2026 April 16/ 10:37: 40pm

धुलिखेल नगपालिका वडा नं १२ सँखु पाटीचौर स्वास्थ्य चौकीमा प्रजनन् उमेर समुहका महिलाहरुको स्वास्थ्य परिक्षण तथा उपचार शिविर सम्पन्न  भएको छ । 
    धुलिखेल नगरपालिका स्वास्थ्य शाखा तथा वडा नं १२ को कार्यालयको आयोजना र नेपाल क्यान्सर सहयोग समूह काठमाडौ, उपचारकालागि सहयोगी हातहरू नेपाल तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लि.को प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । प्रजनन् उमेरका महिलाहरुको स्वास्थ्यलाई लक्षित गरी आयोजना गरिएको महिला स्वास्थ्य परिक्षण शिविरमा महिलाको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, भिआइए सेवा सामान्य स्वास्थ्य जाँच तथा प्रयोगशाला सेवा समेत प्रदान गरिएको थियो । शिविरमा ७६ जना महिलाहरुले सेवा लिएका छन् । जसमध्य १५ जनामा  भिआईए परीक्षण पोजिटिभ देखिएको थियो भने पिआईडी तथा एसटीआईको समेत उपचार र केही विरामीहरुलाई थप उपचारको लागि प्रेषण समेत गरिएको छ । शिविरमा वरिष्ठ क्यान्सर रोग विज्ञ डाक्टर मुरारी मान श्रेष्ठ, डाक्टर अन्जु गुरुङ, सशांक शर्मा लगाएको टिमले सेवा प्रदान गर्नु भएको थियो ।
    धुलिखेल वडा नं १२ अध्यक्ष मोहनप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको  समुदघाटन कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ कलाकार हरिवंश आचार्यको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले धुलिखेलमा नगर स्वास्थ्य शाखाको कामको उल्लेख गर्दै वडावासीको स्वास्थ्य सधै उच्च प्राथमिकतामा रहेको जानकारी दिंदै सहयोगी सम्पुर्णलाई धन्यवाद सहित आगामी दिनमा समेत सहकार्य निरन्तरताको अपेक्षा गर्नुभयो । नगर स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत सरोज थापाले स्वस्थ सहर धुलिखेलको चर्चा गर्दै महिलाको स्वास्थ्य सधैं प्राथमिकतामा राखेर स्वस्थ समाजको परिकल्पनामा काम भैरहेको जानकारी दिनु भयो । औपचारिक कार्यक्रम शंखुपाटीचौर स्वास्थ्य चौकी प्रमुख अंजु ढुंगानले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य कमला काफ्ले वडा सदस्यहरु स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य तथा महिला स्वयं सेविकाहरुको उपस्थिती रहेको थियो । धुलिखेल नगर स्वास्थ्य शाखा प्रमुख सन्दीप के.सी.का अनुसार धुलिखेल नगरका विभिन्न वडामा यस आ.व.मा थप अन्य ३ स्थानमा समेत महिला स्वास्थ्य सेवाकालागि यस्तै प्रकारको विशेष सेवा सहितको प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।