पनौती/काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा पौष महिनामा घटेको कर्तव्य ज्यानको घटनाले जिल्लाको अपराध अवस्थालाई गम्भीर रूपमा उजागर गरेको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले सार्वजनिक गरेको पौष महिनाको प्रगति विवरण अनुसार उक्त घटनासहित जुवा–तास, चोरी र आर्थिक अपराधहरू जिल्लामा चुनौतीकै रूपमा देखिएका छन् ।
प्रहरीका अनुसार पनौती नगरपालिका १ मा बसोबास गर्ने २७ बर्षीय विजेन्द्र तामाङको शव पुष २२ गते राति ८ बजेको समयमा पनौती १ खानीडाँडा स्थित आफ्नै घर भन्दा २ किमी पर सडकमा फेला परेको थियो । घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेल, इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौतीले फरेन्सिक टोलीको सहयोगमा संयुक्त अनुसन्धान शुरु गरेका थिए । शव परीक्षण (पोस्टमार्टम), घटनास्थल निरीक्षण र प्राविधिक अनुसन्धानका क्रममा मृतकको टाउकोमा गम्भीर चोट लागेको र त्यसैका कारण मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानकै क्रममा पनौती १ स्थित साँउराटोल बस्ने अनिल तामाङको श्रीमती ३७ बर्षिय विष्णुमाया तामाङले विजेन्द्र तामाङलाई रक्सी माग्दा रक्सीको सिसाको बोतलले टाउकोमा प्रहार गरेकी थिईन् । रक्सीको बोतलको प्रहारबाट त्यहि ढलेका विजेन्द्र तामाङलाई विष्णुमायाले घिसार्दै सडकमा लगेर छाडिदिएकी थिईन् । त्यो बीचमा उनले कुटपिट पनि गरेकी थिईन् । तर घटना पत्ता लगाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । शुरुमा उनी मादक पदार्थ अत्याधिक सेवनका कारण मरेको भन्ने हल्ला गरिएको थियो । घटनामा संलग्नता स्वीकार गरेपछि विष्णुमाया तामाङलाई कर्तव्य ज्यान कसुरमा पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । प्रहरीले घटनालाई घरेलु हिंसाबाट उत्पन्न गम्भीर अपराधको रूपमा व्याख्या गरेको छ।
पौष महिनामा पनौती घटनासँगै जिल्लामा कर्तव्य ज्यान, आत्महत्या दुरुत्साहन, सवारी ज्यान, कारण नखुलेको ज्यान, विष सेवन गरी मृत्यु, झुण्डिएर मृत्यु तथा जलेर मृत्यु भवितब्य ज्यानजस्ता शीर्षकमा पनि मुद्दा दर्ता भएका छन् । यस्ता घटनाले पारिवारिक तनाव, सामाजिक असन्तुलन र मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरू अपराधसँग गाँसिएको देखाउँछन् ।
पौष महिनामा भएका अपराधका घटना
प्रहरी तथ्यांकअनुसार पौष महिनामा विभिन्न अपराधका ६४ वटा मुद्दा दर्ता भएको छ । चालु मुद्दामा संलग्न भएका ५२ जना प्रतिवादीहरु पक्राउ परेका छन् । ३१ ेवटा मुद्दा फछ्र्याैट भएको छ । ३३ वटा बाँकी छन् । २७ जनाको ज्यान गुमेको छ । १० जनाले आफै ज्यान फालेका छन् । घटनामा संलग्न मध्ये १४ अझै फरार छन् । आत्महत्या पछि सबै भन्दा धेरै बैकिङ कसुरमा ८ वटा मुद्दा दर्ता भएका छन् । अभद्र ब्यवहारमा ६ वटा मुद्दा दर्ता भएका छन् । कारण नखुलेको ज्यान मुद्दामा ६ वटा मुद्दा दर्ता भएको छ । सवारी भवितब्यबाट एक जना, सवारी ज्यानमा एक जना, बेवारिसे ज्यानमा एक, लडि मृत्यु दुई, पहिरोले पुरी एक र आगोले जली मृत्यु एक जना रहेका छन् । एक महिनाको अवधीमा जिल्लामा २७ जनाले भवितब्य घटनामा परी ज्यान गुमाएका छन् । प्रहरीले पौष महिनामा जुवा–ताससम्बन्धी कसुरमा धुलिखेल नगरपालिका ५ स्थित एक चिया पसलमा जुवा खेलिरहेको अवस्थामा ११ जना व्यक्ति पक्राउ गरेको थियो । उनीहरूको साथबाट ४० हजार ३ सय ९० नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ। पुष १९ गते पक्राउ परेकाहरु पुष २४ गते धरौटीमा रिहा भएका छन् । प्रहरीले पौष महिनामा ६५ वटा मुद्दामा फैसला कार्यान्वयन गरेको छ । ७ वर्ष ६ महिना १६ दिनको कैद र ६० हजार ६ सय ६८ जरिवना असुल भएको प्रहरीले जानकारी दिएको छ ।





