2026 April 16/ 10:24: 40pm

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा ३ हजार २ सय ९० जना बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भी खोप उपलब्ध गराउने तयारी गरिएको छ । कक्षा ६ अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्षका किशोरीहरुका लागि उक्त खोप सेवा उपलब्ध हुनेछ । अभियानमा गत वर्ष छुटेका उमेर समुह भित्र पर्ने किशोरी तथा छात्राहरुका लागि पनि खोप सेवा उपलब्ध हुनेछ । 
    धुलिखेलमा २५९, बनेपामा ९५५, पनौतीमा ५००, पाँचखालमा २८४, मण्डनदेउपुरमा २३०, नमोबुद्धमा १८७, भुम्लुमा ८३, चौरीदेउरालीमा ९८, तेमालमा ७८, रोशीमा २०३, महाभारतमा १६६, खानीखोलामा १३१ र बेथान्चोक गाउँपालिकामा ११६ जना गरी ३ हजार २ सय ९० जना बालिकाहरुलाई खोप लगाईनेछ । खोप लगाउनेहरु मध्ये गत वर्ष छुटेका ११–१४वर्ष उमेर समुहका गत वर्ष छुटेका १८ जना, कक्षा ७–१० अध्ययन गर्ने ९७ जना, १० वर्षका ८ जना र यो शैक्षिक सत्रमा कक्षा ६ मा अध्ययन गर्ने ३१६७ जना रहेका छन् । 
    माघ २३ गते शुरु गरी २८ गते चौरीदेउराली गाउँपालिकाले अभियान सम्पन्न गर्नेछ । पनौतीले माघ २५ देखि शुरु गरी २९ गत समापन गर्नेछ । पाँचखालमा २६–२९, धुलिखेलमा २७–२९, बनेपामा २७–फागुन २, मण्डनमा २८–२९, नमोबुद्ध २८–३०, भुम्लुमा २६–२८, तेमाल २८– फागुन १, रोशी २६–फागुन १, महाभारतमा फागुन ४–५, खानीखोलामा फागुन ५–७ र बेथान्चोकमा माघ २८ देखि फागुन १ गतेसम्म खोप अभियान संचालन हुनेछ । 
    जनस्वास्वाथ्य कार्यालय काभ्रेकी प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खोप अभियानका बारेमा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई अभिमुखिकरण तथा अभियानको तालिकाका बारेमा आवश्यक समन्वय गरिएको बताईन् । अभियानले तोकेका उमेर समुहका किशोरी छात्राहरु सबैलाई खोप लगाउने गरी अभियान संचालन हुने उनले बताईन् । 
    नेपालमा पाठेघरको मुखको क्यान्सर रोगको संक्रमण हरेक वर्ष २ हजार १ सय ६९ जनामा हुने गरेको छ भने सोहि कारण १ हजार ३ सय १३ महिलाले ज्यान गुमाउनु परेको छ । दैनिक ४ जना महिला यहि रोगका कारण ज्यान गुमाउने अवस्थामा पुगेका छन् । यसको रोकथाम तथा न्यूनीकरणका लागि यौन सम्पर्क राख्नु अघिका किशोरीहरुलाई उक्त खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर हुने जोखिम न्यूनीकरण हुनेछ । 

पनौतीमा माघ २५–२९ सम्म खोप अभियान 
    पनौती नगरपालिका स्वास्थ्य शाखाले विद्यालय स्तरमा संचालन हुन लागेको दोश्रो वर्षको एच.पी.भी खोपका विषयमा विद्यालयमा कार्यरत नर्स, शिक्षिका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरुलाई अभिमुखीकरण गराएको छ । 
    नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख गिता बञ्जारा, सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष विपेन्द्र लामा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहभागी थिए । शाखा प्रमुख जनक केसीले एच.पी.भी खोपका सन्दर्भमा सहभागीहरुलाई जानकारी गराउँदै खोप कार्यक्रमको सफलतामा विगतको अनुभव र आगामी योजना महत्वपूर्ण हुने बताए । पनौतीमा गत वर्ष ४१ विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समुहका बालिकाहरुलाई खोप लगाएको थियो । लक्ष्यको ९६ प्रतिशत खोप लगाएको पनौतीले गत वर्ष छुटेका २० जना सहित यो वर्ष कक्षा ६ मा अध्ययनरत ४ सय ८० जना विद्यार्थीहरुलाई खोप लगाउने तयारी गरिएको शाखा प्रमुख केसीले जानकारी दिए । ‘कक्षा ६ मा अध्ययनरत बालिकाहरु, विद्यालय हाता बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका र गत वर्ष कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत रहि खोप लगाउन छुटेका बालिकाहरुलाई खोप लगाउने तयारी गरिएको छ’–उनले भने–‘माघ २५ देखि २९ गतेसम्म खोप लगाउने गरी तालिका सार्वजनिक गरिएको छ । सोहि तालिका र तयारीका बारेमा सरोकारवाला निकायहरुसँग अभिमुखीकरण गरिएको छ ।’ यो वर्ष ३९ वटा विद्यालयका बालिकाहरुले खोप लगाउने छन् । 
    कार्यक्रममा बोल्दै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सबै नागरिकहरुलाई स्वस्थ राख्ने नगरको अभियान अन्र्तगत संघीय कार्यक्रम मार्फत प्राप्त खोप अभियानलाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । आगामी वर्ष २०८३ देखि स्थानीय तहले नै एच.पी.भी.खोप नियमित रुपमा संचालन गर्ने गरी तयारी गरिएको उनले बताए । कार्यक्रममा उपप्रमुख गिता बञ्जाराले कार्यविधीले तोकेका सबै बालिकाहरु खोपबाट बञ्चित नहुने गरी खोप कार्यक्रम संचालन गर्ने तयारी सबैले सफल बनाउन अनुरोध गरिन् । कार्यक्रममा स्वास्थ्य शाखामा कार्यरत दिक्षा थापाले पाठेघरको मुखको क्यान्सरबाट बचाउन लगाउने उक्त खोप, खोप पछिको अवस्था र त्यसका फाईदा तथा विश्वमा पाठेघरको मुखको क्यान्सरबाट भएको संक्रमण र मृत्युका बारेमा जानकारी गराएकी थिईन् । सहभागीहरुले खोप कार्यक्रम प्रभावकारी बनाउने गरी कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।