नाला/दुमो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक स्थापना दिवस विभिन्न औपचारिक तथा सामाजिक कार्यक्रम सहित सम्पन्न भएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारीको भूमिका, वर्तमान चुनौती र भविष्यको दिशाबारे गम्भीर छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थले सहकारी आन्दोलन आर्थिक समावेशीकरणको आधार भएको उल्लेख गर्दै सहकारीको सफलताको मूल आधार सदस्यहरूको विश्वास र पारदर्शी व्यवस्थापन भएको बताए । कायस्थले बदलिँदो आर्थिक परिस्थितिमा सहकारीहरूले जोखिम मूल्याङ्कन, उत्पादनमुखी लगानी र वित्तीय अनुशासनमा विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमको स्वागत मन्तव्य दुमो बचत तथा ऋण सहकारी संस्था लि.की उपाध्यक्ष कृष्णमाया दुलालले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि बनेपा नगरपालिका वडा नं. ४ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठले सहकारी र स्थानीय तहबीचको सहकार्यले समुदायको समग्र विकास सम्भव हुने बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का अध्यक्ष रमेश दाहाल, बुडोल सामुदायिक साकोसका सचिव जयराम थापा, कानुनी सल्लाहकार दिपक शर्मा जङ्गम लगायतले सहकारी सञ्चालनमा कानुनी मर्यादा, सुशासन र उत्तरदायित्व अनिवार्य रहेको बताएका थिए । संस्थाको १६ औँ स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा २२ जनाले रत्तदान गरेका थिए ।
कार्यक्रममा सहकारीको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई उजागर गरेको सहभागीहरूको भनाइ थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव कुमार रम्तेलले गरेका थिए । संस्था सबैको साथ, सहयोग र विश्वासका साथ दुमो बचत तथा ऋण सहकारी संस्था लि.लाई अझ सबल, सुरक्षित र उदाहरणीय संस्था बनाउँदै लैजाने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाकारी दिएको छ ।





