धुलिखेल/काभ्रे सेवा समाज, काभ्रेले नेपालका शैक्षिक शिरोमणि एवं काठमाण्डौं विश्वविद्यालयका संस्थापक उपकूलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा ‘काभ्रेपलाञ्चोक जिल्लामा प्राविधिक शिक्षालयको आवश्यकता, चुनौती र समाधान’ को उपाय विषयक एक दिवसीय कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रममा समाजका कार्य समितिका पदाधिकारी, शिक्षासेवी, सामाजिक अभियन्ता, साहित्यकार एवं पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यशालामा काठमाण्डौं विश्वविद्यालयका उपप्रधाध्यापकद्वय रेश्मा श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठले विश्व बजार, नेपाली बजार तथा स्थानीय काभ्रेली बजारको विस्तृत तवरले समीक्षा गर्दै समसामयिक र स्तरीय कार्यपत्र प्रस्तुत गरेका थिए । विश्वमा प्रचलित सफल प्राविधिक शैक्षिक प्रणालीका साथ नेपालको सन्दर्भमा मध्यमस्तरका अतिरिक्त इच्छुकलाई उच्चस्तरको शिक्षा समेत संभव हुने विषयमा जोड दिनु पर्ने बताए । कार्यपत्र प्रस्तोताद्वयले काभ्रेको सन्दर्भमा काभ्रे टेक्निकल ट्रेनिङ्ग सेन्टरसँग सम्बन्धित एसडब्लुओटी विश्लेषणका साथ काभ्रेमा कृषि, अटोमोबाइल, भूमि व्यवस्थापन, वागवानी, पशुपालन, मेशिनरी आदिसँग संबन्धित प्राविधिक शिक्षालयको संभावना औंल्याउदै काभ्रेका स्थानीय तहले व्यक्तिगत वा सामूहिक रुपमा यसमा आवश्यक पहल गरी बजार सहज बिक्री हुने उच्च वेतनभोगी मानवीय पूँजी निर्माणमा गम्भीर हुनुपर्ने तथ्य औंल्याए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल एवं केयूका विज्ञान संकायका डिन प्रो.डा.कन्हैया झा, केयूकै व्यवस्थापकीय निर्देशक मुकुन्द शर्मा विशेष अतिथि थिए । काभ्रे सेवा समाजका अध्यक्ष केशव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष प्रल्हाद के.सी.ले स्वागत मन्तव्य राखेका थिए । महासचिव निभराज जोशीद्वारा संचालित उक्त कार्यक्रममा कार्यशालाको व्यवस्थापकीय कार्यको संयोजन कार्य समितिका सदस्य शिवप्रताप कार्कीले गरेका थिए । कार्यपत्र उपर छलफल गर्दै सहभागीले काभ्रेपलाञ्चोक जिल्ला दिनानुदिन शैक्षिक हब बन्दै गएकोले आधारभूत, माध्यमिक तहका अतिरिक्त स्नातक तहको प्राविधिक शिक्षा दिने शिक्षालयहरुको स्थापनाले सुनमा सुगन्ध हुने बताउँदै स्थानीय स्तरमा रोजगारी सिर्जना, आयस्तरमा वृध्दि गर्दै आत्मनिर्भर अर्थतन्त्र मार्फत समृध्दि सिर्जना गर्न प्राविधिक शिक्षालयबाट ठूलो योगदान पुग्ने तथ्य महशुस गर्दै स्थानीय तहलाई विशेष पहल गर्न र स्थापित संस्था स्वयममा आत्मनिर्भर र सक्षम नबनुन्जेल केयूलाई अभिभावकत्व ग्रहण गरि सहयोगका लागि आग्रह गर्न पनि सुझाव दिएका थिए ।





