धुलिखेल/काठमाडौ विश्वविद्यालयमा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाडौं विश्वविद्यालय, नेपाल इन्टरनेश्नल इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि र त्रिभुवन विश्वविद्यालयको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन काठमाडौं विश्वविद्यालय धुलिखेलमा उपकुलपति प्रा.डा.अच्युत वाग्लेलले गर्नेछन् । तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा ८ वटा विश्वविद्यालयको सहभागीता रहेको छ ।
सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहभागीता रहेको विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक डा.गोकुल के.सीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा ५ विधाका खेलहरु समावेश गरिएको छ । भलिवल, टेवलटेनिस, व्याडमिन्टन, बास्केटबल र एथलेटिक्समा २ सय ७९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भलिबलमा पुरुष ९ जना, टेवलटेनिस सिंगल÷डबलमा महिला पुरुष २÷२ जना, व्याडमिन्टन सिंगल÷डबल मा महिला÷पुरुष २÷२ जना, बास्केटबल महिला÷पुरुष ४÷४ जना र एथलेटिक्समा महिला पुरुष ३÷३ जना सहभागी हुनेछन् । एउटा विश्वविद्यालयबाट खेलाडी ३१ जना, प्रशिक्षक ५ र व्यवस्थापक १ गरी ३७ जनाको सहभागीता रहनेछ । प्रतियोगितामा खेलाडी २ सय ७९ जना, प्रशिक्षक ४५ र व्यवस्थापक ९ गरी ३ सय ३३ जनाको सहभागीता रहने विद्यार्थी कल्याण निर्देशनालयका कामु निर्देशक केसीले बताए । प्रतियोगिताले विद्यार्थीहरु र विश्वविद्यालय बीचको सम्वन्ध स्थापित हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमल बहादुर भट्टराइले जानकारी दिए । उनका अनुसार सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धुलिखेलमा नै बसोबासको व्यवस्था मिलाइएको छ । कार्यक्रममा विश्वविद्यालयका कृष्णसुन्दर थापा, कार्यक्रम संयोजक मिनकुमार शर्मा लगायतले प्रतियोगिताले खेल क्षेत्रको विकासका साथै धुलिखेललाई चिनाउन सहयोग पुग्ने बताए । काठमाडौं विश्वविद्यालयले शैक्षिक क्षेत्रमा गरिरहेको नविनतम कार्यको अवलोकन गराउन समेत कार्यक्रम केयूमा आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १८ लाख खर्च हुने छ । प्रत्येक इभेन्टको विजेताले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न क्षेत्रका ५ सय जनाको सहभागिता रहने अनुमान छ । प्रतियोगिता सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालय, नेपाल इन्टरनेश्नल इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि लगायतको सहयोग रहेको छ । प्रतियोगिता शुक्रबार समापन हुनेछ ।





