि विकासको बहस फेरि आधारभूत आवश्यकतामै फर्कियो। हामीले राजनीतिक अधिकारको विस्तारलाई ठूलो उपलब्धिका रूपमा स्वीकार गर्नुपर्छ। लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार आफैँमा महत्वपूर्ण उपलब्धि हुन् तर लोकतन्त्रको महत्त्वपूर्ण उद्देश्य केवल नागरिकलाई बोल्ने अधिकार दिनु मात्र कदापि होइन। लोकतन्त्रले नागरिकको जीवनमा परिणाम पनि दिनुपर्छ। नागरिकले स्वतन्त्र रूपमा बोल्न पाउँछ, तर काम पाउँदैन भने त्यहाँ समस्या बाँकी रहन्छ। मतदान गर्न पाउँछ, तर गुणस्तरीय शिक्षा र स्वास्थ्य पाउँदैन भने त्यहाँ प्रश्न बाँकी रहन्छ। देशमा बस्न पाउँछ, तर आफ्नो क्षमताअनुसार भविष्य निर्माण गर्न सक्दैन भने उसले संसारको अर्को कुनातिर हेर्न थाल्छ। त्यसैले अब लोकतन्त्रको दोस्रो चरण ‘परिणामको अर्थात् विकास, समृद्धिको चरण हुनुपर्छ। त्यसका लागि कुनै एउटा नायक होइन प्रणाली स्थापित हुनुपर्छ। सिंगापुर व्यक्तिले होइन, प्रणालीले बनायो हामी सिंगापुरको विकासको चर्चा गर्दा ली क्वान यूलाई सम्झन्छौँ। उनको नेतृत्व र दृष्टिकोणको भूमिका महत्वपूर्ण थियो तर सिंगापुर केवल एउटा व्यक्तिको कारण विकसित भएको होइन। उसले सक्षम प्रशासन, दीर्घकालीन योजना, मानव पूँजी, शिक्षा, पूर्वाधार, कानुनी शासन, व्यापारिक वातावरण, लगानी र अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्धलाई एकसाथ अगाडि बढायो। सन् १९९० मा सिंगापुरको प्रतिव्यक्ति न्म्ए करिब ११,८६० अमेरिकी डलर थियो। २०२४ मा यो करिब ९४,९०० डलर पुगेको विश्व बैंकको तथ्यांक छ।
नेपाल र सिंगापुरको तुलना पूर्ण रूपमा समान हुन सक्दैन। सिंगापुरको भूगोल, जनसंख्या र आर्थिक संरचना फरक छ तर त्यसबाट एउटा महत्वपूर्ण पाठ लिन सकिन्छ नेतृत्वले दिशा दिन्छ, तर प्रणालीले विकासलाई निरन्तरता दिन्छ। नेपाललाई पनि आज यही चाहिएको छ। नेपालले अब विकासलाई मात्र पुल, सडक र भवनको संख्याबाट मापन गर्नु हुँदैन। एउटा सडक बनेपछि त्यसले कति उत्पादन बढायो? एउटा विमानस्थल बनेपछि त्यसले कति पर्यटन र रोजगारी बढायो? एउटा जलविद्युत् आयोजना बनेपछि त्यसले कति उद्योग जन्मायो?
एउटा विश्वविद्यालय खुलेपछि कति विश्वस्तरीय जनशक्ति उत्पादन भयो? यिनै प्रश्न विकासका नयाँ सूचक बन्नुपर्छ।
अबको नेपालले पाँचवटा क्षेत्रमा तीव्र गति लिनैपर्छ।
पहिलो—ऊर्जा। जलविद्युत्लाई केवल बिजुली बेच्ने माध्यम होइन, औद्योगिकीकरणको आधार बनाउने।
दोस्रो—कृषि। निर्वाहमुखी कृषिलाई प्रविधि, सिँचाइ, प्रशोधन, भण्डारण र निर्यातसँग जोड्ने।
तेस्रो—पर्यटन। पर्यटकको संख्या मात्र होइन, प्रतिपर्यटक आम्दानी बढाउने।
चौथो—डिजिटल अर्थतन्त्र। ब्क्ष्, क्ष्त्, सफ्टवेयर, डिजिटल सेवालाई रोजगारीको नयाँ अवसर बनाई राष्ट्रिय निर्यातको
महत्त्वपूर्ण पाटो बनाउने।
पाँचौँ—उद्योग र निर्यात आयात गरेर उपभोग गर्ने अर्थतन्त्रबाट उत्पादन गरेर संसारलाई बेच्ने अर्थतन्त्रतर्फ जाने।
विश्व बैंकले पनि नेपालको उच्च आर्थिक वृद्धिका लागि उत्पादकत्व, निजी लगानी, निर्यात, पर्यटन, जलविद्युत्, डिजिटल सेवा र संस्थागत सुधारलाई महत्वपूर्ण क्षेत्रका रूपमा औँल्याउँदै आएको छ। अब हामीले १५–२० वर्षको ’राष्ट्रिय रूपान्तरण योजना’ किन नबनाउने? नेपालमा सरकार परिवर्तनसँगै प्राथमिकता परिवर्तन हुने समस्या पुरानो हो।
अब राजनीतिक दलहरूबीच एउटा न्यूनतम राष्ट्रिय विकास सहमति आवश्यक छ। सरकार जुनसुकै दलको होस्—ऊर्जा, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, पर्यटन, डिजिटल अर्थतन्त्र र प्रशासन सुधारका निश्चित लक्ष्य कसैले पनि नवदल्ने हुनुपर्दछ। पहिलो पाँच वर्ष—संस्था र आधार निर्माण गर्ने अर्को पाँच वर्ष—उत्पादन र रोजगारीको तीव्र विस्तार गर्ने त्यसपछिको ५–१० वर्षभित्र निर्यात, प्रविधि र उच्च उत्पादकत्वमा छलाङ मार्ने।
