नाला, बनेपा/चण्डेश्वरी सृष्टीकान्त माध्यमिक विद्यालयले पूर्व प्राथमिक तह पूरा गरेका ७३ जना बालबालिकालाई विद्यालय शिक्षामा प्रवेश गराउँदै दीक्षान्त समारोह आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा बालबालिकालाई प्रमाणपत्र वितरण गरिनुका साथै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद पाण्डेले विद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रम, आगामी योजनाहरू तथा समग्र शैक्षिक अवस्थाबारे जानकारी गराए । उनले विद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गरे ।
कार्यक्रमकी प्रमुख अतिथि बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले नगर क्षेत्रभित्रका सबै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका सक्रिय रूपमा लागिरहेको बताइन् । उनले उक्त विद्यालयलाई नगरकै मात्र नभई काभ्रे जिल्लाकै नमूना विद्यालयको रूपमा स्थापित भएको उल्लेख गर्दै विद्यालयले प्रदान गरिरहेका शैक्षिक कार्यक्रमहरू प्रभावकारी र आकर्षक रहेको धारणा व्यक्त गरिन् ।
प्रधानाध्यापक पाण्डेका अनुसार आगामी शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरु हुनेछ । सीमित सिटका लागि भर्ना प्रक्रिया सञ्चालन गरिने र वैशाख ६ गते लिइने प्रवेश परीक्षामार्फत विद्यार्थी छनोट गरिने उनले बताए । साथै यस वर्ष कक्षा १० का ७० जना विद्यार्थीले एसईई परीक्षा दिने तयारी गरिरहेका छन् ।
कार्यक्रम शिक्षिका रिता बादेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका सल्लाहकार तुलप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक–अभिभावक संघका पदाधिकारीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उपस्थित वक्ताहरूले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै उनीहरूमा विकास गरिने संस्कार, अनुशासन र सभ्यताको महत्त्वमाथि जोड दिएका थिए। विद्यालयले अघिल्लो वर्ष पनि ७८ जना विद्यार्थीलाई दीक्षान्त गराएको स्मरण गरियो । अध्यक्ष श्यामसुन्दर श्रेष्ठले ‘हाम्रो र राम्रो नमूना विद्यालय’ निर्माण गर्ने अभियानमा सबै क्षेत्रको सक्रियता, सहयोग र समन्वय अपरिहार्य रहेको बताए। उनले निष्ठा र समर्पणका साथ सञ्चालन भइरहेको विद्यालयलाई देशकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउने लक्ष्य रहेको स्पष्ट पारे ।
सोही अवसरमा बालबालिकाहरूले नृत्य, गीत तथा अन्य सिर्जनात्मक प्रस्तुति दिँदै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।





