धुलिखेल/धुलिखेल अस्पतालमा गर्भवती महिलामा हुने उच्च रक्तचाप, त्यसको अवस्था, त्यसबाट गर्भवती महिलामा हुने समस्या र रोकथामका सन्र्दभमा एक दिने गोष्ठी आयोजना गरिएको छ ।
धुलिखेल अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.आभा श्रेष्ठका अनुसार गोष्ठीमा नेपालका विभिन्न प्रदेशमा रहेका अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ चिकित्सक र विभिन्न मुलुकबाट विशेषज्ञहरुको समुह सहभागि रहेका थिए । गर्भावस्थामा महिलामा देखिने उच्च रक्तचाप (गर्भावस्थाजन्य रक्तचाप) आमा र गर्भस्थ शिशु दुवैका लागि गम्भीर स्वास्थ्य समस्याको कारण बन्न सक्ने चिकित्सकहरूले बताएका छन् । धुलिखेल अस्पतालमा आयोजित गोष्ठीमा पछिल्लो समय देखिएका समस्या र त्यसको निराकारणका बारेमा छलफल भएको थियो ।
डा. आभा श्रेष्ठका अनुसार गर्भावस्थामा हुने रक्तचापका कारण, यसले निम्त्याउने जोखिम तथा समाधानका उपायबारे छलफल भएको छ । गर्भावस्थामा रक्तचाप नियन्त्रणमा नआएमा प्रि–एक्लेम्प्सिया, समयअगावै सुत्केरी हुने अवस्था, शिशुको तौल कम हुने लगायतका जटिलता देखिन सक्छन्।डा. श्रेष्ठले गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण, रक्तचापको निरन्तर निगरानी, सन्तुलित आहार, चिकित्सकको सल्लाहअनुसार औषधि सेवन तथा समयमै उपचार लिनु अत्यन्त आवश्यक रहेको बताइन् । धुलिखेल अस्पतालमा आयोजना गरिएको उक्त सम्मेलनको उद्देश्य गर्भावस्थाजन्य उच्च रक्तचापबारे स्वास्थ्यकर्मी, गर्भवती महिला तथा आम नागरिकमा चेतना अभिवृद्धि गर्नु रहेको छ । सम्मेलनमार्फत नयाँ अनुसन्धान, उपचार पद्धति र अनुभव आदानप्रदान गरिने अपेक्षा गरिएको छ ।
स्वास्थ्य विज्ञहरूले गर्भावस्थामा देखिने सामान्य लक्षणलाई बेवास्ता नगरी समयमै चिकित्सकसँग परामर्श लिन सबै गर्भवती महिलालाई आग्रह गरेका छन्। गर्भवती महिलामा उच्च रक्तचापको समस्या हुन सक्ने सम्वन्धमा रगतबाट परिक्षण गर्न सकिने नयाँ उपचार विधी सहितको प्रयोगशाला धुलिखेल अस्पतालमा संचालनमा आएको छ । गर्भ रहेको महिलाले उक्त प्रयोगशामा रगत परिक्षण गराई उच्च रक्तचापको समस्या हुने नहुने परिक्षण गर्न सक्ने डा.आभा श्रेष्ठले बताईन् । उच्च रक्तचाप हुन सक्ने भएमा पुर्व तयारी तथा समयमै उपचार र निगरानी गर्न सकिने र त्यसबाट हुने क्षति न्यूनिकरण गर्न सहज हुने उनले बताईन् ।





