धुलिखेल/माउन्ट भ्यू इङ्गलिस बोर्डिङ स्कुलले २०८१ सालमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा युकेजीमा अध्ययनरत विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
जिल्ला प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलको प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक प्रबन्ध निर्देशक रोमी ब्यान्जुको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भुजेलले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञान मात्र नभई नैतिक र व्यवहारिक शिक्षा प्रदान गर्नु आवश्यक रहेको बताए । उनले संस्थागत विद्यालयहरूले घोकन्ते शिक्षामात्र दिन्छन् भन्ने आरोपलाई पछिल्लो समय विद्यालयहरूले व्यवहारमै खण्डन गर्दै आएको उल्लेख गरे। साथै उनले गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र समग्र विकासका क्षेत्रमा संस्थागत विद्यालयहरू अब्बल बन्दै गएको धारणा राखे ।
उनले विद्यार्थीहरूलाई विद्यालयद्वारा आयोजना गरिने अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै यसबाट नेतृत्व विकास, अनुशासन र आत्मविश्वास अभिवृद्धि हुने बताए । विद्यालयका प्रिन्सिपल मुक्तिनाथ रिजालले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखेको बताए। उनले विद्यालयले जिल्ला तथा नगरस्तरीय विभिन्न अतिरिक्त कार्यक्रमहरूमा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न उपाधि हासिल गरेको जानकारी दिए । साथै, शिक्षकहरूको नियमित तालिम, विद्यार्थीहरूको समग्र विकासका लागि अतिरिक्त कार्यक्रम सञ्चालन तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको उनले बताए ।
कार्यक्रममा युकेजीमा अध्ययनरत २६ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो भने एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानसहित विदाई गरिएको थियो । उक्त अवसरमा प्याब्सनका सल्लाहकार सत्यनारायण श्रेष्ठ, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, धुलिखेल प्याब्सनका सचिव अजब श्रेष्ठलगायत अभिभावक तथा विद्यार्थीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।





