2026 April 16/ 10:35: 05pm

    धुलिखेल/कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञ्चोकले ई–पेन्सन सेवा शुरु गरेको छ । पहिलो सेवा पशु सेवा कार्यालय काभ्रेका विष्णुबहादुर खत्रीले प्राप्त गरेका छन् । २८ वर्ष ३ महिना २६ दिन सेवा गरेका खत्री ५८ वर्षे उमेर हदका कारण सेवा निवृत्त भएका थिए । 
    ‘सेवा अवधी सकिए पछि नियमित आउने पेन्सनका लागि म राष्ट्रिय किताखाना गए’–सेवा निवृत्त विष्णुबहादुर खत्रीले भने–‘पहिलो दिन कागजात नपुगेर फर्किएँ । दोश्रो दिन पनि गएँ । जिल्लाबाट नै ई–पेन्सन सेवा शुरु हुने खबरले खुशी भएँ ।’ पेन्सनका लागि राजधानी जाँदा आउँदा लाग्ने खर्च, समय र झन्झटको अन्त्य भएको उनले बताए । पेन्सनपट्टा बनाउन किताबखाना पुग्दा विचौलियाले सहजीकरणका लागि भन्दै केहि रकम लिने गरेको यसअघि कर्मचारीहरुले गुनासो गर्दै आएका थिए । 
    निजामती र स्वास्थ्य सेवामा कार्यरत रहि सेवा निवृत्त भए पछि पेन्सनका लागि राष्ट्रिय किताबखाना (निजामती) पुग्ने पर्ने बाध्यता अन्त्य भएको कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेका प्रमुख कोष नियन्त्रक रुदै कोईरालाले बताए । ‘देशभरका कोलेनिका मार्फत चैत्र ६ गते शुरु भएको ई–पेन्सन सेवा काभ्रेबाट पनि शुरु भएको छ’–उनले भने–‘सेवानिवृत्त हुन ७ दिन अगावै जुन कार्यालयबाट सेवानिवृत्त हुन लागेको सोहि कार्यालय मार्फत ६ प्रकारका कागजात कोलेनिका पठाउनु पर्नेछ । कोलेनिकामा प्राप्त कागजात राष्ट्रिय किताबखानामा अपलोड हुन्छ । अपलोड कागजात ठिक भएको अवस्थामा सोहि दिन वा केहि दिन भित्रै भेरिभाई भएर कोलेनिकामा प्राप्त हुन्छ । सेवा निवृत्त भएकै दिन कर्मचारीले पेन्सनका लागि आवश्यक कागजात लिएर जान पाउने ब्यवस्था ई–पेन्सन सेवाबाट प्राप्त गर्छन् । कर्मचारीले पायक पर्ने बैकको नाम र शाखा उल्लेख गर्न पाउने ब्यवस्था छ ।’ 
    यो सेवा पहिलो चरणमा निजामती कर्मचारीहरु र स्वास्थ्य सेवा समहुमा कार्यरत कर्मचारीहरुका लागि उपलब्ध छ । शिक्षक, सुरक्षा निकाय तथा अन्य सेवा समुहका लागि राष्ट्रिय किताबखानाका अलग अलग शाखाबाट ब्यवस्थापन हुनु पर्छ । ई–पेन्सन सेवा शुरु भए पछि काभ्रेबाट पहिलो पटक पशु सेवा कार्यालयका विष्णुबहादुर खत्रीले उक्त सेवा लिएका छन् भने चैत्र १७ गते सेवा निवृत्त हुँदै गरेका सिंचाई कार्यालयका इन्जिनियर राजु लुईटेलले आवश्यक कागजात पेश गरेका छन् । सेवा निवृत्त भएकै दिन पेन्सन पट्टा लिएर घर फर्कँदा झनै उत्साह र सेवानिवृत्त जीवनमा सहजता हुने विश्वास गरिएको छ ।