बनेपा/जिल्ला सहकारी संघले ६९ आंै राष्ट्रिय सहकारी सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता सहकारीको प्राथमिकता”” भन्ने मूल नारालाई आत्मसात गर्दै विविध कार्यक्रमहरू आयोजना गर्ने भएको छ ।
सहकारीमार्फत आर्थिक, सामाजिक तथा संस्थागत सुदृढीकरणमा योगदान पु¥याउने उद्देश्यले संघले महिला उद्यमशिलता, अन्तर–संस्था सम्बन्ध विस्तार तथा सामाजिक उत्तरदायित्वका क्षेत्रलाई समेट्ने गरी कार्यक्रमहरू सार्वजनिक गरेको हो । सहकारी दिवसको अवसरमा पहिलो कार्यक्रम “सहकारीमा महिला उद्यमशीलता विकास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम” आगामी चैत्र १६ गते सोमबार हुने भएको छ । उक्त कार्यक्रममा जिल्ला भित्र क्रियाशील विभिन्न सहकारी संघ–संस्थामा आबद्ध महिला सदस्यहरूको सहभागिता रहने छ । अन्तरक्र्रियामा महिला उद्यमशिलताको वर्तमान अवस्था, सहकारीमार्फत स्वरोजगार तथा आय–आर्जनका अवसरहरू, उद्यम सञ्चालनमा देखिएका चुनौतीहरू तथा समाधानका उपायहरूबारे विस्तृत छलफल गरिनेछ । सफल महिला उद्यमीका अनुभव आदानप्रदान तथा सहकारी संस्थाबाट उपलब्ध हुन सक्ने वित्तीय तथा प्राविधिक सहयोगका विषयमा समेत विमर्श गरिनेछ ।
त्यसैगरी सहकारी संस्थाबीच आपसी सद्भाव, सहकार्य र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले “अन्तर सहकारी मैत्रिपूर्ण फुटसल प्रतियोगिता” आगामी चैत्र १८ गते बुधबार एबिएम फुट्सल ग्राउण्डमा आयोजना गरिने भएको छ । प्रतियोगितामा जिल्ला भित्रका विभिन्न सहकारी संघ–संस्थाबाट प्रतिनिधित्व गर्ने टिमहरूको सहभागिता रहनेछ । खेलकुदमार्फत सहकारीकर्मीहरूबीच सम्बन्ध विस्तार गर्ने, स्वस्थ प्रतिस्पर्धा विकास गर्ने तथा सहकारी अभियानलाई थप सशक्त बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिन लागेको हो । सोही क्रममा, सामाजिक उत्तरदायित्व अन्तर्गत “खुल्ला रक्तदान कार्यक्रम” चैत्र २० गते शुक्रबार जिल्ला सहकारी संघको भवन परिसरमा आयोजना गरिनेछ । मानव जीवन रक्षासँग प्रत्यक्ष सम्बन्धित रक्तदान कार्यक्रममार्फत रगत अभाव न्यूनीकरणमा योगदान पु¥याउने लक्ष्य राखिएको छ ।
उक्त अवसरमा अन्तर सहकारी फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरूलाई पुरस्कार वितरण गरिनेछ । साथै सहकारी आन्दोलनका अग्रज व्यक्तित्वहरूको सम्मानस्वरूप सहकारीका पिताहरूको तस्बिरमा माल्यार्पण गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा तथा सहकारीको झण्डा झण्डोत्तलन गर्ने कार्यक्रम, संघ परिसरमा वृक्षारोपण कार्यक्रम तथा सहकारीकर्मीरूबीच सहकारी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम समेत सोही दिन आयोजना गरिने संघका अध्यक्ष अमन पोटेले बताए ।





