2026 April 17/ 01:57: 00pm

    धुलिखेल/धुलिखेल नगरपालिकालाई स्वच्छ र हराभरा बनाउन ५२ हप्ते सरसफाई अभियान अन्र्तगत तेसो हप्ताको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । तेस्रो अभियानको शुभारम्भ वडा नं ११ का वडा अध्यक्ष विष्णु धितालले गरेका थिए ।
    सरसफाई अभियानमा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, शिक्षक, विद्यार्थी, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगरपालिकाका सबै वडाहरुमा सरसफाई गर्ने र वातावरण मैत्री नगर बनाउने उदेश्यले  सरसफाई अभियान गरिएको हो । नगरपालिकाले नगरसँगै विद्यालयलाई पनि वातावरण मैत्री बनाउने अभियान शुरु गरेको छ । विद्यार्थीहरु भविष्यका कर्णधार भएकोले उनिहरुलाई वातावरण तथा सरसफाईमा जागरुक गराउनु समाजलाई चेतनशिल बनाउनु भएकाले विद्यालय स्तरमा पनि उक्त अभियान शुरु गर्ने तयारी गरिएको हो । नगरपालिकाले वातावरण संरक्षण ग्रीन शहर बनाउन, सफा र सुन्दर हाम्रो धुलिखेल नमुना शहरको परिकल्पना गर्न, प्रकृतिको सौन्दर्य र पर्यावरण संलग्न हुन,  पुर्खाले छोडि गएका संस्कृति र ऐतिहासिक सम्पदाहरुलाई संरक्षण गर्न, सभ्य र सचेत नागरिकको परिचय आफै वसेको शहर र नगरले पहिचान गराउन, पर्यटन विकासमा सुधार ल्याउन, नगरवासीहरुको स्वास्थ्यमा ध्यान राख्न, नगरको विकास कार्यक्रममा सहभागिता बढाउन, विकास निर्माणमा अग्रसर गर्न, स्थानीय स्तरमा वातारण संरक्षणमा प्रतिष्पर्धात्मक कार्यमा अग्रसर गराउन ग्रिन क्लव गठन गर्ने योजना बनाईएको छ । त्यस्तै बालबालिका र समुदायलाई ब्यक्ति, घरायसी, र वातावरणीय सरसफाई तथा स्वास्थ्य शिक्षा दिन, विद्यालय तथा समुदायलाई पूर्ण सरसफाई तर्फ उन्मुख गराउन, अतिरिक्त क्रियाकलापको माध्यमद्धारा बिद्यार्थीको ब्यक्तित्व विकास गर्न, सडक र पेटी सधै सफा राख्न, सार्वजनिक स्थलमा फोहर नगर्न, फोहर मैला नगर्न सबैलाई सचेत गर्न, आफ्नो घरबाट निस्केका फोहरमैला आफैले व्यवस्थापन गरौं अरुलाई हैरान नपार्न अनुरोध गर्न अभियान संचालन गरिएको छ । अभियान धुलिखेल नगरपालिका वडा नं. ११ को काभ्रे भञ्याङ्गबाट शुरु गरिएको थियो /