2026 April 16/ 10:35: 55pm

सुरक्षा चुनौती बनेका भदौ २४ गते जेलबाट भागेका कैदी र  लुटिएका प्रहरीका हतियार । प्रहरीका अनुसार जिल्लामा २३ वटा मतदान स्थल अति संवेदनशिल छन् । 
    धुलिखेल/भदौ २४ गतको विध्वंसकारी आन्दोलनमा प्रहरीका लुटिएका हतियार, गोलीगठ्ठा, पोशाक र अन्य सामाग्री अझै फेला परेका छैनन । इलाका प्रहरी कार्यालय बनेपाबाट लुटिएका हतियार र हतियारमा प्रयोग हुने गोलीहरु, प्रहरीका अन्य सामाग्री अझै फेला परेका छैनन । 
    राजधानीमा लुटपाटमा संलग्नहरु भदौ २४ गते जेलबाट भाग्नेहरु छन् । काभ्रेको पनौती १२ मा पनि जेलबाट भागेर आएका कैदीले श्रीमती मारेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी रविन विष्टका अनुसार जिल्ला ठेगाना भएका विभिन्न कारागारबाट भागेका ६८ कैदी अझै प्रहरी सम्पर्क बाहिर छन् । आगामी निर्वाचनका लागि यि कैदीहरु मुख्य सुरक्षा चुनौतीका रुपमा रहेको प्रहरीको निश्कर्ष छ । १ सय २१ जना कैदी भागेकामा ५३ जना जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न स्थानबाट पक्राउ गरी सम्वन्धित कारागारमा बुझाएको डिएस्पी विष्टले बताए । ‘जिल्लामा रहेका मतदान स्थल १८९ वटा मध्ये २३ वटा अति संवेदनशिल, ६५ वटा संवेदनशिल र  १०१ वटा सामान्य मानिएको छ’–डिएस्पी रविन विष्टले भने–‘सबै मतदान स्थलको पूर्ण सुरक्षाका लागि जिल्ला स्तरीय एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरिएको छ ।’ निर्वाचन प्रयोजनका लागि नेपाली सेनाका अलावा शशस्त्र प्रहरी ५ सय भन्दा धेरै खटिनेछन् । नेपाली प्रहरी ११ सय २२ प्रहरी र निर्वाचन प्रहरी २ हजार ९४ जना खटिनेछन् । 
    गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन तयारीका बारेमा जानकारी लिएका थिए । मुख्य निर्वाचन अधिकृत सहित जिल्लाको सुरक्षा निकायको टोली जिल्लाका विभिन्न स्थानमा मतदान स्थलको अनुगमन गरिरहेको छ ।