2026 April 16/ 10:33: 02pm

    धुलिखेल/अमेरिका पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा दायर गरिएको छ । ब्यक्तिलाई बनेपाको चारदोवाटोमा बोलाएर चाईनाटाउन पु-याई २०८२ भदौ १२ गते ठगी गरेका थिए । 
    जिल्ला सरकारी वकिलको कार्यालयले धुलिखेल काभ्रेपलाञ्चोकले बैतडी जिल्ला पाटन नगरपालिका वडा नम्बर ६ घर भई हाल ललितपुर एकान्तकुना बस्ने प्रकाश सिंह विष्टको जाहेरीका आधारमा सिन्धुपाल्चोकका सुबास तामाङ र जकमान तामाङ विरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार अभियोगपत्र दायर गरेको हो।प्रहरीले दुबै जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । यो प्रकरण अघि जकमान तामाङ सिन्धुपाल्चोक जिल्लाबाट ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना कैदद र २० हजार जरिवना तथा १ लाख ५० हजार क्षतिपुर्ति भराउने २०७८ पुष २२ गते ठहर भई सजायँ पाई सकेका पटके कसुरदार हुन् । सुबास मसिंर २४ गते सिन्धुपाल्चोकको बाह्विसेबाट पक्राउ परेका छन् भने जकमान तामाङ अझै फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उक्त अभियोग जिल्ला अदालतमा २०८२ पुष २० गते बुझाएको थियो । 
    अभियोगअनुसार पीडित प्रकाश सिंह विष्टको भाडाको ट्याक्सीमा चढेका दुई व्यक्तिले आफूहरू अमेरिका पठाउने काम गर्ने दलाल भएको बताउँदै चिनजान बढाएका थिए। उनीहरूले अमेरिकाको पढाई भिसा र यूएस डलरसम्म सस्तो दरमा मिलाइदिने आश्वासन दिएका थिए।दलालहरूले विश्वास दिलाएपछि विष्टलाई ६ लाख ५३ हजार रुपैयाँ बुझाउन लगाइएको थियो । रकम बुझाएपछि लामो समयसम्म अमेरिका पठाउने प्रक्रिया अघि नबढेपछि पीडितले आफू ठगिएको महसुस गरी प्रहरी तथा सरकारी निकायमा उजुरी दिएका थिए। उजुरीपछि अनुसन्धान गर्दा अभियुक्तहरूले संगठित रूपमा ठगी गरेको देखिएको सरकारी वकिल कार्यालयको दाबी छ। अभियोगपत्रमा उनीहरूलाई ठगीसम्बन्धी कसुरमा कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।
    अदालतमा दर्ता भएको उक्त मुद्दामा अभियुक्तहरूलाई आवश्यक सजाय तथा पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरिएको थियो । पक्राउ परेका अभियुक्तलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । पछिल्लो समय डलर देखाएर ठगी गर्ने घटनामा तीव्र वृद्धि भएकोछ। आकर्षक प्रलोभन, छिटो नाफाको आशा र वैदेशिक मुद्राप्रतिको विश्वासलाई प्रयोग गर्दै ठग समूह सक्रिय बनेका हुन् । प्रहरी र सरोकारवाला निकायका अनुसार यस्ता ठगीका घटनामा सर्वसाधारणदेखि व्यवसायीसमेत परिरहेका छन् ।

डलर देखाएर कसरी हुन्छ ठगी?
    ठगहरूले प्रायः सस्तो दरमा डलर साटिदिने, विदेशबाट आएको डलर तुरुन्त नगदमा बदल्नुपर्ने, बैंकिङ प्रक्रिया झन्झटिलो भएकाले बाहिरै साट्दा फाइदा हुनेजस्ता बहानामा मानिसलाई फसाउने गरेका छन्। कतिपय अवस्थामा वास्तविक डलर देखाएर विश्वास जित्ने र पछि नक्कली नोट, कागजको थुप्रोवा खाली बन्डल थमाएर फरार हुने गरेको प्रहरीको भनाइ छ । ठगीका नयाँ स्वरूप सामाजिक सञ्जाल र एपमार्फत बढ्दै गएका छन्। फेसबुक, ह्वाट्सएप, टेलिग्रामजस्ता प्लेटफर्ममा डलर एक्सचेन्ज, विदेशी मुद्रा लगानी, छिटो नाफा शीर्षकका पोस्ट राखी सम्पर्कमा आएका व्यक्तिलाई भेटघाटका लागि बोलाउने र सुनसान स्थानमा लगेर ठगी गर्ने क्रम बढेको छ।पीडितहरूका अनुसार सुरुमा ठगहरू अत्यन्तै आत्मीय व्यवहार देखाउँछन् । पहिले साँचो डलर देखाएर विश्वास दिलाए, एक पीडितले भने, पछि बैंक नजिकै नभएको भन्दै छिटो–छिटो साट्न दबाब दिए । रकम बुझाएपछि मात्र थाहा भयोसबै नक्कली रहेछ ।