नमोबुद्ध/रोटरी क्लब अफ काठमाडौं हाइटले नमोबुद्ध नगरपालिकामा निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ८ चैत्रमा दन्त शिविर र ११ चैत्रमा स्वास्थ्य शिविरमार्फत ग्रामीण भेगका नगरवासीहरुलाई प्रत्यक्ष सेवा उपलब्ध गराएको हो ।
नमोबुद्ध –१ स्थित मथुरापाटी फूलबारी स्वास्थ्य चौकीमा आयोजित दन्त शिविरमा १ सय १७ जनाले सेवा लिएका थिए । शिविरमा दाँतको परिक्षण, दाँत निकाल्ने, सफा गर्ने लगायतका आवश्यक उपचार प्रदान गरिएको थियो । साथै, सहभागीहरुलाई निःशुल्क टूथब्रश, टूथपेस्ट तथा औषधी वितरण गरिएको थियो । उक्त कार्यमा चाबहिलस्थित ओम डेन्टल हस्पिटलको प्राविधिक तथा चिकित्सकीय सहयोग रहेको थियो ।
त्यसैगरी, श्यामपाटी शिमलचौर स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा १ सय २७ जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए । शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै हाडजोर्नी तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो । भक्तपुरस्थित ख्वप अस्पतालका अनुभवी चिकित्सकहरूको सक्रिय सहभागिता तथा निःशुल्क औषधि वितरण गरिएको थियो । कार्यक्रम नमोबुद्ध नगरपालिकाको सहकार्य तथा वल्र्ड युथ इन्टरनेशनलको सहकार्यमा सम्पन्न भएका हुन् । विशेषगरी स्वास्थ्य सेवाबाट वञ्चित ग्रामीण समुदायलाई लक्षित गरी सञ्चालन गरिएका यी शिविरहरूले स्थानीय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगहरूको प्रारम्भिक पहिचानमा महत्वपूर्ण योगदान पु¥याएका छन् । लाभग्राहीहरूले यस्ता सेवामूलक कार्यक्रमप्रति उच्च प्रशंसा व्यक्त गर्दै भविष्यमा पनि निरन्तरता दिन आग्रह गरेका छन् । रोटरी क्लब अफ काठमाडौं हाइटका बर्ष २०२६–२७ का अध्यक्ष श्रीकृष्ण धितालको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रम रोटरीको ‘सेवा नै जीवन हो’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतारेको छ ।





