2026 April 16/ 10:33: 02pm

    ललितपुर/नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले १४ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशन चैत्र १३ र १४ गते हुने भएको छ । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड ब्याङक्वेटमा हुने अधिबेशन यस अघि माघ १८ र १९ गतेका लागि तोकिएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिताका कारण स्थगित भएको थियो ।
    सभामा समितिको वार्षिक गतिविधि, आर्थिक आय–व्यय विवरण तथा भावी कार्यदिशामाथि विस्तृत छलफल हुने समितिले जनाएको छ । प्रस्तुत गरिएका प्रतिवेदनहरु अनुमोदन, आर्थिक विवरण पारित, व्यवसायीहरूले भोग्दै आएका समस्या, चुनौती र समाधानका उपायबारे छलफल गर्ने कार्यसूची रहेको समितिले जनाएको छ । त्यसैगरी सरकारसँगको समन्वय, नीति–नियम, कर प्रणाली, यातायात व्यवस्थापन तथा ट्रिपर–ट्रक व्यवसायीहरूको हक–हित संरक्षणका विषयमा आवश्यक रणनीति तय गरिनेछ । आगामी कार्यकालका लागि कार्ययोजना तथा कार्यक्रम पनि सभाबाट अनुमोदन गरिने जनाइएको छ । 
    वार्षिक साधारण सभासँगै समितिको नयाँ केन्द्रीय कार्यसमिति चयनसमेत हुनेछ । समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा कार्यसमिति सदस्यहरू चयन हुनेछन् । समितिले सम्पूर्ण सदस्य तथा व्यवसायीहरुलाई साधारण सभामा अनिवार्य उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ । प्रतिनिधि व्यवस्थापन तथा पदाधिकारी चयनसम्बन्धी विस्तृत विवरण समितिको आधिकारिक सूचना, सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चार माध्यममार्फत् सार्वजनिक गरिने समितिले जनाएको छ । अधिबेशन विहान ८ बजेबाट सुरु हुने छ ।