नाला, बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ मा रहेको पञ्चशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्यहरूलाई बचततर्फ अभिप्रेरित गर्ने उद्देश्यले एक विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
‘नियमित बचत तथा सामूहिक हितका लागि सहकारी’ भन्ने नारासहित आयोजित कार्यक्रममा ६० वर्षभन्दा माथिका करिब १ सय जना भन्दा धेरै ज्येष्ठ नागरिक सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी ज्येष्ठ सदस्यहरूलाई बचतको महत्व, आत्मनिर्भर जीवनशैली तथा भविष्यको आर्थिक सुरक्षाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । सहकारीले बचतलाई केवल आर्थिक गतिविधि नभई जीवन व्यवस्थापनको आधारका रूपमा प्रस्तुत गर्दै, नियमित बचतले व्यक्तिलाई आत्मसम्मानका साथ बाँच्न सक्षम बनाउने सन्देश दिएको थियो ।
कार्यक्रमलाई अझ प्रभावकारी बनाउन भक्तपुरस्थित चाँगुनारायण मन्दिर तथा चाँगु गणेश मन्दिरमा धार्मिक तथा अवलोकन भ्रमणसमेत गराइएको थियो । भ्रमणले ज्येष्ठ नागरिकहरूलाई आध्यात्मिक शान्ति प्रदान गर्नुका साथै आपसी सद्भाव र सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् । सहकारीका सचिव शिवराम सिग्देलले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै उक्त कार्यक्रम हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको बताए । यसले ज्येष्ठ सदस्यहरूलाई बचतप्रति सचेत गराउने, आत्मसम्मानका साथ जीवनयापन गर्न प्रेरित गर्ने तथा भविष्यका लागि आर्थिक रूपमा सक्षम बनाउन सहयोग पु¥याउने लक्ष्य राखिएको बताए ।
कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाउन बिहानको नास्ता, दिउँसोको खाना तथा बेलुकाको भोजनको व्यवस्था गरिएको थियो । साथै विभिन्न मनोरञ्जनात्मक खेलकुद, सांस्कृतिक प्रस्तुति तथा सामूहिक गतिविधिहरू सञ्चालन गरिएको थियो, जसले ज्येष्ठ सदस्यहरूबीच आपसी सम्बन्धलाई थप मजबुत बनाएको थियो । कार्यक्रमको औपचारिक सत्रअन्तर्गत विभिन्न वक्ताहरूले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक सदस्य शारदा हुमेगाईले प्रस्तुत गरेकी थिइन् । संस्थागत जानकारी तथा व्यवसाय प्रवद्र्धन सम्बन्धी मन्तव्य व्यवस्थापक सन्तोष दाहालले राख्दै मासिक बचतको आवश्यकतामा विशेष जोड दिएका थिए । सचिव शिवराम सिग्देलले नीतिगत पक्ष तथा भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।
त्यसैगरी अतिथिहरु प्रल्हाद दाहाल, कृष्ण प्रसाद दाहाल तथा मणिप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीको सामाजिक योगदानको प्रशंसा गरेका थिए । सल्लाहकार बलराम बजगाईले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको समापन सभापति तथा अध्यक्ष केदार प्रसाद दाहालले गरेका थिए । उनले सहकारीले आगामी दिनमा अझ प्रभावकारी र सदस्य–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । समग्रमा, उक्त कार्यक्रमले ज्येष्ठ सदस्यहरूलाई आर्थिक रूपमा सशक्त बनाउन मात्र नभई सामाजिक रूपमा सक्रिय र आत्मविश्वासी बनाउन पनि महत्वपूर्ण योगदान पु¥याएको देखिएको छ ।





