2026 April 16/ 10:33: 37pm

भेटघाटमा बढाए सक्रियता
    पनौती/फागुन २१ गतेको निर्वाचनका लागि उम्मेदवारी मनोनयन सकिए लगत्तै उम्मेदवारहरु मतदातासँगको भेटघाट र अन्र्तक्रियामा जुटेका छन् । त्यहि क्रममा राप्रपाबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका नमोबुद्ध नगरपालिका १ फुलबारीका नवराज सत्यालले मतदाताको भेटघाटलाई सक्रिय बनाएका छन् । 
    ४४ बर्षिय सत्याल विभिन्न सामाजिक कार्यमा सक्रिय थिए । राष्ट्र, राष्ट्रियता सहितको राज्य निर्माणमा राप्रपाले लिएको नीति, सिद्धान्त र विचारलाई जनताको बीचमा लैजाने र मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक माध्यमबाट समेत शशक्त बनाउने उदेश्यले उम्मेदवारी दिएको नवराज सत्यालले बताए । 
    उम्मेदवारी दर्ताका क्रममा राप्रपाका केन्द्रिय नेताहरु उदय सिं मुस्याजु सहित जिल्लाका नेताहरु सहभागी थिए । उनको उम्मेदवारीसँगै निर्वाचनको प्रचार प्रसार र मतदाताहरुलाई राप्रपाका साथै आफ्नो एजेण्डाका बारेमा जानकारी गराउने अभियान शुरु गरेको उनले बताए । 
    उम्मेदवारी दर्तासँगै निर्वाचनका कार्यक्रमहरु अघि बढिरहेका छन् । काभ्रेमा दुबै क्षेत्रका उम्मेदवारहरु विरुद्ध उजुरी दर्ता नभए पछि निर्वाचन कार्यालयले निर्धारित कार्यक्रम अनुसार आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ । आज उम्मेदवारहरुले चाहँदा उम्मेदवारी फिर्ता गर्ने समय पनि तोकिएको छ । उम्मेदवारी फिर्ता लगत्तै स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान हुनेछ । काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नम्वर १ मा १५ दल सहित स्वतन्त्र ३ गरी १८ जनाको उम्मेदवारी दर्ता भएको छ ।