यस्तो लक्ष्यलाई केवल सरकारले आफ्नो कार्यक्रम मात्र होइन, राष्ट्रिय परियोजना बनाउनुपर्छ। नेपालमा हामी प्रायः एउटा ‘ठूलो नेता’ अथवा कुनै फिल्मको नायक जस्तै त्यस्तो व्यक्ति आएपछि सबै कुरा परिवर्तन हुन्छ भन्ने अपेक्षा गर्छौँ। राष्ट्र
निर्माण व्यक्तिको जादु वा करिश्माले मात्र हुन सक्दैन। एउटा व्यक्तिले विचार दिन सक्छ। दृष्टिकोण दिन सक्छ। विकासको खाका कोर्न सक्छ। तर त्यसलाई कार्यान्वयन गर्ने कर्मचारीतन्त्र चाहिन्छ। निजी क्षेत्र चाहिन्छ। दक्ष श्रमिक चाहिन्छ। जिम्मेवार नागरिक चाहिन्छ। स्थिर नीति चाहिन्छ। लगानी चाहिन्छ। राजनीतिक सहमति चाहिन्छ त्यसैले देशलाई नायकभन्दा बढी सक्षम प्रणाली चाहिन्छ। यसका लागि सुधार सरकारबाट मात्र होइन, कर्मचारीतन्त्रबाट पनि हुनुपर्छ। कर्मचारीतन्त्रबाट मात्र होइन, निजी क्षेत्रबाट पनि हुनुपर्छ। निजी क्षेत्रबाट मात्र होइन, नागरिकबाट पनि हुनुपर्छ। कर तिर्ने नागरिकदेखि नियम बनाउने सरकारसम्म सबैले आफ्नो भूमिका कुशलतापूर्वक निभाउनुपर्छ। अब देशप्रेमको अर्थ पनि बदल्नुपर्छ। आज विदेश गएको नेपालीलाई हेयको दृष्टिकोणले हेर्ने र नेपालमै बसेकोलाई मात्र राष्ट्रवादी ठान्ने सोचले समस्या समाधान गर्दैन। देशप्रेमको एउटा आधुनिक अर्थ यस्तो पनि हुन सक्छ जहाँ नेपालीको प्रतिभाले संसारमा जहाँसुकै जोसुकैसँग प्रतिस्पर्धा गर्न सक्छ अझ नेपालमै बसेर संसारका लागि काम गर्न वातावरण बनाउन सक्यो भने देशको लागि त्योभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन। हाम्रो उद्देश्य नेपालीलाई संसार जानबाट रोक् लगाउने होइन। हाम्रो लक्ष्य यस्तो नेपाल बनाउनु हो, जहाँ संसार जाने विकल्प भए पनि नेपालमै बस्ने निर्णय गर्न सकिने पर्याप्त अवसर होस्। यदि नेपाली युवाले नेपालमै बसेर विश्व बजारमा काम गर्न सक्छ भने त्यो पक्कै पनि नेपालको हितको विषय हो। अब निर्णय गर्ने समय आएको छ हामीसँग अबको अर्को दशक पनि पुरानै शैलीमा बिताउने सुविधा छैन। किनभने संसारले पर्खिरहेको छैन। प्रविधिले पर्खिरहेको छैन। विश्व बजारले पर्खिरहेको छैन।यहाँसम्म कि आफ्नै देशका युवाले समेत पर्खिरहेका छैनन्। अब हामीले तय गर्नुपर्छ—अर्को १५–२० वर्ष पनि ‘विकास गर्दैछौँ’ भनेर बिताउने कि विकासको गतिमा तिव्र परिवर्तन गर्ने? नेपाललाई अब अर्को राजनीतिक क्रान्तिभन्दा पनि उत्पादन, प्रविधि, सुशासन र संस्थागत क्षमताको क्रान्ति आवश्यक छ। हामीले लोकतन्त्र पाएका छौँ। अब त्यसको परिणाम देखाउनुपर्छ। हामीसँग प्राकृतिक स्रोत छन्। अब त्यसलाई आर्थिक शक्तिमा बदल्नुपर्छ। हामीसँग जलस्रोत छ। अब त्यसलाई उद्योगमा बदल्नुपर्छ। हामीसँग हिमाल, पहाड, संस्कृति र सम्पदा छन्। अब त्यसलाई दिगो पर्यटन र रोजगारीमा बदल्नुपर्छ। हामीसँग युवा जनशक्ति छ अब त्यसलाई प्रयोग गरेर देशलाई विकसित मुलुकमा परिवर्तन गर्नुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा—हामीसँग समय अझै छ। तर समय धेरै छैन।
त्यसैले अब पनि ‘जिरो लेभल’बाटै समृद्धिको सपना देखिरहने कि विकासको गतिमा उडान भर्ने? नेपाललाई अब परिवर्तनको मिठो नारा होइन परिणामको अर्को युग चाहिएको छ। अब क्रमिक विकासमा सन्तुष्ट हुने होइन परिवर्तनकारी विकासको उडान भर्ने र संसारका विकसित मुलुक सँगैअगाडि बढ्ने हातेमालो गर्ने अठोट चाहिएको छ।









