बनेपा/चण्डेश्वरी डिप बोरिङ खानेपानी उपभोक्ता समितिले खानेपानीको दोस्रो डिपबोरिङ्ग गरेको छ ।
बनेपा नगरपालिका वडा नम्बर ५ को जलेश्वरमा दोस्रो डिपबोरिङ्ग शुरु गरिएको समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । डिप बोरिङ्गको शिल्यान्यास बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए । शाक्यले नगरले पुराना र स–साना मुहानको संरक्षण गर्दै डिपबोरिङ्ग मार्फत नगरबासीहरुलाई खानेपानी सञ्चालन गरिएको बताए । उपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले पहिलो डिपबोरिङ्गबाट १ सय ८० वटा धारा वितरण गरिएको बताए । दोस्रो डिपबोरिङको पानि सञ्चालन पछि थप धारा बितरण गरिने अध्यक्ष श्रेष्ठले बताए ।
श्रेष्ठले चण्डेश्वरी आसपास, हस्पिटल चोक, भिमसेन स्थान र अरनिको राजमार्गको तरकारी बजार आसपास क्षेत्रमा धारा वितरण गरिएकोे बताए । उपभोक्तालाई स्वच्छ र शुद्व पानी खुवाउने समितिको योजनामा बनेपा नगरपालिका र वडा कार्यालयको महत्वपूर्ण सहयोग र समन्वय रहेको बताउँदै अध्यक्ष श्रेष्ठले जनप्रतिनिधि र स्थानीयलाई धन्यवाद ब्यक्त गरे । डिपबोरिङ्ग शुभारम्भ कार्यक्रममा उप–प्रमुख विमला सापकोटा, बनेपा नगरपालिका ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, वडा सदस्यहरू समिता थापा, कृष्ण गोपाल बैद्य लगायतको सहभागिता रहेको थियो ।





